महोत्तरी । महोत्तरीको बर्दिवासमा सर्पदंशको घटनामा वृद्धि भएसँगै आइतबार स्वास्थ्य विभाग र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको टोलीले बर्दिवासस्थित सर्पदंश केन्द्रको निरीक्षण गरेको छ ।
रोग नियन्त्रण महाशाखाका अधिकृत अभिनाशप्रसाद सिंह र धरानबाट आएको सर्पदंश उपचारसम्बन्धी विशेषज्ञ टोलीले केन्द्रको अनुगमन गरेको हो ।
सातामै ३ जनाको सर्पदंशबाट मृत्यु भएपछि स्वास्थ्य मन्त्रालयले बर्दिवासमा सर्पदंश केन्द्रको अनुगमनका लागि भन्दै टोली पठाएको सर्पदंश उपचार केन्द्रका सञ्चालक समितिका सचिव गणेश बस्नेतले जानकारी दिए ।
स्वास्थ्य मन्त्रालयको निर्दशनपछि अधिकृत सिंहको टोलीले शनिबार र धरानबाट आएको सर्पदंश उपचार विशेषज्ञ टोलीले आइतबार केन्द्रको अनुगमन गरेको हो ।
अनुगमन टोलीले केन्द्रका सञ्चालक समिति, जिल्ला स्वास्थ्य कार्यालय, बर्दिवास अस्पताल, स्थानीय राजनीतिक दल, नागरिक समाज र पत्रकारसँगसमेत छलफल गरेको छ ।
टोलीले जिल्लामा सर्पदंशको घटनामा वृद्धि भएसँगै उपचार केन्द्र विस्तार गर्नुपर्ने बताएको छ । केन्द्रमा विशेषज्ञ चिकित्सकको अभाव रहेको भन्दै जिल्ला अस्पतालको बर्दिवास अस्पतालसँग समन्वय नहुनु दुःखद भएको अधिकृत सिंहले बताए ।
बर्दिवासको गौरीडाँडामा रहेको सर्पदंश केन्द्रमा उपकरण र विशेषज्ञ चिकित्सको अभाव रहेको भन्दै टोलीले उपचार सेवा प्रभावकारी बनाउन आफूले सम्बन्धित निकायलाई प्रतिवेदन बुझाउनेसमेत बताएका छन् ।
छलफलको क्रममा बर्दिवास अस्पतालका डाक्टर किशोर अधिकारीले सर्पदंशको घटनामा वृद्धि भएपछि स्थानीय नगरपालिका, सडक विभाग, विद्यालय, अस्पताल तथा क्लबहरूले घरबारी सरसफाइ, तथा बाटोहरूमा भएको झाडी सरसफाइलगायत विशेष कार्यक्रमको अभियान नै चलाउनुपर्नेमा जोड दिए ।
टोलीसँगको छलफल कार्यक्रममा स्थानीयहरूले केन्द्रमा उपकरण र विशेषज्ञ चिकित्सक तुरुन्त पठाउन पहल गरिदिन माग गरेका थिए । टोलीसँग स्थनीयहरूले भ्यान्टेलेटरसहितको सर्पदंश उपचार केन्द्रको स्थानीयले माग गरेका छन् ।
प्रतिक्रिया