बम टिपेर फाल्न ढिला गरेको भए…

Durga_badhur_Rana

नेपाल प्रहरीमा हवल्दारको रूपमा सेवा गरिरहेका सल्यानका दुर्गाबहादुर रानालाई १४ असारसम्म निकै कम मान्छेले चिन्थे । उनलाई आफ्ना सहपाठी, सँगै काम गर्ने सहकर्मी आफन्त वा छरमिमेकका मान्छेले मात्र चिन्थे । सामान्य रूपमा आफ्नो पदीय काम र त्यसैको घेरभन्दा बाहिरका लागि उनको परिचय थिएन । दोस्रो चरणमा सम्पन्न स्थानीय तह निर्वाचनमा काठमाडौंमा रहेका उनलाई विभागले दाङ खटायो । प्रहरीको जागिर जता पठाउँछ उतै जानु उनको कर्तव्य थियो । उनको ड्युटी दाङको तुलसीपुर उपमहानगरपालिका–३ मा प¥यो । त्यहीँबाट उनी सबै नेपालीका लागि परिचित पात्र बन्न पुगे । उनको काम र अनुभवबारे सौर्य दैनिकका लागि चमिना भट्टराईले गरेको संवादः

durga 2

प्रहरी सेवामा कहिले प्रवेश भयो ?
२०६०को पुसमा प्रहरी सेवामा प्रवेश गरेको हुँ । प्रहरी भएर सेवा गरेको १४ वर्ष पूरा भयो । कर्तव्यमा रहेर निरन्तर रूपमा काम गरिरहेको छु ।

स्थानीय तहको निर्वाचमा दाङमा खटिँदा तपाईंको दरबन्दी चाँहि कहाँ थियो ?
मेरो दरबन्दी महानगरीय प्रहरी प्रभाव सामाखुशीमा थियो । पहिलो चरणको निर्वाचन सरेसँगै दोस्रो चरणको हुने स्थानमा खटाएको थियो । म पनि त्यही विभागीय निर्देशनमा राजधानीबाट दाङ गएको थिएँ । त्यहाँको निर्वाचन सम्पन्न भएपछि पुनः यहीँ फर्किएँ ।

तपार्इं जुन कारणले आज सबैका लागि चर्चित हुनुभएको छ, कस्तो महसुस भएको छ ?
मैले जुन उद्देश्य लिएर प्रहरीमा प्रवेश गरेको थिएँ, त्यही जिम्मेवारी अनुसारको काम गर्दै जाँदा आज सबैमाझ लोकप्रिय बन्न पाएकोमा खुसी छु । खासमा मैले आफ्नो जिम्मेवारी मात्र पूरा गरेको हुँ । धेरै ठूलो काम गरेको होइन । मैले आफू खटिएको मतदान केन्द्र र त्यहाँका मतदातालाई सुरक्षा दिनु नै प्रथम दायित्व थियो । मैले ज्यानको बाजी लगाएर भए पनि मतदाता र मतदान केन्द्रको सुरक्षा गर्नु आफ्नो जिम्मेवारी ठानेको थिए । तर, चाहेर पनि नचाहेर पनि एउटा घटनाले मलाई सबैसँग परिचित गराएको छ । सबैको माया र सम्मान पाएको छु यसमा खुसी लागेको छ ।

हवल्दारबाट बढुवा पनि हुनुभयो । यति छिट्टै बढुवा हुँला र यति धेरै सम्मान पाइएला भन्ने लागेको थियो ?
मैले त्यसरी कहिल्यै पनि सोचिन । विभागले दिएको जिम्मेवारी पूरा गरेको हुँ । मलाई लाग्छ मेरो कामको आधारमा सम्मान गरिएको होला । इमानदारीपूर्वक काम गरियो भने कामको कदार हुँदोरहेछ भन्ने लागेको छ । जहाँसम्म बढुवाको कुरो छ त्यो समय लाग्थ्यो होला छिट्टटै भयो । त्योभन्दा धेरै होला भन्ने लागेको छैन ।

त्यसदिन तपाईंको अघि खसेको वस्तु बम नै ठानेर फाल्नुभयो कि अरू नै केही ठानेर फाल्नुभयो ?
त्यसदिन समान्य रूपमा मतदान हुँदै थियो । हामी सुरक्षाका लागि आफ्नो ढंगले सचेत रूपमा थियौं । बिहान साँढे ९ बजेतिर मेरै अघि केही वस्तु खस्यो । प्रहरी सेवामा लामो समय काम गरेको अनुभवको आधारमा त्यो वस्तु बम हो भन्नेमा मलाई शंका भएन । तालिम र अनुभवको आधारमा बमबारे साधारण जानकारी थियो । अझ त्योे सकेट बम नै हो भन्नेसम्म मैले बुझेको थिएँ । खस्नेबित्तिकै छिटोभन्दा छिटो यहाँबाट हटाउनुपर्छ भनेर टिपेर नजिकैको झाडीमा फ्ँयाकें ।

बम हातले समातेर फाल्न डर लागेन ? हातमै पड्केको भए के हुन्थ्यो होला ?
बमसँग डर त लाग्छ नै । मलाई मात्र होइन हरेक मान्छेलाई लाग्छ । तर, मैले त्यति बेला डर लाग्ने न लाग्ने केही सोच्नै भ्याइनँ । डर लाग्नै भ्याएन भन्दा पनि हुन्छ । यहाँबाट छिटोभन्दा छिटो फाल्नुपर्छ नत्र पड्कन्छ भन्नेभन्दा अरू केही सोच्न भ्याइनँ । मैले कामको दैरानमा लिएको तालिम, सिकाइ संयमताले मात्र काम गरेको थियो । त्यतिबेला मैले थारै पनि असावधानी गरेको भए मानवीय क्षति हुन सक्थ्यो ।

मसँगै छेउमा तीन÷चार जना अरू साथीहरू पनि हुनुहुन्थ्यो । मतपेटिका पनि नजिकै थियो त्यहीँ मतदान अधिकृत, कर्मचारी र मतदातत थिए । मेरो काम नै बुथको सुरक्षा गर्नु थियो र प्रहरीमा प्रवेश गर्दा आफ्नो ज्यानको बाजी लगाएर भए पनि राष्ट्र र नागरिकको सुरक्षा गर्छु भनेर कसम खाएको थिएँ । त्यही पूरा गर्न सकेकोमा खुसी छुँ । मैलै टिपेर फालेको करिब पाँच सेकेन्डमा बम बिस्फोट भयो । मेरो हातमा बम पड्केको भए सायद मेरो चर्चा हुन्थ्यो होला तर, मैले सुन्न र हेर्न पाउँदैनथें होला ।

बम पड्केपछि मतदान केन्द्रको अवस्था कस्तो रह्यो ? कुनै समस्या भएन ?
बम सुरक्षित स्थानमा पड्केपछि मतदान केन्द्रमा रहेको मतदात र मतदानमा खटिएका कर्मचारी सबै आतंकित भए । बम विष्फोटपछि शान्त हुने कुरै भएन । कोही मतदानस्थलबाट भाग्दै थिए । हामीलाई भने बुथको सुरक्षा गर्नु थियो र मतदाता अनि निर्वाचन सम्पन्न गर्नु थियो । हामीमध्ये केही मतदातालाई सम्झाउने र मतदानस्थलको सुरक्षामा खटिएका थियौं । मतदातालाई सम्झाएर करिब आधा घन्टापछि मतदान सुचारु गरियो । त्यसमा स्थानीय पार्टीका नेता मतदानमा खटिएका सबै कर्मचारी र सुरक्षाकर्मीले मिहिनेत ग¥र्यौं । निर्वाचन शान्तपूर्वक सम्पन्न भयो ।

durgaघटनापछि मतदाता, स्थानीय राजनीतिक पार्टीका नेता र तपाईंको सहकर्मीले के भने ?
घटनापछि एक प्रकारले सबै आतंकित थिए । आतंककै बीचमा सबै खुसी पनि थिए । मन डराइरहेको भए पनि सबैमा खुसी थियो । सबैले मलाई धन्यवाद भन्दै आभार व्यक्त गरे । जनताको ज्यान र मतदानस्थल सुरक्षा गरिदिएको भन्दै सबैले खुसीव्यक्त गरेका थिए । सबैले माया गरे मलाई निकै खुसी लाग्यो । राम्रो काम गरिएछ भन्ने सोचें त्योभन्दा खुसी निर्वाचन सम्पन्न भएकोमा खुसी लाग्यो ।

परिवारले के भने ? समाचार सुनेर फोन गरे होलान् ? किन ज्यान जोखिममा पारेको भनेनन् ?
पारिवारिक संवेदनसिलता सबैमा हुन्छ । त्यो सामान्य हो । घटना बिहान ९.३० मा भएको थियो । तर, त्यहाँ फोनको नेटवर्क राम्रोसँग नलाग्ने र म ड्युटीमा भएको कारण राती ९.३० मा १२ घन्टापछि मात्र परिवारसँग सम्पर्क भयो । पाँच बजेसम्म त मतदान नै भयो । त्यसपछि मतपेटिका सुरक्षित गर्नतर्फ लागियो फुर्सद नै भएन कुरा गर्न । राती सबैभन्दा पहिला श्रीमतीले घरबाट फोन गरिन् फोनमा उनले आत्तिएको स्वरमा भनिन्, ‘किन त्यस्तो जोखिम काम गरेको तपाईंको केही गरी हातमा बम पडकेको भए !’ ‘तपाईंलाई केही भएको भए के हुन्थ्यो ?’ उनी एकोहोरो कराउँदै थिइन् । एक हिसाबले उनको आक्रोश जायज थियो ।

त्यसपछि आमा बुबासँग फोनमा कुरा भयो । सबैको एउटै आवाज थियो । उहाँहरूको कुरा सुनेपछि सबैलाई सम्झाएँ । जुन कर्तव्य बोकेर जागिर खाएको हो त्यो काम गर्नुपर्छ भनें, प्रहरीमा जागिर खाएको मान्छेले यस्ता समस्यासँग भाग्न पाइँदैन, सुरक्षा दिन आएपछि ड्युटी गर्नुपर्छ भनेर उहाँहरूलाई सम्झाएँ । मैले आफ्नो काम पूरा नगरेको भए कति मान्छेको ज्यान जान सक्थ्यो भने पछि सबैले कुरा बुझे । परिवारको चिन्ता र आक्रोश शान्त पारें ।

प्रहरीमा प्रवेश गर्दा कहाँसम्म पुगौंला भन्ने लागेको थियो ?
धेरै पढेको थिइनँ । थोरै पढेको मान्छे अनि ठूला बढासँग त्यति सम्पर्क नभएका कारण सही असहीसम्म हुँला कि भन्ने लागेको थियो । ठूलो अपेक्षा गरेको थिइनँ तर, काम गरेपछि त्यसको मूल्यांकन होला भन्नेमा भने विश्वास थियो । अब काम गर्दै जाँदा सेवा गर्ने ठाउँ र अवसर पाइएला भन्ने लागेको छ ।

मतदानको काम सकिएपछि एक्लै हुँदा राती डर लागेन बम समातेर फालेको सम्झँदा ?
डरभन्दा पनि बिनासोच विचार कसरी फालें हुँला भन्ने लाग्यो । फेरि सोचें त्यो बम मेरो हातमा पड्केको भए के हुन्थ्यो होला ? परिवारले त्यसै चिन्ता गरेका होइनन् भन्ने सोचें । मैले त्यसलाई सामान्य रूपमा लिएको भए के हुन्थ्यो होला जस्ता कुरा मनमा आए । त्यो पनि सामान्य जस्तो लाग्यो मान्छेले मनमा खेलाउँछन् । जे गरें ठीक गरें आफ्नो जिम्मेवारी पूरा गरें भन्ने लाग्यो ।

त्यो घटनापछि समामाजिक रूपमा र विभागीय रूपमा जुन मान सम्मान पाउनुभएको छ । यसले कस्तो अनुभूति भइरहेको छ ?
मैले यो बीचमा जुन मान सम्मान र माया पाएँ । अहिले पनि पाइरहेको छु । विभागीय रूपमा पाएको थप जिम्मेवारीले मलाई काममा अझ हौसला र जिम्मवार बनाएको छ । एउटा घटनाले मलाई मेरो काम र कर्तव्यप्रति अझ बोझ थपेको अनुभूति भएको छ । मलाई एक तहको जिम्मेवारी थपिएको छ । यसले इमानदारीपूर्वक काम ग¥यो मूल्यांकन हुँदोरहेछ भन्ने कुरा प्रस्ट पारेको छ । म आफैँ पनि बढुवा हुन एक प्रक्रिया पार गर्नुपर्ने थियो हाम्रो विभागमा पनि बढुवा वा घटुवाको आफ्नै नियम छ । तर, म कामको आधारमा बढुवा भएँ, त्यो मेरो कामको मूल्यांकन हो । राम्रो काम गरे विभाग र राज्यले सम्मान गर्दो रहेछ भन्ने यो उदाहरण हो ।

एकोहोरो प्रहरीमा जागिर खाएको मान्छेलाई मिडियाले धेरै पछ्याउँदा कहिलेकाहीँ दिक्क लागेन ?
मेरो कामका आधारमा मलाई माया गरेर खोजी गर्नुभएको हो यसमा दिक्क लागेको छैन, खुसी छु । मैले जुन काम गरें त्यो जिम्मेवारी थियो । मेरो कामलाई सारा नेपालीका अघि चिनाउने मिडिया हो । त्यसैको कारण सबैले चिन्ने भएको छु । यसमा मलाई गुनासो छैन, आभारी छु । यसरी पत्रपत्रिका वा अन्य सञ्चारको माध्यममा आउँला भन्ने लागेकै थिएन ।

राज्य र समाजले दिएको सम्मानले के लागेको छ ?
अझ बढी जिम्मेवारीपूर्वक काम गर्नुपर्छ भन्ने दबाब थपिएको जस्तो लागेको छ । हिजो नचिनेको मान्छे चिनेको छु, नचिनेकोले पनि बोलाउँछन्, माया गर्छन् राम्रो काम गर्नुभएछ भन्छन् । खुसी लागेको छ । आउने दिनमा पनि आफ्नो जिम्मेवारी पूरा गर्न चुक्नेछैन । मैले पाएको मान सम्मान मेरो लागि दबाब हो भन्ने सोचेको छु ।  चमिना भट्टराई

प्रतिक्रिया