काभ्रे । मन, व्यवहार, शरीर र सम्बन्ध ४ चरणलाई अस्वभाविक गतिमा दौडाउँदा आउने नकारात्मक परिणाम नै आत्महत्या हो । यी ४ चरणहरू पार गर्दा परिवार र समाज प्रत्यक्ष साथमा रहे पनि हामीले त्यो अनुभूतिलाई नबुझ्दा व्यक्तिले त्यो स्थितिसम्म पुग्ने साहस गर्दैन । काभ्रेमा पछिल्लोपटक यस्ता दुस्साहसका केही घटना सिलसिलेवार रूपमा घटेका छन् । गतहप्ता काभ्रेको बनेपामा एकै दाहाल परिवारका ४ जना मृत अवस्थामा भेटिए । हत्या हो कि सामूहिक आत्महत्या त्यसको अनुसन्धान भइरहेको छ । उक्त घटना सेलाउन नपाउँदै ५ दिनको अन्तरालमा धुलिखेल नगरपालिका–८ मा एक जोडी एउटै रुखमा झुन्डिएको अवस्थामा भिटिए ।
आफैँले लगाएको पाइन्ट र सल जोडेर पासो बनाई एउटै पासोमा धुलिखेल–८ घर भएका भैरव भनिने सोमप्रसाद बडाल र उनकी कान्छी पत्नी मनिषा दाहालले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनायो । यस्तै १ असारमा चौरीदेउराली गाउँपालिकास्थित आफ्नै घरमा वर्ष १९ कि मनिषा चौलागाइँले आत्महत्या गरिन् । ४ असारमा तिमाल–८ की वर्ष ६२ की नरकुमारी रायमाझी आफ्नै घरमा झुन्डिएर आत्महत्या गरिन् । ६ असारमा कटुन्जेबेँसीकी लम्बरी तामाङले झुन्डिएर आत्महत्या गरिन् । ११ असारमा बनेपाका २६ वर्षीय दिवाकर परियारले आत्महत्या गरे । ११ असारमै पनौतीकी ६२ वर्षिया सावित्री श्रेष्ठले विष खाएर आत्महत्या गरिन् । यी त केही प्रतिनिधिमूलक घटनाहरू हुन् । अहिले प्रत्येक वर्ष जिल्लामा सयभन्दा बढीले आत्महत्या गर्ने गरेको तथ्यांक छ ।
१९ वर्षमा काभ्रेमा ७ सयले गरे आत्महत्या
काभ्रेमा १० वर्ष अघिदेखिको बढ्दो आत्महत्याको तथ्यांक
वर्ष सन् महिला पूरुष
२००७ १९ १७
२००८ ११ ९
२००९ २३ ३४
२०१० ३५ २६
२०११ २५ २८
२०१२ ४२ ४३
२०१३ ४५ ३९
२०१४ ४१ ५२
२०१५ ४० ५०
२०१६ ५९ ६१
काभ्रेको प्रहरीसँग १९ वर्षमा काभ्रेमा ३ सय ४० महिला ३ सय ५९ पुरुषले आत्महत्या गरेको रेकर्ड छ भने चालु वर्ष २०१७ मा समेत महिला १९ पुरुष ३७ ले आत्महत्या गरिसकेको तथ्यांक छ । पछिल्लो समय काभ्रेमा आत्महत्याको घटना बढ्दै जान थालेकोे जिल्ला प्रहरी कार्यालयले राखेको तथ्यांकबाट स्पष्ट हुन्छ । आत्महत्याका घटनाको तथ्यांकहरू केलाउँदा पुरुषको संख्या बढी छ । महिला दोस्रो स्थानमा रहेको देखिन्छ ।
काभ्रेको सहरी इलाकाहरू र आसपासकै नगरपालिकाहरूमा बढी आत्महत्याका घटना देखिन्छ । सदरमुकाम धुलिखेल, पनौती र पाँचखालमा पछिल्लो १९ वर्षमा आत्महत्या बढी देखिएको छ । अहिले सँगै बाँच्ने र मर्ने कसम पूरा गर्ने फिल्मशैलीमा आत्महत्याका घटना घटिरहेका छन् । गएको केही दिनअघि पात्लखेतमा एक जोडीले झुन्डिएर आत्महत्या गरे । मर्नुअघि मनिषा दाहालले ‘सबैलाई बाइबाई, मिस यू, अबबाट फेसबुक चलाउन्न होला’ भनेर लेखेकी छन् । उनका यी कुराहरूलाई समयमा नै सरोकारवालाहरूले ध्यान दिएको भए सायद आत्महत्याबाट बचाउन सकिन्थ्यो कि भन्ने बहस चलिरहेको छ ।
गैससहरूको ध्यान कमाइमा
हरेक वर्ष स्थानीय तहमा विभिन्न बहानामा अर्बौंको बजेट खर्च हुन्छ तर त्यो लक्षित वर्गसम्म पुग्दैन । कुन एनजिओले कुन क्षेत्रमा कुन विषयमा कति प्रभावका कामहरू गरे भन्ने विषय नै जटिल बनेर खडा भइदिँदा खर्च गर्नुपर्ने क्षेत्रहरू र लक्षित वर्गहरू चुक्दै आएका छन् । जसमध्ये एउटा महत्वको विषय आत्महत्या पनि हो । जिल्लामा हजारौँ दर्ता भएका एनजिओहरू छन् जसमध्ये सयौँको संख्यामा क्रियाशील छन् ।
तर, उनीहरूको ध्यान सामाजिक काममा भन्दा कमाइका क्षेत्रतिर बढी देखिन्छ । पछिल्लो समय काभ्रेमा एनजिओहरूले विभिन्न प्रतिवेदनहरू निकाल्ने गरिए पनि आत्महत्याको बिषयसँग रहेर कसैले काम गरेका छैनन् । यस विषयमा आफ्नै प्रयासमा बृहत् अध्ययनको काम भने मानवअधिकार शिक्षा तथा सूचना केन्द्रले गरेको देखिन्छ । आत्महत्या रोकथामका विषयमा सचेतनाका कामहरू कुनै पनि गैससले प्राथमिकतामा राखेको देखिन्न । जिल्लाभरका गैससहरू कमाइ हुने विषयहरू छनोट गर्नमा मात्रै व्यस्त भेटिन्छन् । जिल्लामा आत्महत्या रोकथामका लागि सचेतना आवश्यक भएको सबन्धित क्षेत्रका विज्ञहरूको धारणा देखिन्छ ।
आत्महत्या बढेको विषयमा जिल्लाका को के भन्छन् ?
अभाव र निराशा, आत्महत्याका प्रमुख कारण
– भोजराज तिमल्सिना, मानव अधिकारकर्मी
अभाव र निराशाका कारण विषादी प्रयोग गरेर मर्नेको संख्या यहाँ बढ्दो छ । विषादी विष हो, औषधि होइन भन्ने सर्वसाधारणलाई बुझाउन नसक्नु मुख्य समस्या हो । धेरै पहिले रैथाने किरा मार्ने तौरतरिकामा मेटासिडको प्रयोग थियो तर आजभोलि मेटासिडको प्रयोग गरेर मानिसहरू मर्न थालेका छन् । प्रयोग गर्न सजिलो भएका कारण महिलाहरू पोल्टापोल्टामा विषादी बोकेर हिँड्ने र रिस उठ्ने बित्तिकै खाइदिएका कारण आत्महत्याको संख्या बढेको हो ।
यहाँ झुन्डिएर आत्महत्या पहिलो र विषादी प्रयोग दोस्रो स्थानमा देखिन्छ । यसपछि नदीमा हाम फालेर, हतियारको प्रयोग र आगो लगाएर मर्नेको संख्या धेरै छ । आत्महत्याको प्रमुख कारण अवसाद (पश्चात्ताप) हो । चरम अवसाद एक मनोरोग हो । जसले आत्महत्या गर्न पे्ररित गर्दछ । अनिद्रा, काममा उदासीनता, चञ्चल मानसिकता र किञ्चित उत्तेजनाबाट आँसु बगाउने प्रवृत्ति आत्महत्या अर्थात अवसादका लक्षण हुन् । त्यस्ता आत्मघाती मनसाय भएका मानिसहरूको परिवर्तन र व्यवहार ध्यानपूर्वक अवलोकन गरेमा आत्महत्या रोक्न सकिन्छ ।
त्यस्तो व्यक्ति प्रियजन, आफन्त, घरपरिवारबाट टाढिँदै आफ्ना लुगाफाटा र सरसामानहरू अरूलाई दान गर्ने र अनावश्यक औषधि जम्मा गर्न थाल्छ । त्यस्ता व्यक्तिहरूले मर्नुअगाडि त्यस्तो छनक दिने गर्दछन् । हाम्रो जस्तो गरिब, दरिद्र र संकीर्ण समाजमा यस्ता आत्मघाती व्यक्तिहरूको मानसिक वेदना सुनिदिने, मनोवैज्ञानिक सल्लाह–सुझाव र बाँच्ने इच्छा जगाइदिने कोही पनि देखिन्न ।
मानसिहरू किन आत्महत्या गर्छन् ? खोजीको विषय हो
सूचना अधिकारी, मनोविमर्शकर्ता
मानिसहरू किन आत्महत्या गर्दछन् भन्ने विषय सबैको खोजीको विषय हो । सामान्यः सोच्दा पनि हामी यतिसम्म पत्ता लगाउन सक्छौँ कि आत्महत्या गर्ने व्यक्तिलाई चरम डिप्रेसन मानसिक रोगी, गरिबी, प्रेम बिछोड, परीक्षाको नतिजा, पारिवारिक झगडा, अधुरो प्रेम, आत्मबल नहुनु, अचानक कुनै बेइज्जत, बेरोजगारी, यौन दुव्र्यवहार, आफ्नो प्रतिष्ठालाई जोगाउन नसक्दा, व्यापारमा घाटा, आर्थिक भार, नकारात्मक तनाव, महिला अस्मितामा चोट पुग्न गएमा, असफलता, युवा अवस्थाको लापर्वाही, चेतनाको कमी, आफन्तको शोक तथा परिवारको मृत्यु, गल्ती महसुस गर्नु, शिक्षामा असफलता, ज्यादा महत्वकांक्षा, सधैँ रोगी, जातीयताको कारण, अरूलाई देखाउन आत्महत्या गर्ने व्यक्तिहरू आफ्ना क्षणिक समस्याहरू समाधान गर्न नसक्ने भएपछि व्यक्तिले आवेगमा आई आत्महत्याको योजना बुन्ने र गर्ने गरेको थाहा पाउन सकिन्छ ।
दीर्घकालीनरूपमा समस्या देख्नेहरूले पनि आत्महत्या अँगालेका हुन्छन् । यस्तो व्यवहारलाई शंका गर्नूस् आत्महत्या योजना बुन्नु अगाडि यस्तो शंकास्पद व्यवहार देखाउन सक्छन् । बारम्बार मृत्युको कुरा गर्ने, चक्कु, औषधि खोज्ने, गम्भीर भएर एक्लै बस्ने, निराश हुने, अन्तिम भाषाका शव्दहरू भन्ने, आफैँलाई अपहेलना गर्ने, बिदा हुने र कहिले नआउने व्यवहार गर्ने, आकस्मिक विभिन्न कार्यहरू गर्ने, साथीहरू र परिवारसँग टाढा बस्ने, शान्त हुन खोज्ने, बोल्दा हिँड्दा खानपान गर्दासमेत उक्त कुरा पत्ता लगाउन सकिन्छ । गोप्य कुराहरू गर्ने कुनै इच्छा प्रकट गर्ने एकोहोरो स्वभाव देखाउने, हिँडाइ, लवाइ, एकाएक बोली र व्यवहारमा परिवर्तन ल्याउने गर्छन् ।
अन्ततः सिकेरै मर्दछन्
जीवनलाई बिर्सेर डरलाग्दो मृत्यु अँगाल्दा पनि कुनै सन्तोष हुँदैन बरु मर्दा उसलाई यस्तो अनुभव हुनसक्छ । आत्महत्या गर्नु महागल्ती रहेछ । व्यर्थ आत्महत्या रोजेछु मर्ने व्यक्तिले यो सिकेर मर्छ । शान्त्वना दिने व्यक्ति भएमा र उसको कुरा सुनेमा पक्कै प्रभाव हुन्छ । उसको समस्या बुझ्ने र प्रायः समय ऊसँगै बिताउने, आपूmले उसको समस्या हल गर्ने वचन दिने र बेलाबेलामा उसलाई आशारुपी शव्द प्रयोग गरेमा मानसिक र मनोवैज्ञानिक उपचार गर्ने, परामर्शहरू दिने गरेमा र डिप्रेसनलाई बुझेमा यसको न्यूनीकरण हुन सक्छ ।
अभाव र दबाबमा आत्महत्या बढ्दो
नविनराज राई, नायब प्रहरी उपरीक्षक जिल्ला प्रहरी कार्यालय, काभ्रेपलाञ्चोक
सरकारले बेरोजगारीलाई रोजगार दिनुप¥यो । गरिबी, अभाव र दबाबमा पर्दा नै आत्महत्या हुने हो । पहिलो कुरो त पारिवारिक वातावरणलाई सहजतापूर्वक स्वीकार्न सक्ने अवस्था बनाउन सचेतनात्मक अभियान सञ्चालन गर्नुप¥यो । परिवारबाटै अपहेलित हुँदा, परनिर्भरतामा जीवन गुजारा गर्दा तनावको स्थितिसम्म ल्याउन दिनु भएन ।
आत्महत्या हुनुभित्र पहिलो पक्ष आफैँ दोषी छन् भने दोस्रो पक्ष आफ्नै परिवार र समाज हुँदै आएको कुरालाई सबैले स्वीकार्नु पर्छ । हामीले अहिले गर्नसक्ने सचेतनाको कार्यक्रम हो । त्यसमा पनि ठूला कार्यक्रमहरू गर्नसक्ने अवस्थाको बजेट हामीकहाँ हुँदैन ।
किरामार्ने विषादी खाएका घटनाहरू बढी आउँछन् -डा. राजेन्द्र कोजु , धुलिखेल अस्पताल प्रमुख
वर्षमा ५० भन्दा बढी आत्महत्या प्रयासका घटनाहरू हामीकहाँ आउँछन् । त्यसमा पनि अग्रानो फोस्फोरस नामक किरामार्ने विषादी खाएका घटनाहरू बढी आउँछन् ।
अहिले सुनिएको सेल्फस नामक विषादी खाएर आउने घटनाहरू भनेको यसमा हाम्रो प्रयास सून्य नै रहँदै आएको छ । पछिल्लोसमय यस्ता आत्महत्याका घटनाहरू बढ्नुको पछाडि धेरै समस्याहरू नपचाइ आउने डिप्रेसन नै हो ।
प्रतिक्रिया