आयआर्जनको माध्यम बन्यो चर्खा

buddi maya=charkha

चितवन १७ साउन । चितवन पदमपुरका ६० वर्षीया वृद्धा सुखमाया तामाङ हातमा ऊनीको धागो च्यापेर आइन् । तौलँदा २ किलो सय ग्राम भयो ।  चाउरी परेको अनुहारमा चमक देखिन्थ्यो । उनले भनिन्, ‘अलेली सहयोग हुन्छ । एकछिन एकछिन हो बाबु । भैँसी छ, बाख्रा छ, त्यो एकछिन एकछिन बस्या बेला गर्ने हो । यसमा मात्रै ध्याउन्न हुन्न ।’ २ दिनको फुर्सदको समय निकालेर २ किलो सय ग्राम धागो काटेकी सुखमायाले झन्डै ३ सय रुपैयाँ बुझेर गइन् । एकै छिनमा यसैगरी धागो च्यापेर संस्थामा आए वृद्ध हिमलाल घले । ४ दिनमा २ किलो ऊन तयार पारेको बताउने उनले संस्थाबाट २ सय ८० रुपैयाँ बुझेर गए । महिलाले सिकेको कामले पुरुषलेसमेत फाइदा लिँदै छन् भन्ने उदाहरण उनी छन् ।  पहिले यहाँका महिलालाई सय रुपैयाँ जम्मा गर्न धौ धौ थियो । चर्खा कार्यक्रम सुरु भएपछि उनीहरूलाई वैकल्पिक पेसा गर्न ऊर्जा मिलेको छ ।

सय वचत गर्न नसक्नेहरू अहिले सहकारीमा १२ हजार रुपैयाँभन्दा बढी जोहो गर्न सफल भएका छन् । चर्खा घुमाउने पेसा पछिल्लो समयमा जहीँतहीँ देखिँदैन । फाट्टफुट्ट देखिए पनि यो पेसा हराउँदो छ । आधुनिक प्रविधिको विकाससँगै ऊनीको धागो काट्ने घरेलु प्रविधिको यो पेसाले स्थान पाएको देखिँदैन । हराउँदै गएको यो पेसा चितवनको पूर्वीक्षेत्र पदमपुरमा भने कायमै छ । यहाँका स्थानीय महिला अहिले फुर्सदको समयको भरपूर उपयोग गर्दै चर्खा घुमाउँछन् । कालिका नगरपालिका–२ पदमपुरका बुद्धिमाया घले पनि ऊन काट्छिन् । चर्खा चलाएपछि यहाँको महिलामा फुर्सदको समय मजैले सदुपयोग भएको र आम्दानी पनि बढेको बुद्धिमायाको अनुभव छ ।
उनीमाथि कच्चा पदार्थ (भेंडाको रौँ) ल्याउने, दिदीबहिनीलाई धागो काट्न लगाउने र तयारी ऊन बनाएर फेरि पठाउने व्यवस्थापनको जिम्मा छ । यो गरेवापत उनीले १० प्रतिशत ‘कमिसन’ पाउँछिन् । यहाँ अहिले २ सय ६० महिलालाई चर्खा वितरण भएको छ । १ सय २० जना चर्खा समूहमा आबद्ध छन् । गाउँमा उनीहरू नै संलग्न भएर खोलेको चेतना चेली बहुउद्देश्यीय सहकारीले पनि ८० जना महिलालाई चर्खा दिएको चर्खा समूहका सचिव तथा सहकारीका अध्यक्ष सत्यादेवी श्रेष्ठ बताउँछिन् । अहिले बुढापाका, महिला सबैले सानो कमाइसमेत वचत गर्न थालेको उनी बताउँछिन् । सय रुपैयाँ जम्मा गर्न नसक्नेको अहिले १२ हजार रुपैयाँसम्म सहकारीमा जम्मा भइसक्यो । ‘त्यही हो मासिक १०÷१५ क्विन्टलसम्म ऊन बन्छ,’ बुद्धिमायाले भनिन्, ‘गाउँका महिलाले नजानिँदो किसिमले आम्दानी गरेका छन् ।’ चर्खा चलाएर १ किलो ऊन काटेको ज्याला १ सय ४० रुपैयाँ छ ।

फुर्सदको समयमा महिला दिनमा २ किलोसम्म ऊन काट्छन् । सहयोग पाउने हो भने यहीँ व्यवस्थापन गर्नसक्ने उनी बताउँछिन् ।  वैकल्पिक तरिकाबाट वन संरक्षणका लागि जिल्ला वन, चितवन निकुञ्ज, स्थानीय सामुदायिक वन, हरियो वन कार्यक्रमको सहकार्यमा राष्ट्रिय प्रकृति संरक्षण कोषले यहाँका विपन्नलाई समेटेर चर्खा कार्यक्रम सञ्चालन गरेको हो ।कोषका कार्यक्रम अधिकृत सन्तोष भट्टराईका अनुसार पहिले महिला फुर्सद भएपछि दाउरा संकलन गरेर बिक्री गर्थे । अहिले फुर्सदको समय सदुपयोग गरेर घरमै आर्थिक उपार्जन गर्छन् । जंगलमाथिको मानवीय चाप घटाउन चर्खा कार्यक्रम ल्याइएको कोषका कार्यक्रम सहायक परमानन्द गर्ग बताउँछन् । चर्खा उनीहरूको वैकल्पिक पेसा हो । अन्य समयमा अरू नै काम गर्ने भएकाले फुर्सदको समय खेर गएको छैन । पहिलेपहिले फुर्सद भयो कि जंगल जाने, दाउरा खोज्ने, अनि बिक्री गर्ने चलन अहिले चर्खाले हटाउँदै लगेको छ ।

कच्चा पदार्थ दिने र उत्पादित ऊन तथा गलैँचा लिने काम युनिक ऊनी धागो उद्योग काठमाडौंले गर्छ । उद्योगका सञ्चालक मोहन सुवेदी अहिले मेसिनका कारण हातले बुनेको ऊनको माग घट्दै गएको दुःखेसो गर्छन् ।  ‘कोहीकोही हातले नै बुनेको भनेर अर्डर गर्नुहुन्छ, उनीहरूका लागि जेनतेन धानेका छौँ,’ सुवेदीले भने, ‘नेपालीले खपत गर्न सक्दैनन्, सबै बाहिर पठाउनुपर्छ । अर्डर नै छैन बाहिर, मजदुरलाई काम दिनै गाह्रो भो ।’ गलैँचासमेत बुन्न थाले महिलाले सामुन्नेमा बुट्टैबुट्टा भएको नक्सा छ । छेउमा फरकफरक रङका ५÷७ वटा डल्ला ऊन छन् । ती ऊन नम्बरअनुसारका छन् । अगाडि गलैँचाको तानमा नक्सा हेर्दै गलैँचा बुन्दै छिन् पदमपुरका लीला लामा । ‘कुन ठाउँमा कुन रङको बुट्टा राख्ने पहिल्यै खुट्याउनु पर्छ, नत्र बुट्टा मिल्दैन’ लामाले भनिन्, ‘धेरै बुट्टा भएको गलैँचा बुन्न साह्रै दिमाग लगाउनुपर्छ ।’ कुन बुट्टामा कति नम्बर धागो जान्छ भन्ने कुरा महत्वपूर्ण हुने उनी बताउँछिन् ।

घर बनाउने मजदुर हुनुहुन्थ्यो लीला । टपटपी पसिना चुहाएर घोटिनुपथ्र्याे । न शरीरलाई सुविस्ता न स्वास्थ्यको ख्याल । कहिले त महिनौँसम्म पनि काम पाइन्थेन । ३ बच्चा र पतिसहितको पालनपोषणको जिम्मा उनकै जिम्मामा थियो । ‘कतिन्जेल यो श्रम गर्ने, बल छउन्जेल त हो अनि के गर्ने ?’ उनको मनमा खुल्दुली हुन्थ्यो । त्यसपछि चर्खा चलाउन थालिन् । सुरुमा चर्खाबाट राम्रै आम्दानी गरेकी उनले अझै आम्दानी बढाउन गलैँचा बुन्दै छिन् ।  ‘काठमाडौंमा १५ वर्षअघि सिकेको सिप अहिले काम लाग्यो,’ हाँस्दै बुद्धिमायाले भनिन्, ‘एक महिनामा एउटा सजिलै तान खस्छ ।’

 ‘घर बनाउनेमा दैनिक काम हुन्न, यो भित्र बसेर बुन्ने हो, जति छिटो बुन्यो आफूलाई फाइदा, यो त सजिलो पेसा भएर लेबर छाडेको’ विगतको अनुभव सुनाउँदै उनले भनिन् ।  पछिल्लो समयमा यहाँका महिलाले गलैँचासमेत बुन्न सुरु गरेका छन् । देवी विक, लीला लामा, ललिता प्रजा, बीमा थिङ र शान्ति गुरुङ गलैँचा बुनेर आम्दानी बढाउँदै छन् । सामान्यतः एक थान गलैँचा बुनेको उनीहरूले ७ हजार ज्याला पाउँछन् । एक थान गलैँचाको बढीमा १८ हजार रुपैयाँसम्म पाउने गरेको बुद्धिमायाको भनाइ छ । चितवनको पदमपुरबाट ५ वटा गलैँचा बुनेर पठाइसकिएको छ । गरिब न्यून आय भएकाका लागि यो कार्यक्रम निकै उपयोगी छ ।

यसरी सुरु भयो चर्खा कार्यक्रम
तत्कालीन महेन्द्र प्रकृति संरक्षण कोषले ०६१ सालबाटै ५ समूह गठन गरेर चर्खा कार्यक्रम ल्याएको थियो । बुद्धिमायाकै नेतृत्वमा यहाँ सय चर्खा बाँडियो । चितवन निकुञ्जको जंगलबीचमा बसेको साविक पदमपुर गाविस नै स्थानान्तरण भएकाले उनीहरूलाई आयआर्जनमा सहज पार्न यो कार्यक्रम सुरु गरिएको थियो । कोषका प्रमुख डा.चिरञ्जीवी पोखरेल विपन्नलाई जंगलमा आश्रित हुन नपरोस्, उनीहरूको फुर्सदको समयको सदुपयोग होस् र आय बढोस् भन्ने उद्देश्य कार्यक्रमको रहेको बताउँछन् । व्यवस्थापन अभावमा ०६४ सालमा चर्खा कार्र्यक्रम बन्द भएको बुद्धिमाया बताउँछिन् । ०७० सालको जेठ महिनादेखि कार्यक्रम पुनः सञ्चालनमा आयो । रासस

प्रतिक्रिया