भक्तपुरको तरकारीमा प्रतिबन्धित विषादी

tarkari-2-625x405

भक्तपुर १४ साउन । भक्तपुरको जगाती नाका भएर राजधानी भित्रने तरकारीमा अत्यधिक मात्रामा प्रतिबन्धित विषादीको प्रयोग भएको पाइएको छ । राष्ट्रिय बाली संरक्षण केन्द्रले गरेको १ अध्ययनले त्यस क्षेत्रबाट राजधानी भित्रिने तरकारीमा प्रतिबन्धित विषादीको प्रयोग भएको देखाएको हो ।

कृषि मन्त्रालयअन्तर्गत बाली संरक्षण निर्देशनालयले गरेको आव ०७३÷७४ को अध्ययनमा बालाजु नाकाबाट भित्रने तरकारीमा विषादी नभेटिएको उल्लेख छ । थानकोटबाट भित्रिने ४६ तरकारीको परीक्षण गर्दा २ वटा र जगातीबाट भित्रने ५० तरकारीको परीक्षण गर्दा ३ प्रकारका तरकारीमा विषादी भेटिएको छ ।

आव ०७३÷७४ मा निर्देशनालयले गरेको परीक्षणमा गोलभेंडा र काउलीमा सबैभन्दा धेरै विषादी रहने देखाएको छ । ३ सय ९४ पटक गोलभेंडा र २ सय २७ पटक काउली परीक्षण गर्दा समान विषादी ८ पटक भेटिएको छ ।

त्यस्तै, ५ पटक गोलभेंडा र ६ पटक काउलीमा विषादीको मात्रा ३५ देखि ४५ प्रतिशतसम्म भेटिएको छ । ३५ देखि ४५ प्रतिशतसम्म विषादी रहेको तरकारीलाई २–३ दिन राखेर उपभोग गर्दा विषादीको मात्रा नरहने निर्देशनालयले जनाएको छ । त्यस्तै, काँक्रोमा १, तिते करेलामा ३ र बोडीमा १ पटक विषादी प्रयोग गरेको भेटिएको तथ्यांकमा उल्लेख छ ।  भान्सामा दैनिक प्रयोग हुने तरकारी उत्पादनमा धेरै विषादी प्रयोग हुने गरेको भेटिएको छ । किसानले उत्पादन गर्दा नै चाँडो फलाउन, किरा–फट्यांग्रा मार्न, प्रतिकूल मौसमबाट जोगाउन तथा लामो समयसम्म ताजा देखाउन तरकारीमा विषादी प्रयोग गर्ने गरेका छन् । विषादी छर्नासाथ तरकारी टिप्ने र बजारमा पठाउने प्रवृत्ति पनि बढेको छ । जसकारण उपत्यकाका उपभोक्ता विषादीयुक्त तरकारी उपभोग गर्न बाध्य छन् । बाली संरक्षण निर्देशनालयका सूचना अधिकारी दिनेशबाबु तिवारीका अनुसार स्नायु प्रणालीमा असर गर्ने अर्गानो फस्फेट र कार्बोनेटनामक दुई विषादीको प्रयोग धेरै देखिएको छ ।

किसानले चाँडो तरकारी फलाउन, ताजा देखाउन यस्ता विषादी प्रयोग गरेका हुन् । दुवै विषादी प्रयोग गर्न बन्देज छ । किसानले विषादी प्रयोग गरेको कति समयमा तरकारी टिप्ने भनेर ख्याल नगर्दा पनि बिक्रीका लागि बजारमा आएका तरकारीमा विषादीको मात्रा धेरै भेटिएको उनले बताए । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलेसमेत निर्देशनालयको सहकार्यमा गत मंसिरदेखि वैशाखसम्म काभ्रे, भक्तपुर, सिन्धुपाल्चोक, धनुषा, दोलखा, नुवकोट, धादिङ, चितवन, मोरङ, पर्सा, भैरहवा र भारतबाट आयातित तरकारीमा विषादीको मात्रा परीक्षण गरेको थियो । विषादीको मात्रा अधिकतम ४५ प्रतिशतसम्म हुनुपर्नेमा काउलीमा काभ्रेबाट आयातितमा ६६ दशमलव ८५ प्रतिशत र ५२ दशमलव ४२ प्रतिशत तथा धादिङबाट आयातितमा ६३ दशमलव ८२ प्रतिशत विषादी भेटिएको खाद्य अनुसन्धान अधिकृत मदन चापागाईंले जानकारी दिए ।

त्यस्तै, सिन्धुपाल्चोकबाट आयातित गोलभेंडामा ५७ दशमलव ५६ प्रतिशत र भारतबाट आयातितमा ४६ दशमलव ५५ प्रतिशत विषादी भेटिएको उनले जानकारी दिए । निर्देशनालयले आव ०७२÷७३ मा परीक्षण गर्दा पनि गोलभेंडामा सबैभन्दा बढी ४ पटक र काउलीमा १ पटक विषादी प्रयोग गरेको भेटिएको थियो । त्यस्तै, भेंडे खुर्सानीमा २, काँक्रोमा १ र भन्टामा १ पटक विषादी प्रयोग गरेको भेटिएको थियो । आव ०७१÷७२ मा बोडीमा सबैभन्दा धेरै ३ पटक र गोलभेंडामा १ पटक विषादी हालेको देखिएको थियो ।

प्रतिक्रिया