माग पूरा नभएसम्म अनशन ः डा. केसी

Dr-govinda-kc
काठमाडौं १२ साउन । स्वास्थ्य शिक्षालाई सर्वसुलभ बनाउन माग गर्दै विगत ३ दिनदेखि आमरण अनशन बसेका डा. गोविन्द केसीले सुलभ मूल्यमा सर्वसाधारणका छोराछोरीले चिकित्सा शिक्षा पढ्ने अवस्था नभएसम्म आफ्नो आन्दोलन जारी रहने बताएका छन् । सरकारले विगतमा आपूmसँग गरेका सम्झौता कार्यान्वयन नगरेको भन्दै डा. केसी ११औं पटक आमरण अनशन बसिरहेका छन् ।  चिकित्सा शिक्षालाई गुणस्तरीय र सर्वसुलभ बनाउनुपर्ने, पूर्वाधार नपुगेका शिक्षण अस्पतालले तत्कालै पूर्वाधार तयार पार्नुपर्ने, चिकित्सा शिक्षाको शुल्क सर्वसाधारणको पहुँचमा हुनुपर्ने, आगामी १० वर्षसम्म सहरमा मेडिकल कलेज खोल्न नदिनुपर्नेलगायत उनका माग छन् ।

देशमा ऐन नबनेको अवस्थामा निजी कलेजले फाइदा उठाइरहेका र त्यसलाई तत्काल बन्द गर्नुपर्ने केसीको भनाइ छ । राजनीतिक दलका शीर्ष नेताले कालो धनलाई सेतो बनाउनकै लागि मात्र निजी मेडिकल कलेजहरूको वकालत गर्दै आएको उनको आरोप छ । देशमा गुणस्तरीय मेडिकल शिक्षा सबैको पहुँचमा भए जनताले सहज स्वास्थ्य सुविधा पाउँछन्’, उनले भने, ‘म त्यसैका लागि लागिपरेको छु, र मेरो अनशन सर्वसाधारण नागरिकका लागि हो ।’ ‘ठूलाठूला स्वास्थ्य संस्था, मेडिकल कलेजहरू सहरकेन्द्रित छन्, डा. केसीले भने, ‘उनीहरूले सहरमा मनलाग्दी कालोधन बटुलेर मात्र हुन्न गाउँमा पनि जानुप¥यो नि, त्यहाँ झन् बढी स्वास्थ्य शिक्षाको खाँचो छ ।’

ग्रामीण क्षेत्रमा ८० प्रतिशत जनताले मेडिकल कलेजको सेवा पाएका छैनन् । ग्रामीण क्षेत्रमा मेडिकल कलेजहरूको विस्तार गर्न सरकारले पहल गरोस् भन्नेमा आफू कटिबद्ध रहेको केसीको भनाइ छ । राजधानीबाहिर डोटी, डडेल्धुरा, पाँचथर, इलाम, उदयपुर धनुषा, महोत्तरीलगायत ठाउँमा सरकारी मेडिकल कलेजहरू खोलिनुपर्ने केसीको धारणा छ । विपन्न वर्ग डाक्टरी शिक्षाबाट वञ्चित रहेकोप्रति चिन्ता व्यक्त गर्दै उनले देशको कुल जनसंख्यामध्ये ५ प्रतिशतले मात्र करोडाैँ तिरेर मेडिकल शिक्षाको पहुँचमा पुगेको र ९५ प्रतिशत जनता गुणस्तरीय मेडिकल शिक्षाबाट वञ्चित रहेको बताए ।

नेपालमा शिक्षा, स्वास्थ्य, गाँस, वास कपासको व्यवस्थालगायत मेडिकल शिक्षाको व्यवस्था हुनुपर्ने माग केसीको छ । विकसित देशमा स्वास्थ्य र शिक्षाको सम्पूर्ण जिम्मा सरकारले लिने गरेको बताउँदै डा. केसीले भने, ‘गरिब देशमा मात्र निजीको हालिमुहाली छ, नेतृत्वले त्यसलाई मलजल गरिरहेको छ ।’ केसीको मागमा समर्थन जनाउन अनशनस्थल पुगेका नयाँ शक्ति नेपालका संयोजक तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले डा. केसीका मागलाई सरकारले तत्काल पूरा गर्नुपर्ने बताए । उनले राजनीतिमा जस्तै चिकित्सा शिक्षा र स्वास्थ्यमा पनि माफियाकरण भएको बताए । राजनीतिक नेतृत्वमा नैतिकताको अभाव भएकाले डा. केसीले ११औं पटकसम्म आमरण अनशन बस्नुपरेको उनको भनाइ थियो । डा. केसीले जारी गरेको विज्ञप्तिमा शीर्ष दलका नेताहरू, संसदीय समितिका सदस्यहरू निजी मेडिकल कलेज खोलेर व्यापार गर्न पल्केकाले स्वास्थ्यमा सर्वसाधारणको पहुँच नभएको उल्लेख गरेका छ ।

माग प्राथमिकतामा ः स्वास्थ्यमन्त्री
नवनियुक्त स्वास्थ्यमन्त्री गिरिराजमणि पोखरेलले डा. गोविन्द केसीका मागलाई सम्बोधन गर्न प्राथमिकता दिने बताएका छन् । उनले नयाँ स्वास्थ्य नीति बनाउने घोषणा पनि गरे । बुधबार स्वास्थ्यमन्त्रालयको पदभार ग्रहण गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पोखरेलले भने, ‘डा. गोविन्द केसीले अनशनबारे जानकारी आएको छ । उहाँका मागलाई पनि प्राथमिकतामा राखेर काम गर्नेछु ।’ तेस्रोपटक स्वास्थ्यमन्त्रीको जिम्मेवारी पाएका पोखरेलले संविधानप्रदत्त आधारभूत स्वास्थ्य सेवालाई सर्वसुलभ र सबैको पहुँचमा पु¥याउन प्राथमिकता दिने पनि बताए ।

प्रतिक्रिया