‘सबै आरोपको सामना गर्न तयार छु, पदीय दुरुपयोग गरेका छैन‘

04_Saun

‘अहिले म बसेको स्थान गृह मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन केन्द्र हो । म यहाँ डलर खानाका लागि बसेको भन्ने आरोप निकै सुनेको छु । मैले के बापत भत्ता खाएँ वा खाने गरेको छु । पत्ता लगाउनुस् गृहमन्त्रालयमा बसेर सिडियोको सरुवामा पुण्यले पैसा खायो,  ट्रेड युनियनलाई बेचेर पैसा कमायो भन्ने सम्मको आरोप आफ्नै साथीहरूबाट बेला–बेला सुनेको छु । मलाई आरोप लगाउने साथीहरूलाई आग्रह गर्न चाहन्छु । मेरोबारे लागेको आरोपअनुसार मैले कुन–कुन स्थानबाट सुविधा लिएको छु भनिदिनुस् । म आफैँलाई थाहा छैन, म बुभ्न र जान्न चाहन्छु कहाँ–कहाँ रहेछ मेरो सेवा सुविधा ।‘

२० वर्षपछि भएको स्थानीय निर्वाचनसँगै स्थानीय तह कर्मचारी समायोजनको प्रयोग भइरहेको छ । त्यहि प्रयासस्वरूप सरकारले स्थानीय कर्मचारी समायोजन विधेयक संसद्मा पेस गरेको छ । त्यही विधेयकको सवालमा सरकारले आधिकारिक ट्रेड  युनियनसँगै कुनै परामर्श नै नगरी विधेयक अघि बढेको युनियनको आरोप छ । त्योसँगै आधिकारिक ट्रेड युनियनका अध्यक्ष पुण्य ढकाललाई मनोमानी रूपमा संगठन चलाएको आरोप छ । यस्तै विविध विषयमा अध्यक्ष ढकालसँग सौर्य दैनिकका लागि चमिना भट्टराईले गरेको संवादः

स्थानीय सरकार आइसकेको छ, स्थानीय तह कर्मचारी समायोजनको कुरा कहाँ पुग्यो ?

– स्थानयि तहमा सरकार आइसकेको छ । स्थानीय तह कर्मचारी खटनपटन गर्ने मुख्य विधेयक संसद्मा पुगेको छ । तर, संसद्बाट पारित भएको छैन । विचारधीन अवस्थामा रहेको उक्त विधेयक चाँडोभन्दा चाँडो पास गरेर कर्मचारी खटनपटनको व्यवस्था मिलाउनपर्छ भन्ने हाम्रो माग हो । त्यसलाई टुंगोमा लगाउन बेला–बेला सरकारसँग आग्रह गरेका छौं । तर, टुंगो कहिलो लाग्ने हो पत्तो छैन ।

यसलाई टुंगोमा पु¥याउन तपाईंहरूको तर्फबाट के–के हुँदै छ ?
–सबै राष्ट्रियस्तरको ट्रेड युनियनले विधेयक पास गरेर कर्मचारी समायोजको गर्न एकमतले सरकारको ध्यानाकर्षण गराएका छौं । विधेयकबारे हामी सबैले हाम्रो भावना प्रस्तुत गरेका पनि छौं । सबै कर्मचारीको हितका लागि यी–यी कुरा समावेश गरिनुपर्छ र विधेयक यस्तो हुनुपर्छ भनेर आफ्ना सुझाव दिने काम भएको छ । तर, सरकारले ९५ प्रतिशत कर्मचारीको नेतृत्व गर्ने आधिकारिक ट्रेड युनियनलाई बाइपास गरेर बनाइने ऐन कानुन कत्तिको प्रभावकारी हुन्छ सोच्नुपर्छ । यो कर्मचारीको हितमा आउछ वा आउँदैन हामी अहिले नै भन्न सक्ने अवस्थामा छैनौं । जहाँसम्म हाम्रो कुरा छ । यही अवस्थामा आएको समायोजनका विधेयक प्रभावकारी हुन सक्दैन र यसले कर्मचारी वयवस्थापन गर्ने कुरामा उपयुक्त भूमिका खेल्छ भन्ने लाग्दैन । त्यसैले हामीले जति चासो दिएका छाैँ सरकारले हाम्रो सहभागितामा ध्यान दिएको छैन । यसमा धेरै आसावादी हुनपर्छ जस्तो लाग्दैन ।

कर्मचारी समायोजनका सवाल आधिकारिक ट्रेड युनियनको चलखेल बढी हुने गरेको आरोप लाग्ने गरेको छ वास्तविकता के हो ?
–पहिलो के हुन्थ्यो मलाई थाहा छैन म अध्यक्ष भएपछि त्यस्तो भएको छैन । यसमा अध्यक्षको नताले मैले कुनै दबाब दिए होला भन्ने लाग्दैन ।

सुविधा भएका र सुगम स्थानमा जान दबाब हुन्छ रे नि ?
–सुविधा वा सुगम भनेको के हो मैले बुझेको छैन ।

सुगम दुर्गम भनेको के हो तपाईंले नबुझेकै हो ?
–मैले त्यसो भन्न खोजेको होइन सामान्यतः रोल्पा, डोल्पा मनाङ जस्ता हिमाली र पहाडी जिल्लालाई दुर्गम भनिएको होला । के त्यहाँ सरकारी कर्मचारी छैनन् त ? त्यहाँ पनि सरकारी कर्मचारी बसेकै छन् । कर्मचारी सुविधाभोगी भए भनेर आरोप मात्र लगाउने गरिएको छ । भूगोलको हिसाबले हामी सुगम वा दुर्गम सबै ठाउँमा गएर काम गर्न तयार छौं । साथीहरू देशका सबै भागमा आफ्नो काममा लाग्नुभएको छ ।

तपाईं आफूचाहिँ जहाँ परे पनि गएर काम गर्न तयार हुनुहुन्छ ?
–म तयार छु, पुण्य ढकाल कहाँ जान मानेन भन्नुप¥यो । त्यत्तिकै आरोप लगाउन पाइँदैन । नेपालको जुनसुकै ठाउँमा गएर काम गर्न म तयार छु । नेतृत्वको हिसाबले राजधानी बस्नु पर्ला । तर, जानै तयार नभएको होइनौं र जान्न भनेको पनि छैन ।

सामान्य प्रशासन मन्त्रालयमा पदस्थापन भएको मान्छे किन गृह मन्त्रालयअन्तर्गत आएर बस्नुभएको ? 
–हाल मेरो दरबन्दी सामान्य प्रशासन मन्त्रालयमा नै हो । गृह मन्त्रलयमा हुँदै बढुवा भए । बढुवा भएपछि कागजी रूपमा पठाएको छैन नपठाउँदासम्म यहीँ काम गर्नुप¥यो भनेर बसेको हुँ । मैले सामान्यमा जान्नँ भनेको पनि छैन र यहीँ राख पनि भनेको छैन । जहाँसम्म सुविधाको कुरा छ सामान्य र गृह दुवै मन्त्रालय सिंहदरबारभित्र भएकोले उस्तै हो भन्ने लाग्छ । सुविधाको हिसाबले उस्तै हो केही फरक छैन ।

त्यसो भए तपार्इं आफ्नो पदस्थापना भएको स्थान सामान्यमा नगएर पाँच सय मिटरको दूरीमा रहेको गृहमा बस्नको कारण के हो ?
–यसमा सबै प्रस्ट हुनुपर्छ । अहिले म बसेको स्थान गृह मन्त्रालय अन्तर्गतको विपद् व्यवस्थापन केन्द्र हो । म यहाँ डलर खानाका लागि बसेको भन्ने आरोप निकै सुनेको छु । मैले के बापत भक्ता खाएँ वा खाने गरेको छु । पत्ता लगाउनुस् गृहमन्त्रालयमा बसेर सिडियोको सरुवामा पुण्यले पैसा खायो, ट्रेड युनियनलाई बेचेर पैसा कमायो भन्ने सम्मको आरोप आफ्नै साथीहरूबाट बेला–बेला सुनेको छु । मलाई आरोप लगाउने साथीहरूलाई आग्रह गर्न चाहन्छु । मेरोबारे लागेको आरोपअनुसार मैले कुन–कुन स्थानबाट सुविधा लिएको छु भनिदिनुस् । म आफैँलाई थाहा छैन, म बुभ्न र जान्न चाहन्छु कहाँ–कहाँ रहेछ मेरो सेवा सुविधा ।

वरिष्ठ र कनिष्ठ अधिकृतहरूलाई केका आधारमा कहाँ पठाउने भनेर राज्यले तोकेको वर्गीकरणमा तपाईंको हस्तक्षेप बढी हुने गरेको सुनिन्छ किन हस्तक्षेप गर्नुहुन्छ ? 
–सरुवाको विषयमा को कहाँ जान्छ भन्ने सामान्य विषय हो । चिने जानेको साथीले आएर लौन फलानालाई फलानो ठाउँमा सरुवा गर्नुप¥यो भन्यो भने मैले के कति कारणले सरुवा खोजेको जायज छ वा छैन बुझेर भन्नुपर्ने ठाउँमा भन्ने गरेको छु । तर, बेला नभएको र कनिष्ठ अधिकृतलाई वरिष्ठ अधिकृत जाने ठाउँमा पठाउन कुनै भूमिका खेल्ने गरेको छैन । सरुवा भनेको आवश्यकता र व्यावहारिकता सबै कुरा हेरेर गरिने मूल्यांकन पनि हो । यस्तो कुरामा मेरो कुनै निजी स्वार्थ वा आकांक्षा छैन । कसैले भनेको हो भने सबै मान्छे मेरो काम र भूमिकामा सन्तुष्ट नहुन सक्छन् उनीहरूले लगाएको आरोप । त्यसमा कुनै सत्यता छैन ।

तपाईंले आफ्ना नजिकका मान्छेलाई अध्यागमन विभाग जस्तो सबै क्षेत्रले अनुकूल ठाउँमा पठाउन दबाब दिने गर्नुहुन्छ रे त ?
–यस्ता आरोप नेतृत्वमा बसेको कारण आउन सक्छ । यस्ता आरोमा मैले धेरै आपत्ति मान्नुपर्छ भन्ने लाग्दैन । अध्यागमन विभाग भनेको गृह मन्त्रालय अन्तर्गतको एउटा विभाग हो । त्यो विभागमा जान कुनै पनि कर्मचारीले चाहना राख्नु नराम्रो होइन । जो पनि जान चाहन्छ । तर, यसमा मैले हस्तक्षेप गर्ने गरेको छैन । कसलाई कहाँ चित्त बुझ्दैन र यस्ता कुरा गर्नुहुन्छ मैले बुझेको छैन ।

जान चाहनेलाई पठाउने आधार चाहिँ के हो ?
–अध्यागमन विभागमा कसलाई पठाउने नपाठाउने मेरो क्षेत्राधिकारमा पर्दैन । कर्मचारीहरूको समस्या वा माग सम्बन्धित स्थानमा पु¥याउने मेरो दायित्व हो । त्यसलाई न्यायोचित रूपमा कार्यान्वयन गर्ने मैले होइन । त्यो आफ्नै निकाय छ, त्यसले हेर्छ आवश्यक पर्दा मैले सुझाव दिने हो । उसले आवश्यकता ठानेको योग्य मान्छे पठाउँछ यसमा म चासो राख्दिनँ ।

तपाईंले सुब्बासम्मको सरुवामा हस्तपक्षेप गर्नुभयो भन्ने आरोप छ नि ? 
–कुनै पनि कर्मचारीको विषयमा मलाई कसैले पनि सहयोग गर्नुप¥यो भनेर आउँदा मैले सम्बन्धित ठाउँमा भनिदिने हो । त्यो म आवश्यकता र अवस्था हेरेर जोसुकैबारे गर्ने गरेको छु । अध्यक्ष भएको नाताले मेरो दायित्व पनि हो । तर, मैले गरेको आग्रहमा निर्णय गर्ने स्थानमा बसेको मान्छेले कसरी गर्छन् वा वा विवेक पु¥याउँछन् त्यो जिम्मेवार निकायको कुरो हो । कहिलेकाहीँ अफ्टेरो परेको उमेर र भूगोलको हिसाबले काम गर्न गाह्रो छ । कोही घरपाएक वा एकै ठाउँमा धेरै समय बसेको हुन्छ त्यसताको हकमा म गम्भीर भएर लाग्छु । नैतिक रूपमा आफ्ना सबै कर्मचारीलाई सहयोग गर्नु मेरो दायित्व हो । आरोप लगाउनेले लगाउँदै गर्छन् ।

कर्मचारी सरुवाको विषयमा तपाईंले कनिष्ठलाई बेला भएको छैन भनेर रोक्न सक्नुहुन्न ?
–मैले भन्ने गरेको छु । कैयाैँ साथीहरू चिडिएका पनि छन् । यो कुरा पटक–पटक भनेको छु फेरि पनि भन्छु । केही समय अफ्ठेरो ठाउँमा बसेर मिहिनेत गर्नुस् है साथीहरू बेला भएको छैन सरुवा आवाश्यकता, अवस्था र व्यावहारिकता हेरेर न्यायोचित रूपमा हुन्छ । जसले जहाँ भन्यो त्यहीँ पठाउन कहीँ दबाब दिएको छैन । पालो सबैको आउँछ भनेको छु । कति आउँछन् मलाई अन्याय प¥यो भनेर । म बुझ्दै नबुझी पछि लाग्ने गरेको छैन ।

तपाईंले चढ्ने गरेको सरकारी गाडी कहाँबाट लिनुभयो ?
–गृह मन्त्रालयले दिएको हो । गृह मन्त्रालयमा यो गाडी त्यत्तिकै बसेको थियो । (सन २०१५ मा) दुई वर्ष पहिला टे«ड युनियन इन्टरनेसनल पब्लिक सर्भिसको अधिवेशन भएको थियो । त्यसैको प्रयोजनमा लागि यो गाडी लिएका थियौं । फेरि गाडी त्यत्तिकै बसेको थियो त्यत्तिकै बस्नुभन्दा प्रयोग गरौं भनेर युनियनको अध्यक्ष भएपछि गाडी उपयोग गरेको हुँ ।

पहिलाका अध्यक्ष त सरकारी गाडी चढेका थिएनन् नि होइन ? 
–पहिलाका अध्यक्षलाई आवश्क भएन होला र उहाँहरूले चढनुभएन । मैले आवश्यकता ठानें त्यत्तिकै थन्क्याएर राख्नुभन्दा प्रयोग गर्नु राम्रो लागेर चढेको हुँ । यसले मलाई काम गर्न सहजता भएको छ । यसमा अफ्ठ्यारो मान्नुपर्छ जस्तो लाग्दैन । मैले यसको दुरुपयोग गरेको छैन । मन नपर्ने मान्छेले के–के भन्छन् त्यसमा मैले ध्यान दिएको छैन र यसको पछि लाग्नुपर्छ भन्ने लाग्दैन ।

तपाईंलाई सरुवा, बढुवा, विदेश भ्रमण, इन्धन र चालक सहितको सरकारी गाडीको प्रयोग गरेको जस्ता कुरामा आरोप लाग्ने गरेको किन होला ?
–एउटा महत्वपूर्ण पदमा बसेको मान्छेप्रति आउने आरोप नौलो होइन । अझ नेपाली समाजमा यस्ता आरोप सस्ता नै छन् । जहाँसम्म कारणको कुरा हो । मसँग जल्नेहरूलेको हुन सक्छ । आफ्ना भित्रैका र बाहिरका धेरैले रिस डाहा गरेका छन् । यी आरोपहरू तिनै कुराको प्रतिकात्मक हुन सक्छ । यस्ता कुरा कहाँबाट कसरी आउन सक्छ मैले पनि केही बुझेको छु र बुझ्नुपर्ने पनि छ । जहाँसम्म विदेश भ्रमणका कुरा छ । अध्यक्षको नाताले अन्तर्राष्ट्रिय कार्यक्रमहरूमा जानु सामान्य हो मेरो ठाउँमा भए पनि जान्छ हिजो पनि गएकै हो । यो क्रम भोलि पनि चल्छ ।

त्यसोभए यी सबै आरोप निराधार हुन् ?
–सबै निराधार हुन् वा होइनन् मैलेभन्दा मेरा नजिक वा टाढा भएका मित्रहरूले सकारात्मक भएर इमानदारीपूर्वक हेर्नुपर्छ त्यहीँ देखिन्छ । यसमा म आफैंले आफ्नोबारे धेरै बोल्नु उचित नहोला । विस्तारै मैले धेरै कुरामा आफैँलाई समीक्षा गर्नुपर्ने पनि देखेको छु । मेरा नजिकमा मित्रहरूबारे पनि फराकिलो हुनुपर्छ भन्ने लागेको छ । जहाँसम्म पदीय दुरुपयोगका कुरा छन् त्यसमा यो–यो ठाउँमा भयो भनेर आएँ भने म सबै कुरामा जवाफ दिन तयार छु । तर, मन परेन भन्दैमा अनावश्यक हौवादारी कुरा गरेर हुँदैन । यथार्थ कुरा गर्नुपर्छ ।

यति धेरै आरोप लागिरहँदा आफ्ना साथी र अरूलाई पनि मिलाएर जान गाह्रो हुँदैन ? 
–म यी सबै कुरामा धेरै चिन्तित छैन । यसैमा अल्झिएँ भने काम गर्न सकिँदैन । यहाँ पनि राजनीति छ । अरूसँग गर्ने राजनीति र आफ्नैसँग गर्नुपर्ने राजनीति यसमा पक्ष, विपक्ष आफ्ना अर्का हुन्छन् । नेतृत्वले ती सबै कुराको सामना गरेर जानुपर्छ । मेरो नाममा पनि कसैले बदमासी गरेको हुन सक्छ । त्यसबारे पनि मैले विचार गर्नुपर्छ । तर, आरोप लाग्यो भनेर म आत्तिएको छैन काम गर्दा यस्ता कुरा आइरहन्छन् भन्ने लाग्छ ।

अन्त्यमा केही भन्न चाहनुहुन्छ कि ? 
–मैले आफ्नो पदीय भूमिका निर्वाह गर्दा धेरैलाई मेरा कुरा चित्त नबुझेको हुन सक्छ । कतिपय विषयमा आरोपका लागि आरोप लागाउने काम पनि भएको छ । आउने आरोप प्रमाणसहित आओस् भन्ने मेरो आग्रह छ । तर, आएको आरोपमा आत्तिनुपर्छ भन्ने लागेको छैन । केही कुरा आफ्नै साथीहरूबाट पनि आएका होलान् भनेर मैले सहजै अनुमान लगाउन सक्छु । कस्ता आरोप आउँछन् त्यसैको आधारमा कहाँबाट आए होलान् भन्ने सहज हुन्छ । कैयाैँ आरोपले मलाई काम गर्न अझ प्रेरित गरेको छ । म कुनै पनि आरोपको सामना गर्न तयार छु ।

प्रतिक्रिया