अन्धविश्वासले जीवनभर अपांग

20137835_795987353892248_1682195746_oकाठमाडौं ३ साउन । बच्चामा उनी स्वस्थ्य र तन्दुरुस्त थिए । ४ वर्षको हुँदा उनलाई अचानक हनहनी ज्वरो आयो । बिस्तारै खुट्टा सुन्निँदै गए । नजिकमा उपचार गर्ने ठाउँ पनि थिएन र उपचार गर्नुपर्छ भनेर कसैले सल्लाह पनि दिएन । गाउँकै वैद्यलाई देखाउँदा काम्रो बाध्नुपर्ने सल्लाह दिए । अभिभावकको सहयोगमा काम्रो त बाँधियो तर खुट्टा सुन्निन ठीक भएन । रोग झन् बढ्दै गयो । सुन्निएको खुट्टा पाक्यो । काम्रोले बाँधेको जति ठाउँ पाकेपछि ४ वर्षीय यमलाल रसाइलीको दाहिने खुट्टा काट्नुपर्ने भयो । अन्धविश्वासले उनी ४ वर्षको उमेरमा अपांगता भएको व्यक्ति बन्नु प¥यो ।कैलालीको लम्कीमा जन्मेका ३९ वर्र्षीय यमलाल रसाइली आफु जन्मेको ४ वर्षमा अपांगता भएको बताउँछन् । गाउँमा औषधि उपचार गर्ने व्यवस्था थिएन यमलालले भने, ‘वैद्यको भरपर्दा खुट्टा गुमाउनु प¥यो ।’

म एक त अपांग त्यसमाथि दलित । आजभन्दा ३५ वर्षअघि कैलालीको टोलमा हिँड्दा मानिसहरूले ‘अपांग देखियो आज साइत परेन फर्केर जाउँ’ भनी कतिपटक बाटोबाट फर्केका तीतो अनुभव छ उनीसँग । त्यति मात्र होइन एक दिन विद्यालय जाँदै गर्दा उनी बाटोमा लडे । गाउँलेले सोधे, कता जान लागेको ? यमलालले उत्तर दिए, स्कुल हिँडेको । गाउँलेले जवाफ दिए, ‘दलितले किन पढ्नु प¥यो ? पढेर के हुन्छ र अपांगले पढेर के गर्छस् ?’ गाउँलेको त्यस्तो जवाफ सुनेपछि आजसम्म पनि उनी कहिल्यै स्कुल छिरेका छैनन् । उनले बरू बिस्तारै साइकल चलाउन कोशिस गरे । साइकलमा पोख्त हुँदै गएपछि उनलाई जिल्ला भ्रमण गर्न मन लाग्यो । उनले साइकलबाट नै ३७ जिल्ला घुमिसकेका छन् ।

त्यो पनि एउटा खुट्टाले साइकल चलाएर । २० वर्षदेखि साइकल यात्रामा रहेका यमलालले अहिलेसम्म ३७ वटा जिल्ला भ्रमण गरिसकेका हुन् । साइकल यात्राकै क्रममा ४ दिनमा साढे ४ सय किलोमिटर दुरी पार गरी लुम्बिनी पुगेको उनको अनुभव छ । तेस्रोपटक ०५० सालमा उनले मेचीदेखि महाकाली यात्राका क्रममा ३ हजार १ सय किमी दुरी पार गरेका छन् । कैलालीको लम्की नगरपालिकाको सहयोगमा अपांग चेतना समाज नामको संस्था बनाएको रसाइलीले बताए । उनी त्यस संस्थाको संस्थापक कोषाध्यक्ष हुन् । गत शनिबार साइकल सिटी पोखराले काठमाडौंमा साइकलिङ छ भनेर सन्देश पठाएपछि उनी काठमाडौंमा भाग लिन आएका हुन् । मैले अर्काको साइकल सहयोगमा आज २ हजार साइकलयात्री मध्ये भाग लिएको छु रसाइली भन्छन् ।

साइकल सिटी पोखराको अध्यक्ष प्रकाश बज्राचार्यले यिनलाई सन्देश प्रवाह गरेको भन्दै रसाइलीले आयोजकलाई धन्यवाद पनि दिए ।  रसाइली भन्छन् जो व्यक्तिले उनलाई ३५ वर्षअघि विभिन्न नाम दिएका थिए । ती व्यक्ति आज बाबु के छ, कस्तो आँटिलो केटा रहेछाैँ हाम्रो ठाउँको नाम गौरव बनायाैँ भनी विभिन्न बहानामा नजिक हुन आउँछन् । उनले सिटिभिटीअन्तर्गत कपडा कटिङको तालिमलिई २ वर्ष अगाडि कपडा पसल खोलेका छन् । अहिले उनले कपडा कटिङको तालिम दिँदै आएका छन् ।  यमलाल अपांगता भएका व्यक्तिहरूलाई सधैँ दृढ विश्वासका साथ अघि बढ्न सल्लाह दिने कुरा बताउँछन् । उनी भन्छन्, ‘म जस्तो एउटा अंग नभएको व्यक्तिले त धेरै जिल्ला पार गरेँ भने तपार्इं अपांगहरू एक जिल्ला पार गर्न किन डराउनु हुन्छ ।’ उनले भने, ‘म सम्पूर्ण अपांगलाई मिहिनेत गर्नुहोस् एकदिन अवश्य सफलताको शिखरमा पुग्न सक्नु हुनेछ भन्ने संदेश प्रवाह गर्न चाहान्छु ।’

प्रतिक्रिया