धसिंग्रेबाट आयुर्वेदिक तेल

कृष्ण ओझा

dhasingreपाँचथर । जिल्लाको लुंरूपा र सिदिन गाविसको लेकाली क्षेत्रमा त्यसै खेरगइरहेको वनस्पति धसिंग्रेबाट आयुर्वेदिक तेल उत्पादन गर्न थालिएको छ । पुनः प्रशोधन गरेर विभिन्न प्रकारको औषधि बनाउन सकिने धसिंग्रेको तेल बनाउन थालिएको हो ।

महँगोमा प्रतिलिटर २ हजार रूपैयाँमा बिक्ने थाहा पाएपछि इलाम माइमझुवा–७ का लीलाबहादुर गुरुङले यस्तो तेल उत्पादन गर्न थालेका हुन । जडीबुटीजन्य पेसा बारे ज्ञान लिन दोलखा पुग्दा त्यहाँ धसिंग्रेको तेल बनाएर बेचेको देखेपछि लीलाबहादुरले पाँचथरमा सोही सिको गरेका हुन् । कच्चा पदार्थ पर्याप्त प्राप्त हुन सक्ने लुंरूपा र सिदिनमा उत्पादन केन्द्र खोलेर धसिंग्रे तेल बनाउन थालिएको हो । हाल काठमाण्डौ गोकर्णेस्वर स्थितको रेमन इन्टरप्राइजेजले किनिरहेको धसिंग्रे तेल दुई लाख ४० हजार रूपैयाँ बराबरको एक सय २० लिटर उत्पादन गरिसकिएको बताइएको छ । सन्चो, सेन्ट, आयोडेक्स मलम र मालिस तेलमा आयुर्वेदिक औषधी मिसाउने उपयोगका लागि धसिंग्रेको तेल विक्ने गरेको बुझिएको छ ।

लीलाबहादुरले १० लाख रूपैयाँँ लगानी गरेर दुई ठाउँबाट स्थानीय सामुदायिक वनसँगको सहकार्यमा तेल निकाल्न थालेका हुन् । सिदिनमा बुढीथाम जडीबुटी तथा तेल उत्पादन केन्द्र र प्राङ्बुङ्मा मकैबारी ठूलो डुँडे सामुदायिक जडीबुटी संकलन केन्द्र मार्फत तेल उत्पादन गर्ने काम भइरहेको हो ।

रक्सी पार्ने तरिकाले भट्टीमा लगाइएको धसिंग्रेको पातको पसिनाबाट तेल उत्पादन गर्ने गरिएको सिदिन–३ का मजदुर कृष्णकुमार गुरुङले बताएका छन् । प्रत्येक वर्ष पाँच प्रतिशतले वृद्धि हुने गरि बुढी थाम सामुदायिक वनलाई ५० हजार र मकैवारी ठूलो डँुड सामुदायिक वनलाई ८० हजार रोयल्टी दिने गरी तेल उत्पादन केन्द्र खोलिएको हो । तेल उत्पादन केन्द्र सञ्चालनमा आएपछि स्थानीय १८ जनाले रोजगारी समेत पाएका छन् । धसिंग्रेको तेल महँगोमा बिक्ने भएपछि यसको व्यावसायिक रूपमा खेती गर्न सयांै स्थानीय कृषक उत्साहित भएका छन् । यसको खेती गर्न गराउन प्रोत्साहित गरिरहेको सामुदायिक वन उपभोक्ता महासंघ पाँचथर अध्यक्ष देविप्रसाद न्यौपानेले बताएका हुन् ।

जंगलमा अनावश्यक र अनुपयोगी पोथ्राको रूपमा उम्रीएको मानेर डँढेलो लगाएर मास्ने गरिएको धसिंगे्रको मूल्य थाहा पाएपछि यसले हिजोआज स्थानीयबाट संरक्षण पाउन थालेको छ । १५ सयदेखि २२ सय मिटर उचाइ बीचमा हुने धसिंग्रे पाँचथरको मेमेङ, च्याङ्थापु, फलंैचा, रानीटार गाविसमा पनि खेती विस्तार गर्न सकिने देखिएको छ । धसिंग्रेको खेती विस्तार गरेर यसको तेल उत्पादन गर्ने उद्योग उद्यम प्रवद्र्धनमा सरकारले पनि लगानी गरे सयौं स्थानीयको लागि आयआर्जन गर्ने माध्यम खुल्ने देखिएको छ । यसबाट रोजगारीसमेत सिर्जना हुने देखिन्छ ।

प्रतिक्रिया