गल्तीसँग नडराउनुहोस् : शुन्यबाट अर्बपति ज्याकमा

2

चीन । चीनका चर्चित धनाढ्य ज्याकमा उनीसँग अहिले ३० अर्ब अमेरिकी डलर बराबरको सम्पत्ति छ । ज्याक माले आफ्नो घरको फ्ल्याटबाट सुरु गरेको अलिबाबाका प्रमुख कार्यकारी अधिकृत ज्याकमाले भनेका थिए, मैले सुरुवात गरेको अलिबाबा कम्तीमा पनि १०२ वर्षको बनाउने चाहना छ । सन् १९९९ मा हांगझाउ जेझीयांगमा आफ्नै अपार्टमेन्टबाट सुरुवात गरेको अलिबबा कम्तीमा सन् २१०१ सम्म सञ्चालन गर्ने उनको लक्ष्य छ । उनको यो सपना पुरा होला नहोला अहिले नै भन्न सकिन्न तथापि यो भने निश्चित छ कि १५ औं वर्ष प्रवेश गर्नै लाग्दा चिनियाँ अनलाइन रिटेल बजारको ९० प्रतिशत हिस्सा अलिबाबाको भइसकेको छ । यसबाट के स्पष्ट हुन्छ भने अलिबाबा चिनियाँमाझ अत्यधिक सफल ब्राण्डको कम्पनी हो । हामी अत्यन्तै भाग्यमानी कम्पनी हौं, माले चाइना डेलीको एसिया विक्लीसँग भने, र यो भाग्यको ठूलो हिस्सा इन्टरनेट युगसँग सम्बन्धित भएर प्राप्त भएको उनले बताए । उनले भने, मैले यसलाई अधिकतम उपयोग गर्न सक्षम भएँ ।

उनले थपे, औद्योगिक युगमा धनी बन्न बाबुबाजे नै धनी हुन जरुरी छैन् । न उनका बाबु धनी थिए न परिवार नै धनी थियो । उनी आफैँ सामान्य आर्थिक स्थितिबाट गुज्रिएको परिवारमा हुर्किएका हुन् । त्यस्तो व्याक्तिले एकदिन यसरी खर्बपती हुने गरी सफलता प्राप्त गर्लान् भनेर कसैले सोचेकासम्म थिएनन् । स्कुले जीवनमा न्यून अंक हासिल गर्थे तर अंग्रेजी विषयमा भने उनी सानैदेखि अब्बल थिए उनले पछि गएर अंग्रेजी शिक्षकको रुपमा काम पाए । सन् १९९४ मा उनी उद्यमी भएर अमेरिका भ्रमणमा गए । उनको अंग्रेजी विषयप्रतिको रुचि र अब्बलताले नै उनका लागि सुनौलो जीवनको ढोका खोलिदियो । सन् २००० मा दिएको छ मिनेट लामो प्रस्तुतिबाट प्रभावित भएपछि जापानको सफ्ट बैंक कर्पोरेसनले मालाई दुई करोड डलर बराबरको लगानी दियो । कुनै समय ज्याकले अंग्रेजी पढाएबापत महिनामा जम्मा १२ डलर कमाउने गर्दथे । त्यतिबेला पनि उनी आफ्नो पारिश्रमिकप्रति खासै असन्तुष्ट थिएनन् । कामका क्रममा उनी निरन्तर सफल भएका पनि होइनन् । कैयन पटक उनले असफलता पनि भोग्नुपरेको थियो । यहाँ ज्याकले जीवनमा भोगेका आरोह अवरोहका श्रृंखलाको चर्चा गरिएको छ ।

स्कुलदेखि कलेजसम्म सधैँ फेल
स्कुले जीवनमा पढाइका हिसाबले ज्याक त्यति अब्बल विद्यार्थी होइनन् । उनी प्राथमिक तहमा दुईपटक फेल भएका थिए । माध्यमिक तहमा ३ पटक र कलेजको इन्ट्रान्स परीक्षामा दुईपटक फेल भएका थिए । तर यसरी फेल हुनेमा ज्याक एक्लै कहाँ छन् र । अल्बर्ट आइन्स्टाइन, विन्स्टन चर्चिल, अब्राहम लिन्कन जस्ता विश्वचर्चित हस्तीहरु पनि पढाइमा पटक–पटक फेल भएका थिए ।

१ सय २० पुर्णाकंमा १ प्रतिशत अंक ल्याए
परीक्षामा फेल हुनु एउटा कुरा हो । तर कलेजको प्रवेश परीक्षामा १ प्रतिशतभन्दा पनि कम अंक ल्याउनु पीडादायी कुरा नै हो । यस्तो किन भएको थियो भने तयारीका लागि उनीसँग आवश्यक समय नै थिएन ।ज्याक भन्छन्, ‘मेरो गणित राम्रो थिएन, र मैले अहिलेसम्म कहिल्यै पनि म्यानेजमेन्टको अध्ययन गरेको छैन । साथै अहिलेसम्म पनि म एकाउन्टको रिपोर्ट पढ्न सक्दिनँ ।’ तर अर्बपति हुनको लागि उनलाई गणितमा राम्रो हुनै परेन । यति मात्र होइन, उनले आफ्नो बाल्यकालमा कम्प्युटर भन्ने शब्दसमेत सुनेका पनि थिएनन् होला । हार्भर्ड विश्वविद्यालयमा १० पटकसम्म अस्वीकृत ज्याक १० पटकसम्म अमेरिकाको हार्भर्ड विश्व विद्यालयबाट रिजेक्टेड भएका थिए । तर उनले निवेदन दिन भने छाडेन् । उनी भन्छन्, ‘हामीमा हुनुपर्ने महत्वपूर्ण गुण भनेकै धैर्यता हो ।’

३० वटा जागिरको अन्तर्वार्तामा फेल
उनले स्नातक तहको पढाइ पूरा गरेपछि ३० वटाभन्दा बढी स्थानमा रोजगारीको लागि आवेदन दिएका थिए । तर हरेक अन्तर्वार्तामा उनलाई आयोग्य भन्दै फिर्ता पठाइएको थियो ।तर, उनले आफ्नो आश भने मारेका थिएनन् । उनले प्रहरी अधिकृत हुनको लागि पनि आवेदन दिएका थिए । तर उनलाई प्रहरी अधिकृतको जाँचमा एक दिन पनि राखिएन । उनलाई तीन शब्द मात्रै भनेर निकालिएको थियो ‘तिमी योग्य छैनौ ।’

केएफसीको अन्तर्वार्ता दिने २४ जनामा उनी एक्लो फेल
केएफसीले कामदारको खोजी गरेको थियो । त्यसका लागि ज्याक पनि अन्तर्वार्ता दिन गएका थिए । अन्तर्वार्ता दिनेमा उनीसँगै २४ जना थिए । २४ जनामा २३ जनालाई केएफसीले छान्यो । अन्तरर्वार्तामा उनी मात्रै फालिए । सिलिकन भ्यालीलाई अलिबाबामा आकर्षितगर्न असफल अलिबाबाको विजनेश थालेपछि उनी पटक–पटक असफल भएका थिए । तीन वर्षसम्म त अलिबाबा नाफामा जान नै सकेको थिएन । उनी भन्छन् ‘मैले अलिबाबा सञ्चालनका क्रममा १ हजार १ वटा गल्ती गरेको छु ।’
१८ जना पार्टनरमा कार्यकारी बन्ने क्षमताका कोही भएनन्

सिइयोको एकै निर्णयले कम्पनीमा ठूलो हलचल र परिवर्तन ल्याउन सक्छ । उनले १८ वटा पार्टनरलाई लिएर अघि बढेका थिए । तर कोही पनि म्यानेजरभन्दा माथि उठ्न सकेनन् । उनले आफुले गरेको अहिलेसम्मकै सबैभन्दा ठूलो गल्तीको रुपमा भन्छन् ‘अँध्यारा दिनहरुबाट मैले केही सिकेँ, कल्पनाशीलता, भिजन र मूल्य भएको टिम बनाउनुपर्छ ।’
लहडी स्वभाव
बेलायतको डेली मेल पत्रिकाले उनलाई लहडी भनिदियो । विभिन्न सार्वजनिक स्थानमा उनका उपस्थिति अस्वाभाविक देखिए । तर पनि उनको आनी–बानी परिवर्तन भएको छैन । उनी अर्थात् ज्याक मा विश्वको सबैभन्दा ठूलो ई (कमर्स कम्पनी अलिबाबा ग्रुप होल्डिङ्सका संस्थापक ५० वर्षका ज्याक सामान्य परिवारबाट आएका हुन् । त्यसैले उनको स्वभाव जस्ताको त्यस्तै कायम छ । ज्याकको यही स्वभावले विभिन्न समय सञ्चारमाध्यमको ध्यान तान्ने गरेको छ । अमेरिकी टेलिभिजन प्रसारण कम्पनी सीबीएसले एक वर्षअघि उनको त्यस्तै भिडियो सार्वजनिक गर्यो ।

गृहनगरमा लिइएको भिडियोमा ज्याक एक रक गायकजस्ता देखिएका छन् । गायककै जस्तो पहिरनमा ७ सयभन्दा बढी कर्मचारी अघि उनी प्रस्तुति दिइरहेको उक्त भिडियोमा देख्न सकिन्छ । ज्याकका अनुसार यस्तो काम प्रमुख कार्यकारी अधिकृतका लागि स्वभाविक होइन । तर कर्मचारीको खुशी बढाउन र आफ्ना शुभेच्छुकसँग भेट्नका लागि यो उत्तम विकल्प पनि हो । उनलाई लेदर ज्याकेट, सनग्लास, नाकमा ज्वेलरी, सेतो विगसहित पंक लुकमा कम्पनीको वाषिर्कोत्सवमा पनि देखिएको छ । यही पहिरनमा उनले कर्मचारीसँग अन्तरक्रिया पनि गरेका छन् । सामान्य कर्मचारीको विवाहदेखि अन्य सामाजिक कार्यमा समेत उनको उपस्थिति देखिने गर्छ ।

गल्ती नै ठूलो पाठ
उनी भन्छन् ( ‘गल्तीनै ठुलो पाठ हो जीवनमा । ‘२० वर्षको उमेरसम्म अध्ययन गर्नुहोस् अनी २५ वर्षको उमेरसम्म धेरै गल्ती गर्नुहोस्, आफ्नो जीवनको अनुभव साट्ने क्रममा ज्याकले भने – ‘गल्ती सँग नभाग्नुहोस्, हरेक गल्तीमा सम्भावना खोज्नुहोस्, ।’ ३० वर्षको उमेरमा सानो कम्पनीबाट काम शुरु गर्नु राम्रो हुने ज्याकको भनाइ छ । सानो कम्पनीमा धेरै थरी काम गर्ने मौका मिल्छ भन्ने ज्याकको बुझाइ छ ।

अंग्रेजी सिक्ने सौख
ज्याकका बाबुआमा पारम्परिक बाजागाजा बजाएर कथा सुनाउँदै हिँड्ने व्यक्ति थिए । सानै उमेरमा अंग्रेजी सिक्ने सौख चढेपछि ज्याक हरेक बिहान ४५ मिनेट साइकल चढेर एउटा होटलमा पुग्थे । त्यहाँ आएका विदेशीसँग अन्तरक्रिया गर्दै उनले अंग्रेजी सिकेका हुन् । विदेशी पर्यटकलाई निःशुल्क नजिकैका स्थानमा घुमाएर उनले निःशुल्क अंग्रेजी सिक्न थालेका थिए । प्रवेश परीक्षा फेल भए पनि उनले प्रयास जारी राखेर कलेज भर्ना भई १९८८ मा अंग्रेजी विषयमा स्नातक अध्ययन पूरा गरेका थिए ।

३३ वर्षको उमेरमा मात्र पहिलो पटक कम्प्युटर
ज्याकले अमेरिकामा रहेका साथीको सहयोगमा चिनियाँ कम्पनीको वेबसाइट बनाएर काम थालेका थिए । ’जुन दिन हामी इन्टरनेटमा जोडियौं त्यो दिन मैले मेरा साथी र टिभीका पत्रकारलाई घरमा बोलाएको थिएँ ( डायलअप कनेक्सनबाट इन्टरनेट चलाएका उनले भनेका छन् ’ साढे तीनघण्टा पर्खिएपछि बल्ल आधा पेज खुल्यो, हामी बसेर टिभी हेर्न, पिउन र तास खेल्न थाल्यौं । तर म ज्यादै खुशी थिएँ । मैले इन्टरनेट छ भन्ने कुरा पाहुनालाई देखाउन सकें ।’ ३३ वर्षको उमेरमा मात्र पहिलो पटक कम्प्युटर चलाउन पाएका ज्याक अहिले त्यसकै माध्यमबाट अर्बौंको कारोबार गरिरहेका छन् । १९९५ मा ज्याकले यल्लोपेजेज नामक कम्पनी स्थापना गरे । जसलाई चीनको पहिलो इन्टरनेटमा आधारित कम्पनी पनि भनिन्छ । त्यसपछि १९९९ सम्म उनले चिनियाँ सरकारका लागि सूचना प्रविधि कम्पनीमा काम गरे । १९९९ मा खोलिएको अलिबाबा अहिले ७ करोड ९० लाखभन्दा बढी ग्राहकलाई विभिन्न मुलुकमा सेवा दिइरहेको छ ।

प्रतिक्रिया