गोर्खाल्यान्ड होइन मधेसप्रति चिन्तन गरौँ

इन्डियन आइडल, २००७ को फाइनलमा दार्जिलिङका प्रशान्त तामाङ र अमित पल भिडिरहँदा तामाङका लागि भोट पठाउन भनेर नेपालका काठमाडौंलगायत देशका अधिकांश सहरहरूमा पैसा संकलन गरियो । त्यसबेला नेपाली मूलका प्रशान्तप्रति विश्वभरि छरिएर रहेका नेपालीहरूले देखाएको सदाशयताको मद्दतले उनले सो प्रतियोगिता जिते । भारतीय भए पनि नेपाली मूलको भएकै कारण उनलाई नेपालीहरूले खुलेरै सहयोग गरे । नेपाल र दार्जिलिङबीचको भाषिक, सांस्कृतिक र सांगीतिक सम्बन्धको एक ज्वलन्त उदाहरण थियो त्यो । आज ठीक १० वर्षपछि नेपाली र नेपालीभाषी भारतीयबीचको सामीप्यता र भिन्नताको विषय पेचिलो रूपले अगाडि आएको छ । यसको पछाडि भारतमा पटकपटक उठान र बैठान हुँदै गरेको छुट्टै गोर्खाल्यान्ड राज्यको आन्दोलन रहेको छ । आफ्नो मुलुकमा छुट्टै राज्य मागेर आन्दोलन गर्न पाउनु दार्जिलिङवासीको अधिकारको कुरा हो ।

नेपाल र नेपालीहरूका निम्ति यो सरोकारको विषय हुँदै होइन । कुनै समय नेपालको भूभाग रहेको कारणले नेपालीहरूलाई सो भूमिप्रति चासो रहनु स्वभाविक भए तापनि त्यसपछिका सन्धि, सम्झौता र विकसित राजनीतिक घटनाक्रमको कारणले सो क्षेत्र आज भारतकै एक भूभाग हो र त्यहाँका जनता भारतीय हुनुमै गौरव गरिरहेको साश्वत सत्य हो । त्यसो भए नेपालले सो आन्दोलन र क्षेत्रको विषयमा किन बेकारमा टाउको दुखाउने भनेर प्रश्न उठ्न सक्छ । निश्चय नै नेपाललाई भारतमा भइरहेको प्रदर्शनप्रति कुनै लेनादेना छैन तर अलग गोर्खाल्यान्ड मागिरहँदा गोर्खाल्यान्ड शब्दको प्रयोगको विषयमा सामाजिक सन्जाल विभाजित भएको छ । त्यसैले यस विषयमा प्रष्ट हुनु जरुरी छ । गोरखा जिल्लाबाट पृथ्वीनारायण शाहले एकीकरण थालेदेखि त्यस एकीकरणमा सहभागी सेनाहरू गोर्खाली कहलिन पुगे । उनले एकपछि अर्को गर्दै सफलता हात पार्दै गएकाले गोर्खाली सेना विश्वभरि प्रख्यात हुन गए ।

त्यही बहादुरीले गर्दा नै बेलायतको तर्फबाट विश्वयुद्धमा समेत गोर्खालीको सहभागिता रहेको थियो । त्यसको निरन्तरता स्वरूप हालसम्म पनि नेपालीहरू बेलायती सेनामा बर्सेनि भर्ती हुने गर्छन् । बेलायतमा मात्र नभएर भारतमा समेत गोर्खा रेजिमेन्टको तर्फबाट नेपालीहरू सेनामा सामेल छन् । यसमा केही मात्रामा दार्जिलिङका युवाहरू पनि छन् । यसरी हेर्दा गोर्खाली राष्ट्रियता पूर्ण रूपमा नेपालको हो । समयक्रममा फौजमा रहँदा केही गोर्खालीहरू विभिन्न देशमा छरिन पुगे र त्यहीँ स्थायी बसोबास गर्न थाले । यसो भनिरहँदा अर्को देशको नागरिकता लिइसकेका नेपालीहरूले आफूलाई गोर्खाली भन्न पाउँदैनन् र गोर्खा शब्दको पेटेन्ट राइट नेपालसँग मात्र छ भनेर दम्भ देखाउन किमार्थ जरुरी छैन । नेपाली सांगीतिक क्षेत्रको निम्ति अम्बर गुरुङ, गोपाल योञ्जन, अरुणा लामा, शान्ति ठटाल, विपुल क्षेत्रीलगायत भारतीयले निकै ठूलो गुन लगाएका छन् । साहित्यिक क्षेत्रमा सूधपा, इन्द्रबहादुर राई, पारिजातलगायत थुप्रै हस्तीहरू आजीवन लागेकै हुन् । यसरी हेर्दा भूगोलभन्दा माथि उठेर स्थानीयबीच भावनात्मक सम्बन्ध रहेको छ । राजनीतिक रूपले भने अलगअलग दुई राष्ट्रले एकअर्काको आन्तरिक मामिलामा चासोे नदिएकै बेस हुन्छ ।
नेपाल, भुटान, बंगलादेशसँग सिमाना जोडिने भएकाले पनि चिकेन्स नेक मानिने यो क्षेत्र निकै नै संवेदनशील क्षेत्र हो । त्यसकारण त्यहाँका उत्तारचढावका केही बाछिटाहरू नेपालसम्म आउन सक्छन् । यस परिस्थितिमा नेपालले खेल्न सक्ने भूमिका भनेकै तटस्थ रहनु हो । नेपालीहरूले पनि सामाजिक सन्जालमा भारतीयहरूसँग तल्लो स्तरमा गिरेर मारमुंग्री गर्नुको कुनै तुक छैन । हाम्रा आफ्नै मधेसीहरूलाई विश्वासमा लिएर संविधान कार्यान्वयनतर्फ लाग्नु नै मुलुकका लागि हितकर हुनेछ । सिक्किम, दार्जिलिङका भारतीयलाई नेपाली देख्ने तर जनकपुर र वीरगञ्जका मधेसीहरूलाई भारतीय देख्ने दृष्टिकोण भएको दुई÷चार जना मानिसका लागि यो प्रकरण दह्रिलो झापड भएको छ ।

अतः हामीले यसबाट के शिक्षा लिन सक्छौँ भने राष्ट्रियताप्रति कुनै पनि सम्झौता हुन सक्दैन । उनीहरू भारतीय हुनुमा गर्व गर्छन् भने हामीलाई नेपाली हुनुमै गर्व छ । समान भाषा, संस्कृति भए पनि उनीहरू भारतीय नै हुन् र हामी नेपाली नै हौँ । त्यसकारण उनीहरूको नितान्त आन्तरिक विषयमा हामी पक्ष या विपक्षमा उभिनु हाम्रै लागि प्रत्युत्पादक हुन सक्छ । बरु हाम्रो सम्पूर्ण जोडबल आउँदै गरेको चुनावसहित अन्य निर्वाचनलाई सफलतामा पु¥याएर मुलुकलाई विकासको बाटोतर्फ लाने हुनुपर्छ । यसैमा हामी सबैको भलो छ ।

प्रतिक्रिया