नयाँ बिमा कम्पनी ः अवसरै अवसर

xinsurance,

काठमाडौं ९ असार । एसएलसी पास भएकालाई स्वरोजगार भएर कमाउने अवसर आउँदै छ । त्यो पनि पार्टटाइम गरेर महिनाकै एक लाख रुपैयाँ सजिलै कमाउन सकिन्छ । तर, त्यसका लागि ‘मार्केटिङ स्किल’ भने हुनुपर्छ । बिमा समितिले १० वटा जीवन बिमा कम्पनीलाई सञ्चालन अनुमति दिएको छ । बिमा कम्पनीको व्यापारको माध्यम हुन् अभिकर्ता । बिमा अभिकर्ताको तालिम लिएर बसेकालाई नयाँ खुल्ने कम्पनीमा कमाई गर्ने अवसर खुलेको छ । नेसनल लाइफ इन्स्योरेन्सका उपमहाप्रवन्धक सुरेशप्रसाद खत्री नयाँ बिमा कम्पनीले थप स्वरोजगारीको बाटो खोल्ने बताए । ‘नयाँ कम्पनी आउँदा बिमा अभिकर्ताका लागि अवसर खुलेको छ । यो पेसामा लागेका व्यक्तिको आम्दानीको सीमितता हुँदैन’, उनले भने, ‘अहिले राम्रो गर्नेले मासिक १५ लाख रुपैयाँसम्म कमाइ गरिरहेका छन् ।’ बिमा गराएवापत अभिकर्ताले कम्पनीबाट इन्सेन्टिभ र कमिसन आर्जन गर्न सक्छन् । बिमा गरेवापत सुरुमा कमिसन पाउँछन् त्यसपछि बिमकले बिमा गराएको आधारमा इन्सेन्टिभ पाउने भएकोले आम्दानी भन्न नसकिने खत्रीले बताए ।

बिमा अभिकर्ता अहिले भइरहेका कम्पनीमै अपुग छन् । नयाँ आउने कम्पनीले भइरहेका अभिकर्ताले तान्नेदेखि फ्रेसलाई तालिम दिएर अभिकर्ता बनाउनेसम्म गर्नुपर्ने अवस्था छ । अभिकर्ता तयार पार्न पनि बिमा समितिले छुट्टै नियम बनाएको छ । बिमकले सञ्चालन गर्ने बिमा अभिकर्ताको तालिम निर्देशिका २०७२ अनुसार बिमा कम्पनीलाई अभिकर्ता चाहिएमा कम्पनी स्वंयले अभिकर्तालाई तलिम दिन पाउने व्यवस्था गरेको छ । तर, बिमा अभिकर्ताको तालिम सञ्चालन गर्नुपरेमा वार्षिक तालिम कार्ययोजना सञ्चालक समितिबाट अघिल्लो आर्थिक वर्षमा स्वीकृत गराउनुपर्ने व्यवस्था गरिएको छ । यो आधारमा नयाँ आएका बिमा कम्पनीले यो आवमा अभिकर्ताको तालिम कार्ययोजना सञ्चालक समितिबाट स्वीकृत गर्नेछन् र आगामी आर्थिक वर्षमा तालिम दिन सक्नेछन् ।

निर्देशिकामा प्रत्येक तालिम कक्षामा एक पटकमा ५० जना सम्मलाई तालिम दिन पाइने व्यवस्था छ । तालिम कम्पनीले दिए पनि प्रमाणपत्र भने समितिले दिन्छ । पेसागत बिमा अभिकर्ता संघका अध्यक्ष नन्दप्रसाद तिवारीका अनुसार एक कम्पनीमा तालिम लिएको अभिकर्ताले अर्को कम्पनीमा अभिकर्ताको काम गर्न पाइँदैन । समितिबाट तालिम लिएका अभिकर्ताले भने जुनसुकै कम्पनीको अभिकर्ताको काम गर्न पाउँछन् । १० वटा नयाँ कम्पनी आउँदा बिमा अभिकर्तालाई सजिलो नहुने उनले बताए ।

‘पुराना स्थापित कम्पनीको भन्दा नयाँ आउने कम्पनीको बोनस रेट कम हुने भएकोले बिमितलाई मनाउन गाह्रो हुन्छ’, तिवारीले भने । बिमा समितिले वर्षमा पाँच पटक ५० जनाको दरले अभिकर्ताको तालिम दिने गरेको समितिका कार्यकारी निर्देशक श्रीमान् कार्कीले बताए । ‘हामीले सबै बिमा कम्पनीलाई पुग्ने अभिकर्ता दिन सक्दैनौ । हामीले निर्देशिका नै बनाएर बिमा कम्पनीलाई नै अभिकर्ताको तालिम दिन पाउने व्यवस्था गरेका छौँ, उनले भने, नयाँ आउने कम्पनीले पनि अभिकर्ताको तालिमको लागि अनुमति मागेमा दिनेछौँ ।’ अभिकर्ताका लागि न्यूनतम शैक्षिक योग्यता एसएलसी पासलाई तोकिएको छ । तर, उनीहरू बिमा गराउन उत्प्रेरणा दिने आर्थिक सल्लाहकार भएको हुँदा विशेष खुबी चाहिने नेपाल लाइफ इन्स्योरेन्सका सिइओ विवेक झा बताउँछन् । विश्वमा नै राम्रा भनिएका देशका जीवन बिमा कम्पनीले कम्तीमा ७० प्रतिशत जीवन बिमा अभिकर्तामार्फत हुने गरेको उनले बताए ।

प्रतिक्रिया