मध्य अफ्रिकी गणतन्त्रमा धार्मिक हिंसा, सयबढीको मृत्यु

africaएजेन्सी, ८ असार । मध्य अफ्रिकी गणतन्त्रमा फैलिएको पछिल्लो धार्मिक हिंसामा त्यहांको पूर्वी नगर ब्रीआमा झण्डै एकसयजनाको ज्यान गएको अधिकारीहरुले बताएका छन्।

दर्जनौं अन्यलाई गोली लागेको छ र तिनीहरुको उपचार भैरहेको छ । सरकारले विद्रोही समूहहरुसंग शान्ति सहमतिमा हस्ताक्षर गरे लगत्तै मंगलबारदेखि पछिल्लो भिडन्त शुरु भएको थियो।  मध्य अफ्रिकी गणतन्त्रमा पछिल्लो हिंसा विशेषतः मुसलमान सेलेका विद्रोहीहरु र मुख्यतया इसाईहरु रहेका बालाका–विरोधी मिलिसियाबीचको भिडन्तपछि चर्किएको बताइएको छ।

हालैका महिनाहरुमा हिंसामा देखिएको वृद्धिका कारण ब्रीआ नगरमा विशेष असर परेको छ। मंगलबारदेखि शुरु भएको भिडन्तपछि राजधानी बान्गुईबाट उत्तरपूर्वमा रहेको सो नगरका मेयरले आफूले सडकमा शवहरु यत्रतत्र रहेका देखेको बताएका छन्।

त्यहांको अवस्था अझै निकै अस्थिर रहेकाले हिंसाको पूर्ण विवरण आउन अझै केही समय लाग्न सक्छ। रोममा सोमबार हस्ताक्षर भएको शान्ति सम्झौतामा तत्काल युद्धविरामको प्रावधान पनि रहेको थियो।

हमलाहरु रोकेर सशस्त्र समूहहरुलाई पनि राजनीतिक प्रकृयामा समावेश गराउने उद्देश्यका साथ त्यस्तो सहमतिको प्रयास गरिएको थियो। पत्रकार जेम्स कोप्नल भन्छन्, ‘सरकारले विद्रोही समूहहरुसंग शान्ति सहमति गरेको एक दिन पछि नै भिडन्त चर्किएको छ जसले देशमा विग्रंदो सुरक्षा अवस्थालाई चित्रित गर्दछ।’

सन् २०१३ मा राष्ट्रपतिलाई पदच्यूत गरिएयता मध्य अफ्रिकी गणतन्त्रमा भएको हिंसामा हजारौंको मृत्यु भएको छ भने लाखौं विस्थापित भएका छन्।

प्रतिक्रिया