विश्वमा शरणार्थीको संख्या बढ्दै

जेनेभा ६ असार । विश्वमा आन्तरिक तथा बाह्य रूपमा विस्थापित हुनेको संख्या दिनप्रतिदिन बढ्दो रूपमा रहेको छ ।  सन् २०१६ को अन्त्यसम्मको तथ्यांक हेर्दा विश्वका विभिन्न देशबाट आन्तरिक तथा बाह्य रूपमा विस्थापित भएर शरणार्थी बन्नेको संख्या ६ करोड ५६ लाख पुगेको छ ।  शरणार्थीसम्बन्धी संयुक्त राष्टसंंघीय उच्चायोगले दिएको तथ्यांकमा सो कुरा उल्लेख गरिएको छ । सो निकायले विश्वमा पछिल्लो समयमा फेरि विस्थापित हुनेको संख्या बढ्दै जानुलाई खतराको संकेतका रूपमा लिएको छ ।  सोमबार संयुक्त राष्ट्रसंघले सार्वजनिक गरेको प्रतिवेदनमा सन् २०१६ मा देखिएको यो उच्च संख्यालाई अहिलेसम्मकै सबैभन्दा धेरै भनिएको छ । उक्त निकायका प्रमुख फिलिप ग्रान्डीले भने, ‘हामीले यस विषयमा तथ्यांक राख्न सुरु गरेदेखि नै सबैभन्दा धेरै विस्थापित भएको यो नै पहिलोपटक हो ।’
विश्व शरणार्थी दिवसका अवसरमा संकलन गरिएको यो पहिछल्लो तथ्यांक हो । यसरी हेर्दा पछिल्लो समयमा विश्वमा विस्थापितको संख्या विस्फोटक रूपमा बढ्दो रूपमा देखिएको छ ।  तथ्यांकअनुसार सन् २०१६ मा मात्र विश्वका एक करोड मानिसले विभिन्न कारणले आफ्नो घर छोड्न बाध्य भएका थिए । एकै वर्षमा यतिधेरै व्यक्तिले घर छोड्नुपरेको पनि यो पहिलोपटक हो । यीमध्ये गतवर्ष मात्र विश्वका विभिन्न देशबाट गरी ३४ लाख मानिसले घर छोडेर बाहिरिएका अर्थात् अन्तर्राष्ट्रिय सिमाना काटेका थिए । शरणार्थीका रूपमा आफ्नो देशको सिमाना नै पार गरेर बाहिरिएको पनि यो अहिलेसम्मकै ठूलो संख्या हो ।

यसरी बाहिरिनेमा इराक, सिरिया, दक्षिण सुडान र अफगानिस्तानका नागरिक धेरै रहेका छन् । उनीहरूले देश नै छोडेर अन्तर्राष्ट्रिय सीमा कटेका छन् । उनीहरू विभिन्न देशमा शरणार्थीको रूपमा बसिरहेका छन् ।  उक्त संस्थाको तथ्यांकअनुसार गतवर्ष मात्र करिब २२ करोड २५ लाख मानिस शरणार्थीका रूपमा दर्ता भएका थिए । उनीहरू अहिले पनि शरणार्थीको रूपमा जीवन व्यतित गरिरहेका छन् । यसरी विस्थापित हुनुमा विशेषगरी सिरिया र दक्षिण सुडानमा बढ्दो मात्रामा रहेको हिंसा र आतंकलाई प्रमुख कारणका रूपमा लिइएको छ ।

प्रतिक्रिया