मेलम्चीका कारण विद्युत् आपूर्तिमा गढबढी

काठमाडौं । मेलम्चीको पाइपलाइन बिछ्याउँदा उचित समन्वय नहुँदा काठमाडौंको विद्युत आपूर्तिमा पटकपटक समस्या देखिएको छ । नेपाल विद्युत् प्राधिकरणले यसप्रति असन्तुष्टी जनाउँदै समन्वायत्मक रूपमा काम गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले मेलम्ची आयोजनाको काम गराइले काठमाडौंको विद्युत् आपूर्तिमा अवरोध आएको बताए । ‘न मौसम खराब छ, न प्रसारण लाइनमा कुनै समस्या छ । विद्युत् उत्पादन घटेको स्थिति छैन । तर, पाइप बिछ्याउँदा भएको त्रुटिकै कारण बारबार यस्तो घटना दोहोरिनु बिडम्बना हो’ अधिकारीले भनेका छन् ।

अधिकारीकाअनुसार मंगलबार पनि काठमाडौंको भृकुटीमण्डप फिडरमा मेलम्ची आयोजानाको कामबाट भूमिगत केबल क्षति पुगेको छ । डिल्लीबजार मालपोत नजिकै पनि यस्तै हुँदा एलटी केबल तथा टिभी तारहरू समेत जलेको थिए । दमकलले आगो निभाएको छ । यसअघि पनि विभिन्न स्थानमा भूमिगत केबल काटिँदा बिजुली आपूर्तिमा पटकपटक समस्या आएको थियो । प्राधिकरणले आफूसँग भूमिगत केबलको व्यवस्थापन र रुटबारे जानकारी लिने गरी काम गर्न आग्रह गरेको छ ।प्राधिकरणले अहिले वैकल्पिक व्यवस्थाबाट विद्युत् सुचारु गरिएको बताएको छ । समन्वय नगरी काम गर्दा बिजुली आपूर्तिमा धेरै समस्या आउन थालेको भन्दै प्राधिकरणले आयोजना कार्यान्वयन इकाइलाई प्राधिकरणसँग छलफल गरेर प्राविधिक जानकारी लिएर मात्रै काम गर्न अनुरोध गरेको छ ।

प्रतिक्रिया