एजेन्सी, ३० जेठ । रुसमा दंगा प्रहरीले देशव्यापी रुपमा आयोजित भ्रष्टाचार विरोधी प्रदर्शनहरुबाट सैयौं मानिसहरुलाई पक्राउ गरेका छन्।
सबैभन्दा ठूलो विरोध प्रदर्शन राजधानी मस्को र सेन्ट पिटर्सबर्ग शहरहरुमा सबै भन्दा ठूला प्रदर्शनहरु भएका छन् र सबैभन्दा धेरै गिरफ्तारी पनि। यो विरोध प्रदर्शनको आह्वानकर्ता तथा क्रेमलिनका एकजना खरो आलोचक अलेक्सेई नाभाल्नीलाई विरोध प्रदर्शनस्थल तर्फ जान लाग्दा प्रहरीले मस्कोस्थित उनको घरबाट गिरफ्तार गरेका थिए।
मस्कोको मध्य भागमा सरकारले स्वीकृति दिएको भन्दा भिन्न स्थानमा आयोजित विरोध प्रदर्शनमा भाग लिन जान लाग्दा अलेक्सेई नाभाल्नीलाई पक्राउ गरिएको उनकी श्रीमतीले बताएकी छिन्। आगामी वर्ष हुने राष्ट्रपतीय निर्वाचनमा अलेक्सेई नाभाल्नीले उम्मेदवारी दिने बताइसकेका छन्।
उनका हजारौं समर्थकहरु उनको आह्वान बमोजिम मस्कोको केन्द्रमा भेला भएका छन्। देशव्यापी रुपमा आयोजित भ्रष्टाचार विरोधी प्रदर्शनहरुका क्रममा मस्कोमा १२१ जना र सेन्ट पिटर्सबर्गमा १३७ जना प्रदर्शकारीहरुलाई प्रहरीले पक्रेको एउटा गैरसरकारी संस्था ओभीडी इन्फोले जनाएको छ।
मस्कोमा क्रेमलिन तर्फ जाने मुख्य मार्गमा भेला भएका प्रदर्शनकारीहरुलाई दंगा प्रहरीले पछाडी धकेलेका छन्। नाभाल्नीलाई यसअघि साखारोभा एभेन्यू भन्ने स्थानमा विरोध प्रदर्शन आयोजना गर्न अनुमति दिइएको थियो, तर उनले सरकारी अनुमति विना नै स्थान परिवर्तन गरी क्रेमलिन नजीकैको अर्को सडकमा भेला हुन आफ्ना समर्थकहरुलाई आह्वान गरेका थिए।
रुसमा सन् १९९० मा स्वतन्त्रता तथा सार्वभौमिकता घोषणा गरिएको दिन, रुस दिवस, कै अवसर पारेर यो विरोध प्रदर्शनको आयोजना गरिएको हो। विदाको दिन भएपनि सोमबारको विरोध प्रदर्शनमा यसअघि गत मार्च महिनामा नाभाल्नीले आह्वान गरेको यस्तै प्रकारको ¥यालीमा भन्दा निकै थोरै मात्र मानिसहरु उपस्थित देखिएका छन्।
त्यसबेलाका विरोध प्रदर्शनहरु सन् २०१२ मा भएकाहरु भन्दा ठूला थिए र किशोर किशोरीहरुको ठूलो उपस्थितिमा हजारौं मानिसहरु सडकमा ओर्लिएका थिए।
प्रतिक्रिया