एजेन्सी, ३० जेठ । संयुक्त राज्य अमेरिकाको एक पुनरावेदन अदालतले ६ वटा मुस्लिम बहुल मुलुकका मानिसमाथि अमेरिका यात्रामा प्रतिबन्ध लगाउने राष्ट्रपति डोनल्ड ट्रम्पको संशोधित प्रस्ताव रोक्ने आदेशलाई सदर गरेको छ।
हवाई राज्यले दायरा गरेको मुद्दामाथि सुनुवाई गर्दै पुनरावेदन न्यायाधीशहरुले राष्ट्रपतिको कार्यकारी आदेशबाट विद्यमान आप्रवाससम्बन्धी कानूनको उल्लंघन भएको ठहर गरेका हुन्।
अदालतको पछिल्लो निर्णय मुस्लिमहरुको प्रवेशमा प्रतिबन्ध लगाउने राष्ट्रपति ट्रम्पको प्रयासमाथि थप कानूनी झट्का भएको बताइएको छ।
महान्यायाधिवक्ता जेफ सेसन्सले अदालतको निर्णयप्रति आफू असहमत रहेको बताएका छन्। उनले भने, ‘मुलुकलाई सुरक्षित राख्न आफ्नो कानूनी दायराभित्र रही राष्ट्रपति ट्रम्पको आदेश सही छ। पछिल्ला आक्रमणहरुबाट हाम्रो मुलुकका लागि पनि खतरा निकट र वास्तविक रहेको पुष्टि भएको छ।’
सर्वोच्च अदालतको निर्णयपछि अब यात्रासम्बन्धी विवाद अन्त्य हुन सक्छ। न्यायाधीशहरुले आफ्नो आदेशमा राष्ट्रपति ट्रम्पले जुन ५ तारिखमा गरेको ट्वीटलाई पनि उद्धृत गरेका छन्। यसअघि राष्ट्रपति पद सम्हाले लगत्तै ट्रम्पले यात्रा प्रतिबन्धसम्बन्धी जारी गरेको आदेशबाट विमानस्थलहरुमा दोधार सिर्जना भएको थियो र प्रदर्शनहरु भएका थिए।
त्यसपछि संशोधित कार्यकारी आदेशमा इरान, लिबिया, सिरिया, सोमालिया, सुडान र यमनबाट अमेरिका जान चाहने मानिसमाथि ९० दिने प्रतिबन्ध लगाउने भनिएको थियो। जोसुकै शरणार्थीमाथि एक सय २० दिने प्रतिबन्ध लगाउने पनि संशोधित कार्यकारी आदेशमा भनिएको थियो तर धार्मिक अल्पसंख्यकको सन्दर्भ त्यसबाट हटाइएको थियो।
आफ्नो चुनावी अभियानका क्रममा ट्रम्पले ‘मुस्लिमहरुलाई पूर्ण रुपमा अमेरिका प्रवेशमा रोक लगाउने’ बताएका थिए। अदालतको पछिल्लो आदेशप्रपछि ह्वाइट हाउसका एकजना प्रवक्ताले राष्ट्रपतिको कार्यकारी आदेशको बचाउ गर्दै भने, ‘अमेरिका प्रवेश गर्न र रक्तपात एवं हिंसा मचाउनका लागि प्रवेश गर्नबाट रोक्न हामीसँग उपलब्ध बाटो हामीले अवलम्बन गर्नुपर्ने हुन्छ।’
प्रतिक्रिया