नायिकाको पहलमा बालकलाई सहयोग

kaitiza
काठमाडौं २९ जेठ । नेपालका प्रसिद्ध नायिका तथा मोडल क्षितिजा शाक्यको पहलमा टाउकोमा पानी जमेका अढाई बर्षका बालक गौतम थापालाई इजरायलबाट सहयोग राहत मिलेको छ । स्विट अपार्ट परिवार तेल अबिब इजरायलमा रहेका नेपालीको तर्फबाट ८० हजार एक सय ५४ नेपाली रूपैयाँ राहत सहयोग मिलेको हो ।त्यसको अलावा नेपालकै देव अग्रवाल र दीपक चौलागाईवाट ११ हजारसमेत राहत सहयोग मिलेको र दुवै रकम गौतम थापाको आमा राधिका थापालाई हस्तान्तरण गर्ने कार्य नायिका क्षितिजा शाक्यबाट भएको छ । त्यसको अलावा क्षितिजा शाक्यकै पहलबाट गौतम थापाको काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भइरहेको छ ।

अस्पतालले गौतम थापाको सम्पूर्ण उपचार खर्च निःशुल्क गरिदिएको छ । तुरुन्तै अस्पतालले अप्रेसन गर्न नमिल्ने भएकोले हाललाई रेगुलर ट्रिटमेन्ट गर्ने कार्य भइरहेको छ । जन्मेको दुई महिनादेखि टाउकोमा पानी जम्ने रोगले ग्रस्त गौतमको उपचारको लागि अनेक स्थानमा भौतारिँदै हिँड्दै गरेकी गौतमकी आमा राधिका थापालाई गत २५ चैतमा काठमाडौंको जमलस्थित आकाशेपुलनिर भेटेर नायिका तथा मोडल क्षितिजा शाक्यले नगद २० हजार हस्तान्तरण गरेकी हुन् । मलेसियाबाट रेना भण्डारीले सहयोग स्वरूप पठाइएको रकम हस्तान्तरण गरेपछि गौतमको उपचारको पहल भएको हो ।

न्युरोडतिर त्यसअघिका दिनमा टाउकोमा पानी जमेको छोरा गौतमलाई लिएर हिँड्दै गरेकी राधिकालाई क्षितिजाले भेटेकी थिइन् । सोही भेटको फोटोसहित फेसबुकमा हालेपछि टाउकोमा पानी जमेका गौतमको उपचारको लागि मलेसियाबाट रेना भण्डारीले नगद २० हजार सहयोग पठाएको हो । रेना भण्डारीको सानो सहयोगबाट सुरु भएको सहयोगको निरन्तरताले यो रूप लिएको नायिका शाक्यले भनेकी छन् । काठमाडौं बोहराटार बस्ने दुई बर्षका गौतम थापा दुई महिना पुग्दा अचानक टाउको फुल्दै आएको र चेकजाँच गराउँदा टाउकोमा पानी जमेको पत्ता लागेको हो ।

छोरोको त्यो अवस्था भएपछि पतिले पनि बेवास्ता गरेको र छोरा १० महिना पुगेपछि अर्को विवाह गरेर पतिले साथ दिन छाडेपछि बेसहारा हुनपुग्दा सडकमा माग्दै हिँड्नुपरेको राधिका थापाको यथार्थता रहेको छ ।  राधिकाको साथमा १० वर्षकी छोरी पनि रहेकी छन् । छोराको त्यो अवस्थाबाट निक्कै चिन्तित उनी क्षितिजा शाक्यमार्फत प्राप्त भएको इजरायबाट प्राप्त भएको थप सहयोगबाट छोराको उपचार संभव हुने देखेबाट राहत महसुस गरेकी छन् । इजरायलका स्विट अपार्ट परिवार तेल अबिबलाई नायिका क्षितिजा शाक्यले धन्यवाद व्यक्त गरेकी छन् । त्यसैगरेर देव अग्रवाल र दीपक चौलागार्इंलाई पनि धन्यवाद भनेकी छन् ।

प्रतिक्रिया