कतारले आतंकवादलाई सहयोग पुर्यायो ; ट्रक्प

_96429225_trump_epaएजेन्सी, २७ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले खाडी राष्ट्र कतारले उनकै शब्दमा ऐतिहासिक रुपमै उच्च तहबाट आतंकवादलाई आर्थिक सहयोग पुर्याउने गरेको आरोप लगाएका छन्।

ह्वाइट हाउसमा बोल्दै उनले सो खाडी देशले तत्काल त्यस्तो सहयोग बन्द गर्नुपर्ने समय आएको बताए। उनले भने, ‘हामीले एउटा निर्णय गर्नैपर्ने भयो। के हामी सजिलो बाटो हिंड्ने हो या कठिन तर आवश्यक बाटो ? आतंकवादलाई सहयोग बन्द हुनै पर्छ।’

उनले सो क्षेत्रका अन्य मुलुकहरुलाई पनि घृणा फैलाउने काम रोक्न, आतंकवादलाई प्रश्रय दिने धारणा बन्द गर्न र ती काम छिट्टो गर्न आह्वान गरेका छन्। अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले कतारविरुद्धको नाकाबन्दी खुकुलो पार्न साउदी अरेबिया तथा अन्य खाडी देशलाई आग्रह गरेको केही बेरपछि राष्ट्रपति ट्रम्पको उक्त भनाई आएको हो।

नाकाबन्दीका कारण खानेकुराको अभाव हुन थालेको अनि परिवारहरुमाझ विछोड हुन थालेको टिलरसनले बताए। साथै, पछिल्ला घटनाक्रमका कारण अमेरिकी सेनाको सो क्षेत्रको कारबाही र आइएस विरुद्धको लडाईंमा असर परेको उनले बताए।

तेल तथा ग्यासमा समृद्ध खाडी देश कतारलाई उसका शक्तिशाली अरब छिमेकीहरु साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स, बहरेन तथा इजिप्ट जस्ता देशले, सोमबार, अचानक एक्ल्याउने निर्णय गरे। साउदी अरेबियाले कतारसंग उसको स्थल सीमामार्ग बन्द गरायो। कतारका विमानलाई छिमेकीका हवाईमार्ग समेत प्रयोग गर्न बन्देज लगाइयो।

कतारले अतिवादीहरुलाई समर्थन गरेको आरोप उनीहरुले लगाए। तर दोहाले आतंकवादलाई आफुले सहयोग गरेको भन्ने आरोपहरु खण्डन गरिरहेको छ। बतार आफूलाई अलगथलग पार्ने काम बन्द भएको हेर्न चाहन्छ भने कतारले गाजा क्षेत्रमा प्यालेष्टाइनी इस्लामवादी समूह हमास, अनि इजिप्टमा मुस्लिम ब्रदरहुडसंग, सम्बन्धविच्छेद गर्नुपर्ने साउदी अरेबियाले जनाएको छ।

बिहीबार कतारका विदेशमन्त्री शेख मोहम्मदले आफ्नो देश सफल र प्रगतिशील भएका कारण एक्ल्याइएको बताए। उनले भने, ‘हामी आत्मसमर्पण गर्न तयार छैनौं। हाम्रो विदेश नीतिको स्वतन्त्रता आत्मसमर्पण गर्न हामी कहिल्यै तयार हुने छैनौं।’

प्रतिक्रिया