‘चुनावमा रुसले हस्तक्षेप गरेको थियो’

james_comey
अमेरिका, २६ जेठ । पदबाट बर्खास्त गरिएका अमेरिकाका संघीय जांच व्युरो, एफबीआई, का निर्देशक जेम्स कोमीले निस्सन्देह गत वर्षको अमेरिकी राष्ट्रपतीय चुनावमा रुसले हस्तक्षेप गरेको बताएका छन्।

उनले भने, ‘उनीहरुले निश्चित उद्देश्यका साथ र अत्यन्त प्रबल प्राविधिक प्रयाससहित त्यस्तो काम गरेका थिए।’ कोमीले भने, ‘पुरै गुप्तचर समुदायको यही धारणा छ र यो निकै गम्भीर कुरा हो।’ तर उनले त्यसको विस्तृत विवरण भने दिएनन्।

उनले राष्ट्रपति ट्रम्पले यस्तो हस्तक्षेपबाट देशलाई कसरी जोगाउने भनेर आफुलाई सोधेको संझना नभएको पनि बताए।
यसअघि संसदीय समितिलाई दिएको एक लिखित बयानमा कोमीले आफ्ना पूर्व राष्ट्रिय सुरक्षा सल्लाहकारलाई अनुसन्धान नगर्न राष्ट्रपति ट्रम्पले आफुलाई भनेको उल्लेख गरेका थिए।

जेम्स कोमीले राष्ट्रपतिसंग भएको भेटमा ट्रम्पले बारम्बार वफादारी खोजेको र उनले चाहिं आफ्नो भूमिकामा निष्पक्षताका लागि जोड दिएको बताएका थिए। तर ट्रम्पका व्यक्तिगत वकील मार्क क्यासोविट्सले कोमीले लगाएका आरोपहरुको कडा खण्डन गरेका छन्।

एक वक्तव्यमा क्यासोविट्सले राष्ट्पति ट्रम्पले कोमीलाई उनले उनीबाट वफादारी चाहेको कुरा कहिल्यै नभनेको बताए। उनले कोमीमाथि राष्ट्रपतिसंगको गोप्य सूचना चुहाएको आरोप पनि लगाए।

यसअघि ह्वाइट हाउसकी एक प्रवक्ताले राष्ट्रपति ट्रम्प झुठो बोल्ने व्यक्ति नभएको बताएकी थिइन्। कोमीले अमेरिकी सिनेट समक्ष राष्ट्रपति ट्रम्पसंगको उनको सम्बन्धका बारे पनि बयान दिएका थिए।

सिनेटको गुप्तचर मामिला कमिटि समक्ष उपस्थित भै शपथ लिएर बयान दिएका जेम्स कोमीले राष्ट्रपति ट्रम्पले आफूसंगको बैठकका बारे झुठो बोल्न सक्ने चिन्ता लागेको बताए। आफ्नो बयानमा एफबीआईका पूर्व निर्देशक जेम्स कोमीले भने, ‘उनी आफूलाई पदबाट बर्खास्त गर्नु पर्नाका कारणबारे व्यक्त फरक फरक सार्वजनिक टिप्पणीहरुबाट चिन्तामा परेका छन्।’

उनले भने, ‘राष्ट्रपतिले उनलाई उनको कामको प्रशंसा गर्दै पदमा निरन्तरता चाहेको बताउने गरेका थिए।’ तर एफबीआईका निर्देशकलाई कुनै पनि बेला बर्खास्त गर्न सक्ने अधिकार राष्ट्रपतिसंग रहेको भन्ने आफ्नो बुझाइ रहेको पनि उनले बताए।

त्यसपछि जेम्स कोमीले अमेरिकी प्रशासनले एफबीआई अस्तव्यस्त रहेको भनेर झुठो बोलेको र आफू अनि सो संस्थालाई बदनाम गर्न खोजेको आरोप लगाए। उनलाई रुससंग सम्बन्धित उनले थालेका अनुसन्धान रोक्ने प्रयास राष्ट्रपति ट्रम्पले गरे नगरेको भनी सोधिएको प्रश्नमा कोमीले आफ्नो बुझाइ त्यस्तो नरहेको जवाफ दिए।

राष्ट्रपति ट्रम्पले उनलाई रुससंगको मिलेमतोका बारे उत्पन्न आरोपहरुका बारे अनुसन्धान रोक्न प्रत्यक्ष रुपमा नभनेको उनको बयान थियो। तर जेम्स कोमीले भूतपूर्व राष्ट्रिय सुरक्षा सल्लाहकार माइकल फ्लीनका सम्बन्धमा राष्ट्रपतिसंग भएको कुराकानीबाट आफु विचलित भएको भने बताए।

राष्ट्रपति ट्रम्पसंगको आफ्नो बैठकको अभिलेख राख्‍नु पर्ने वाध्यता किन प¥यो भन्ने प्रश्नमा कोमीले भने, उनी राष्ट्रपतिसंग एक्ला एक्लै बैठकमा थिए र त्यस्तो बैठकको प्रकृतिका बारे राष्ट्रपतिले पछि ढांट्न सक्ने चिन्ता उनलाई थियो।

प्रतिक्रिया