एजेन्सी, २५ जेठ । एक सय १६ जना व्यक्ति सवार म्यानमारको एक विमान समुन्द्रमा दुर्घटनाग्रस्त अवस्थामा फेलापरेको छ । म्यानमारको सैनिक हवाई अड्डाका अनुसार बुधबार एक शहरको दक्षिण भाग र याङगुनको बीच भागबाट सम्पर्कविहीन भएको विमानको केहि टुक्रा दवेइ शहरबाट दुई सय १८ किलोमिटर टाढा अंडमान सागरमा फेलापरेको हो ।
एक पर्यटन कार्यालयका अधिकारी नायंग लिन झवले जल सैनिकहरुले समुद्रमा खसेको उक्त विमानको भग्नावशेषहरु खोजिरहेको बताए । मुख्य कमान्डर इन चिफको कार्यालयले स्थानीय समयअनुसार बुधबार दिउँसो १ बजेर ३५ मा उक्त सैनिक विमान दवेइ सहरबाट २० माइल्स पश्चिम पुगेपछि अचानक सम्पर्कविच्छेद भएको जनाइएको थियो ।
विमानमा सैनिकका आफन्त तथा एक दर्जनभन्दा बढी बालबालिकाहरु सवार रहेको बताइएको छ । म्यानमारको हवाई अड्डाले ११ जना चालकदलका सदस्य सहित विमानमा अन्य एक सय पाँच जना रहेको बताएपनि विमानमा कति जना सवार थिए भन्ने कुरा यकिन हुन नसकेको अन्तरराष्ट्रिय समाचार एजेन्सी ‘एएफपी’ले उल्लेख गरेको छ ।
प्रतिक्रिया