लण्डन प्रहरी भन्छ ; ‘आक्रमणकारीको पहिचान थाहा छ’

_run_pa
एजेन्सी, २२ जेठ । ब्रिटेनको प्रहरीले शनिबार राति मध्यलण्डनमा हमला गरेका तीनजना पुरुषको पहिचान थाहा भएको विश्वास व्यक्त गरेका छन्।

उनीहरुले हमलाकारीहरुको पहिचान नखुलाउन सञ्चारमाध्यमलाई आग्रह गरेका छन्। लण्डन ब्रिजुमा पैदलयात्रुमाथि तीनजनाले एउटा भ्यान लगेर ठोक्काइ नजिकैको ‘बरो मार्केट’ का पब र रेष्टुराँहरुमा रहेका मानिसमाथि छुरा प्रहार गर्दा सातजनाको ज्यान गएको थियो।

घटनामा कम्तीमा ५० जना घाइते भएका छन्। लगत्तै प्रहरी कारबाहीमा ती तीनजना आक्रमणकारी मारिएका थिए। ब्रिटेनका सबभन्दा वरिष्ठ प्रतिआतंकवाद अधिकारी मार्क रोलीका अनुसार आत्मघाती विस्फोट गराउने नक्कली बेल्टहरु लगाएका ती पुरुषमाथि विशेष सुरक्षाकर्मीले ५० राउण्ड गोली प्रहार गरेका थिए।

शनिबार रातिको हमलापछि प्रहरीले पूर्वी लण्डनमा १२ जनालाई पक्राउ गरिएको र खोजी कार्य अझै जारी रहेको बताएको छ। उनीहरुले नियन्त्रित विस्फोट पनि गराइएको बताएका छन्।

अधिकारीहरुले आक्रमणका पीडित परिवारको पहिचान गर्न र उनीहरुसँग सम्पर्क गर्नका निम्ति अझै लागिपरेको बताएका छन्। शनिबारको आक्रमणमा मारिनेमा फ्रान्स र क्यानाडाका एक/एक जना पनि छन्।

घाइतेमध्ये २१ जनाको स्थिति गम्भीर रहेको बताइएको छ। इस्लामिक स्टेट समूहले आक्रमणमा आफ्नो हात रहेको बताएको छ।

प्रतिक्रिया