हङकङ । हङकङ आफ्ना गगनचुम्बी भवनहरू र लाइफस्टाइलका साथै खानपिनका कारण निकै चर्चित ठाउँ हो । यहाँका धनाढ्यहरूको जीवनशैली संसारभर लोभलाग्दो रूपमा चित्रित छ ।कारोबारको ठूलो केन्द्र बनिसकेको हङकङ पछिल्लो समय निकै कडा चुनौतीको सामना गरिरहेको छ । हङकङले सामना गरिरहेको मुख्य चुनौती हो त्यहाँको फोहोर व्यवस्थापन । प्रशासनलाई नै टाउको दुखाइको विषय बनेको हङकङको फोहोरले अहिले धेरै नै समस्या निम्त्याएको छ । हङकङमा खुला ठाउँको एकदम अभाव छ । यहाँ मात्र दुईहजार वर्ग किलोमिटर क्षेत्रमा झन्डै ७० लाख मानिसहरू बसोबास गर्छन् । मकाउ र सिंगापुरपछि हङकङ नै विश्वको तेस्रो घना आवादी भएको क्षेत्र हो ।यस्तोमा त्यहाँ फोहोर फाल्ने ठाँउको निकै कमी छ । फोहोरको बढ्दै गएको डंगुरले हङकङको पर्यावरणलाई नै समस्याग्रस्त पारिदिएको छ । हङकङमा फोहोर फाल्ने गरिएका १३ वटा डम्पिङ साइटहरू भरिइसकेका छन् ।
ती स्थानहरूमा फोहोर फाल्न नमिल्ने भइसकेपछि त्यहाँ पार्क, गल्फ कोर्स र खेल मैदान बनाइएको छ । अब फोहोर फाल्नकालागि हङकङमा जम्मा तीनवटा डम्पिङ साइटमात्र बाँकी रहेको छ । ती तीन स्थानमा पनि दैनिक फालिने फोहोरको रास लागिसकेको छ र ती तीनैवटा स्थान अब छिट्टै भरिनेमा कुनै शंका छैन ।
हङकङमा हरेक वर्ष झन्डै ३७ लाख टन फोहोर निस्कने गर्छ । हङकङस्थित चाइनिज विश्वविद्यालयका पर्यावरणविद् चैन किंग मिंगका अनुसार सन् २०२० सम्म हङकङमा फोहोर फाल्ने सबै स्थानहरू सकिने छ । यो दाबी चैनको मात्र नभई हङकङ पर्यावरण संरक्षण विभागको पनि हो ।पर्यावरणविद् चैनका अनुसार हङकङ सामाजिक, आर्थिक तथा प्राविधिक रूपमै फोहोरको डंगुरमाथि छ र यसको बाढीको सामना गर्ने दिन आइसकेको छ ।
चैन भन्छन्, ‘बाँकी विश्वले पनि बेलैमा हङकङबाट शिक्षा लिएर समयमै फोहोर व्यवस्थापनतिर नलाग्ने हो भने मानिसहरूको जीवन निकै कष्टकर हुनेछ ।’ जुन समस्यासँग आज हङकङ जुधिरहेको छ त्यही समस्याले विश्वका धेरै देशहरूलाई ग्रस्त पार्नेसक्ने चेतावनी चैनले दिएका छन् ।विश्वका सबै देशहरूका सहरमा आवादी बढ्दो छ । यो आवादीले नै दैनिक निकै धेरै फोहोर उत्पन्न हुन थालेको छ । यसलाई व्यवस्थापन गर्ने स्थान निकै कम छन् । हङकङमा आउने पर्यटकहरूले पनि यस ठाउँको आवादीलाई निकै बाक्लो बनाइदिएका छन् । यहाँ वार्षिक ६ करोड मानिस आउने गर्छन् । तीमध्ये ७० प्रतिशत मानिस चीनबाट पुग्ने गर्छन् । मानिसहरूलाई हङकङको खाना र सपिङ मलको आकर्षणले तानेको छ । तर, त्यहाँको फोहोरबारे भने अनभिज्ञ छन् ।
पर्यटकहरूलाई आकर्षित गरिरहेको हङकङमा तिनै फोहोरको व्यवस्थापन हुन नसके यसबाट नै पर्यटकहरूको आगमन रोकिने खतरासमेत बढिरहेको छ । खुला अर्थव्यवस्था भएको हङकङमा सरकारले आम मानिस तथा कारोबारमा एकदम कम हस्तक्षेप गर्छ । त्यसैले त्यहाँ घर तथा कलकारखानालाई फोहोर नियन्त्रणमा कुनै कडा नियम लगाइएको छैन ।केही समयअघिसम्म हङकङले आफ्नो धेरैजसो फोहोर चीनमा निर्यात गर्ने गरेको थियो । तर, यस्ता फोहोरले चीनको पर्यावरणमा असर पर्ने भन्दै चीन सरकारले फोहोर आयातमा रोक लगाएपछि हङकङको समस्या निकै बढेको छ । चीनले हङकङबाट केवल पुनर्उत्पादन गर्न मिल्ने वस्तुमात्र आयात गर्ने बताएको छ । यसको लागि हङकङले फोहोरबाट धातु, प्लास्टिकजस्ता वस्तुहरू निकाल्नैपर्ने हुन्छ ।
चीनले सड्नेगल्ने फोहोर पनि हङकङ आफैँले व्यवस्थापन गर्नुपर्ने भनेको छ । यसबाट हङकङ भावी दिनमा फोहोरको सुनामीमा नराम्री फँस्ने आँकलन पर्यावरणविद्हरूले गरेका छन् । हङकङमा पर्यावरण जोगाउन काम गरिरहेका डग वुडरिङ भन्छन्, ‘हङकङले अहिलेसम्म त्यस्तो प्रविधिमा लगानी नै गरेको छैन, जसबाट फोहोरको पुनर्प्रयोग गर्न सकियोस् ।’ रिसाइकिल गरेर सामग्री उत्पादन गर्ने प्रविधिको विकास नभएकाले घर तथा कारखानाबाट निस्कने फोहोरको डंगुरलाई तह लगाउनै नसक्ने अवस्था आएको वुडरिङले बताए । हङकङ प्रशासनले धेरै वर्षअघि फोहोरमा कर लगाउने प्रस्ताव गरेको थियो ।
यसबाट मानिसहरू फोहोर कम गर्न सचेत हुने र कम फोहोर निकाल्ने तर्क प्रशासनको थियो । तर, त्यसबेला यो कर लगाइएन । ताइवान र दक्षिण कोरियाको राजधानी सिओलमा फोहोरमा कर लगाएपछि फोहोरमा ३० प्रतिशतसम्म कमी आएको थियो । त्यसैको अनुशरण गर्न चाहेको थियो हङकङले पनि तर, त्यो प्रशासनले गर्न सकेन । हङकङको पर्यावरण संरक्षण विभागले फोहोर व्यवस्थापनको लागि लंताउ टापुमा फोहोर जलाउने कारखाना खोल्न प्रस्ताव गरेको छ । यसमा १० अर्ब डलर खर्च लाग्ने अनुमान विभागको छ । तर, फोहोर जलाएपछि उत्पन्न हुने प्रदूषणका कारण स्थानीय वासिन्दाले यसको विरोध गरिरहेका छन् । चैनका अनुसार फोहोरसँग सामना गर्नका लागि फुड प्रोसेसिङ प्लान्टको स्थापना गर्नु सबैभन्दा उत्तम विकल्प हो ।
यस प्लान्टमा होटल तथा रेस्टुरेन्टबाट निस्कने फोहोरलाई रिसाइकल गर्न सकिन्छ । यसबाट निस्कने मललाई पनि प्रयोग गर्न सकिन्छ । यसबाट बायोग्यास उत्पादन गरी गाडी चलाउन सकिन्छ । हङकङ अझैपनि नेदरल्यान्डसँग मल खरिद गर्छ । प्लान्टले मल उत्पादन गरेपछि मलको पूर्तिसमेत हुने देखिन्छ । फोहोरलाई व्यवस्थापनका लागि हङकङमा कम्तीमा पनि २० ठाँउमा यस्ता प्लान्ट स्थापना गर्नुपर्ने चैन सुझाव दिन्छन् । यस्तै वुडरिङपनि बायो वेस्ट, प्लास्टिक तथा काँच र धातुका फोहोरलाई अलग अलग व्यवस्थापन गर्नुपर्ने बताउँछन् । मानिसहरूलाई फोहोरले निम्त्याउने खतराका बारेमा सचेत गराउने र फोहोर कम उत्पादन गर्न प्रेरित गर्न अत्यावश्यक भइसकेको वुडरिङको भनाइ छ । हङकङको एक कफी सप ‘प्यासिफिक कफी’ ले कपको ढकनी फिर्ता गरेमा एक कप कफी निःशुल्क दिने व्यवस्था सुरु गरेको छ । यो राम्रो सुरुआत हो ।
चीन, भियतनाम र फिलिपिन्सले समुद्रमा फाल्ने फोहोर पनि हङकङका समुद्री किनारमा जम्मा हुन थालेको छ । गैरकानुनी तरिकाले समुद्रमा फोहोर फ्याँकिएकोमा पनि हङकङले चिन्ता व्यक्त गरेको छ । चीनले पर्ल नदीको डेल्टामा धेरै फोहोर फाल्ने गरेको छ । हङकङको नजिकै पर्ने चिनियाँ टापु वायलिंगडिंगमा त फोहोरको यति ठूलो पहाड बनिसकेको छ कि यसलाई हेर्दा २० तले भवन जस्तै देखिन्छ । यदि यस्तोमा कुनै समुद्री तुफान आएको खण्डमा फोहोरको यस्ता पहाडको सुनामी नै आएर हङकङलाई समस्यामा पार्ने चेतावनी वुडरिङले दिएका छन् । अहिले पनि यस्ता फोहोरका पहाडबाट सानो सानो भाग पहिरो जस्तै झरेर समुद्रमा मिसिएको पाइएको छ ।चैन मिंग किंगका अनुसार हङकङका मानिसहरू फोहोरको विषयमा धेरै चिन्ता लिइरहेका छैनन् । उनीहरू जागरुक भइरहेका छैनन् । यसबारे सचेत भएर अघि बढ्न जति ढिला भयो त्यति नै बढी समस्या भोग्नुपर्ने उनी बताउँछन् ।
प्रतिक्रिया