अमेरिका, १९ जेठ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो मुलुक प्यारिस संझौताबाट अलग हुने घोषणा गरेका छन्।
बिहीबार दिउँसो ह्वाइट हाउसको सिँढीबाट बोल्दै उनले सो संझौता अमेरिकी हितमा नभएको र त्यसबाट अमेरिकीहरुको रोजगारी खोसिने भन्दै आफुले त्यस्तो निर्णय लिएको बताए।
तर उनका विपक्षीहरुले त्यस्तो निर्णय गरेर एउटा जल्दोबल्दो अन्तर्राष्ट्रिय चुनौतीबाट अमेरिका भागेको आरोप लगाएका छन्।
झण्डै डेढ वर्ष अघि प्यारिसमा भएको विश्व संमेलनमा ट्रम्पको पूर्ववर्ती ओबामा प्रशासनले प्यारीस सम्झौतामा हस्ताक्षर गरेको थियो।
सो संझौतामा विश्व तापमान औद्योगिकीकरण भन्दा अघिको तुलनामा दुई डिग्रीभन्दा बढ्न नदिन हरितगृह ग्याँस उत्सर्जन कम गर्न प्रस्तावहरु गरिएको छ। तर ट्रम्पले आफ्नो चुनावी अभियानमा जलवायु परिवर्तनमाथि नै शंका गर्दै आफु राष्ट्रपतिमा निर्वाचित भएमा सो संझौताबाट अमेरिका बाहिरिने बताउँदै आएका थिए।
उनले सुधार सहितको प्यारिस संझौतामा फेरि भाग लिने वा त्यस्तै नयाँ संझौता गर्ने भन्नेबारे आफ्नो प्रशासनले काम गर्ने बताए। तर उनले त्यसको विवरण दिएनन्।
चीन तथा भारतको उदाहरण दिँदै उनले ती मुलुकहरुको तुलनामा प्यारिस संझौता अमेरिकाकालागि भेदभावपूर्ण भएको बताए। उक्त संझौताले अमेरिकामा बाँकी बचेका उद्योगधन्दाहरुलाई धरासायी पार्ने पनि उनले बताए।
यसअघि संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले अमेरिकालाई जलवायु परिवर्तनसम्बन्धी प्यारीस सम्झौताप्रति प्रतिबद्ध रहन आह्वान गरेका थिए। उनले अमेरिका सो संझौताबाट बाहिरिए पनि अरु सरकारहरुले तिनका प्रतिबद्धतालाई कायमै राख्नुपर्ने बताएका थिए।
राष्ट्रसंघीय वातावरण प्रमुखले प्यारिस संझौताबाट अमेरिका पछि हटेपनि जलवायु परिवर्तनसंग जुध्ने गठबन्धन नटुटने बताएका थिए। जलवायु परिवर्तनसम्बन्धी विश्वव्यापी प्यारीस सम्झौता कार्यान्वयन गर्न नयाँ अमेरिकी प्रशासनले आनाकानी गरीरहँदा चीन र युरोपेली संघले सम्झौताको समर्थनमा एक संयुक्त वक्तव्य प्रकाशित गर्ने तयारी गरेका छन्।
बीबीसीले अध्ययन गरेको उक्त संयुक्त वक्तव्यको मस्यौदामा प्यारीस सम्झौता कार्यान्वयनका निम्ति उच्चतम राजनीतिक प्रतिबद्धतामा जोड दिइएको छ। चीन र युरोपेली संघको सो तयारीलाई कतिपयले राष्ट्रपति ट्रम्पविरुद्धको संभाव्य गठबन्धनको रुपमा पनि हेरेका छन्।
शुक्रबार सार्वजनिक गरिने ठानिएको जलवायु परिवर्तन र स्वच्छ उर्जाबारे सो संयुक्त वक्तव्यका निम्ति चिनियाँ तथा युरोपेली संघका अधिकारीहरु एक वर्षभन्दा धेरै समयदेखि कार्यरत रहेका थिए। (बिबिसी)
प्रतिक्रिया