वासिंगटन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अफगानिस्तानको राजधानी काबुलमा भएको भीषण बम आक्रमणको निन्दा गरेको ह्वाइट हाउसद्वारा बुधबार प्रकाशित विज्ञप्तिमा जानकारी दिइएको छ । कयाैँ कूटनीतिक प्रतिनिधिहरूको कार्यालय भएको जानबाक स्क्वायरमा बुधबार भएको यस आक्रमणमा परी ८० जनाभन्दा बढीको मृत्यु भएको थियो भने, तीन सय ५० भन्दा बढी घाइते भएका थिए । ह्वाइट हाउसद्वारा जारी विज्ञप्तिका अनुसार अफगानिस्तानमा रहेको अमेरिकी दूतावासमार्फत् अफगानिस्तानलाई आवश्यक सहयोगका लागि अमेरिका प्रयासरत रहेको जनाइएको छ ।
बुधबार मध्य काबुलमा भएको शक्तिशाली बम विस्फोटनका कारण कूटनीतिक नियोगका कार्यालयहरू, राष्ट्रपति कार्यालयलगायत महत्वपूर्ण स्थानहरू प्रभावित भएका थिए । यसैबीच, अफगान राष्ट्रिय सुरक्षा निर्देशनालय र गुप्तचर निकायले बुधबार संयुक्तरूपमा प्रकाशित विज्ञप्तिमा यस आक्रमणमा हक्कानी नेटवर्कको हात रहेको दाबी गरेका छन् । गृह मन्त्रालय प्रवक्ता सेद्धिक सेद्धिकीले आफ्नो ट्विटरमार्फत यस्तो दाबी गरिएको समाचार पोस्ट गरेको भए पनि हक्कानी नेटवर्कको तर्पmबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।
आतंककारी समूहसँगआवद्ध हक्कानी समूह अफगानिस्तानको पूर्वी प्रान्तहरू र राजधानी काबुलमा ठुल्ठूला आक्रमणको जिम्मेवार रहेको छ । आक्रमणमा परी ८० जनाभन्दा बढीको मृत्यु भएको पुष्टि भए पनि अझै केही व्यक्ति हराइरहेका छन् । गृह मन्त्रालयले चार जना प्रहरी नै हराइरहेको बताएको छ । त्यसैगरी इरानी एक सञ्चार माध्यमले विस्फोटनका कारण आफ्ना एक जना सम्वाददाता अझै हराइरहेको जनाएको छ ।घाइतेहरू मध्ये केहीको अवस्था अत्यन्त चिन्ताजक रहेकाले मृतकको संख्या अझै बढ्न सक्ने सरकारी अधिकारीको अनुमान रहेको छ ।
प्रतिक्रिया