फोहर पानी प्रशोधन केन्द्र निर्माण गरिने

water_treatment_center_7443
काठमाडौं १९ जेठ । काठमाडौं उपत्यका खानेपानी लिमिटेड आयोजना कार्यान्वयन निर्देशनालयले नदी प्रणालीमा प्रवाह भइरहेको फोहर पानीलाई प्रशोधन गर्न तीनवटा फोहर पानी प्रशोधन केन्द्र निर्माण गर्ने भएको छ ।  एसियाली विकास बैंकको ऋण सहयोगमा फोहर पानी प्रशोधन केन्द्रको पुुनःस्थापना तथा विस्तार कार्यक्रमअन्तर्गत निर्देशनालयले उक्त प्रशोधन केन्द्रको निर्माण गर्न लागेको हो । पहिलो चरणमा निर्देशनालयले दुई प्याकेजमा काम गरिरहेको छ । पहिलो प्याकेजमा गुह्येश्वरीको विद्यमान प्रशोधन केन्द्रको सुधार र क्षमता वृद्धि तथा दोस्रो प्याकेजमा भक्तपुरको सल्लाघारी, ललितपुरको कोड्कु तथा धोबीघाटमा फोहर पानी प्रशोधन केन्द्रको निर्माण गरिनेछ ।

नयाँ स्थापना हुन लागेका फोहर पानी प्रशोधन केन्द्रमध्ये सल्लाघारी प्रशोधन केन्द्रबाट दैनिक एक करोड ४२ लाख लिटर, कोड्कुमा स्थापना हुने प्रशोधन केन्द्रबाट दैनिक एक करोड ७५ लाख लिटर र धोबीघाटमा निर्माण हुने प्रशोधन केन्द्रमा दैनिक तीन करोड ७० लाख लिटर फोहर पानी प्रशोधन हुनेछ । ती प्रशोधन केन्द्रमध्ये धोबीघाटमा निर्माण हुने केन्द्र सबैभन्दा ठूूलो हो । गुुह्येश्वरीमा रहेको प्रशोधन केन्द्रबाट दैनिक तीन करोड ४० लाख लिटर पानी प्रशोधन गरिनेछ । गुुह्येश्वरीको प्रशोधन केन्द्र सुधार र नयाँ एकाइ थप गर्ने कामको जिम्मा भारतीय निर्माण कम्पनीलाई दिइएको छ । गत वर्षदेखि गुह्येश्वरीको केन्द्र सुधारको काम सुरु भएको थियो । नयाँ तीन वटा प्रशोधन केन्द्र निर्माणको जिम्मा चिनियाँ निर्माण कम्पनी संघाई साफबोन वाटर सर्भिस कम्पनी लिमिटेडले प्राप्त गरेको छ ।

यी प्रशोधन केन्द्र निर्माणसम्बन्धी सम्झौतापत्रमा ०७३ माघ ४ गते नै आयोजना र निर्माण पक्षबीच हस्ताक्षर भएको थियो ।  यी तीन वटै प्रशोधन केन्द्रको निर्माण आगामी ३० महिनाभित्र गरिसक्नुपर्ने व्यवस्था सम्झौतापत्रमा उल्लेख गरिएको छ । प्रशोधन केन्द्रको निर्माणपछि उपत्यकाका नदीमा मिसाउने गरिएको फोहर पानी प्रशोधनपछि मात्रै नदीमा बगाइनेछ । यसले उपत्यकाको नदी प्रणालीमा प्रदूषणको मात्रामा कमी आउने आशा निर्देशनालयले लिएको छ । तीन वटै प्रशोधन केन्द्रको निर्माण लागत ६ अर्ब रहेको जनाएको छ । फोहर पानी प्रशोधनका क्षेत्रमा भइरहेका पछिल्ला अनुसन्धान र प्रयोगका बारेमा छलफल गर्ने एवं उपत्यकामा निर्माण हुन लागेका प्रशोधन केन्द्रको डिजाइनलाई पुुनरावलोकन गरी आर्थिक रूपले मितव्ययी प्रणाली अवलम्बन गर्ने उद्देश्यसहित राजधानीमा बिहीबारदेखि तीन दिने कार्यशाला सुरु भएको छ ।

कार्यशालाको खानेपानी तथा सरसफाइमन्त्री जीवनबहादुर शाहीले उद्घाटन गरे । मन्त्री शाहीले कार्यशाला औपचारिकतामा मात्र सीमित नभई उपत्यकाका नदी सफा बनाउने अभियानमा केन्द्रित हुनुपर्ने बताए । ‘कार्यशाला गोष्ठी गरेर डिजाइन पुनरावलोकन गरी निर्माण हुने फोहर पानी प्रशोधन केन्द्रले ल्याउने परिणामलाई म जहाँ भए पनि नजिकबाट हेर्नेछु, ऋण सहयोग लिएर भइरहेको काम गुणस्तरीय हुनुपर्छ’, उनले भने । कार्यशालामा निर्देशनालयका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्री, स्रोत व्यक्तिद्वय राजेन्द्रप्रसाद भट्टराई र केशव शर्माले कार्यपत्र प्रस्तुत गरे । डिजाइनलाई पुनरावलोकन गरिने निर्देशनालयले जनाएको छ ।

प्रतिक्रिया