वासिंगटन । सानातिना हुन् वा गोप्य तथा महत्वपूर्ण सञ्चार सम्पर्क हुन्, नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्ने गरेकामा अमेरिकी सञ्चार सुरक्षाकर्मीहरूलाई चिन्ता बढाएको छ । अलिकति हिमचिम बढ्नासाथ राष्ट्रपति ट्रम्प जो कोहीलाई पनि सिधै फोन सम्पर्क गर्ने सल्लाहसहित आफ्नो निजी मोबाइल नम्बर दिन हिच्किचाउँदैनन् । झट्ट हेर्दा राष्ट्रपति ट्रम्पको यस्तो उदारतालाई निष्कपट र आत्मीय सद्भाव भन्न सकिए पनि यसलाई पदीय कूटनीतिक शिष्टाचारको पालना गर्न बिर्सिएको ठान्छन् अमेरिकी सञ्चार सुरक्षाकर्मीहरू । अमेरिकी सेनाध्यक्षसमेत रहेका राष्ट्रपति ट्रम्पले निजी मोबाइल फोन अत्यधिक प्रयोग गर्दा त्यसलाई पूर्ण सञ्चार सुरक्षा तथा गोप्यताको आवरण दिन हम्मेहम्मे परेको छ सञ्चार सुरक्षाकर्मीहरूलाई । हिजो अस्ति मात्र राष्ट्रपति ट्रम्पले क्यानाडाका प्रधानमन्त्री जस्टिन टुडो र मेक्सिकोका राष्ट्रपति इनरिक पेना नाइटोलाई आफ्नो निजी मोबाइल नम्बर दिई प्रत्यक्ष फोन सम्पर्क गर्न आग्रह गरे । उपरोक्त दुई जनामध्ये क्यानाडाली प्रधानमन्त्री टुडोले सीधै फोन सम्पर्क गरे पनि ।
त्यस्तै, यस महिनाको सुरुमा फ्रान्सका नवनिर्वाचित राष्ट्रपति इम्यानुएल म्याक्रोंलाई पनि उपलब्ध गराइएको निजी मोबाइल फोन नम्बरमा राष्ट्रपति म्याक्रोंले आफ्नो विजयपश्चात् धेरैपटक राष्ट्रपति ट्रम्पसँग सिधै फोन सम्पर्क गरिसकेका छन् । साथै, रुसका राष्ट्रपति तथा उच्च पदाधिकारीहरू, अस्ट्रेलियाका प्रधानमन्त्री माल्कोम टर्नबुल तथा मेक्सिकोका राष्ट्रपति इनरिक पेना नाइटोले राष्ट्रपति ट्रम्पसँग सिधै मोबाइल फोन सम्पर्क गरेका छन् । आधुनिक मोबाइल संसारमा विश्वका ठूला नेताहरूले एकआपसमा मोबाइल फोनमा कुराकानी गर्नु सामान्य कुरा जस्तो लागे पनि कूटनीतिक क्षेत्रमा सुरक्षा र गोप्यताको दृष्टिकोणले मोबाइल फोन सम्पर्क वान्छनीय हुँदैन । विश्वका दुई राष्ट्र प्रमुख वा सरकार प्रमुखबीच हुने भलाकुसारी होस् वा कुनै औपचारिक वार्ता, यसले अवश्य पनि राष्ट्रिय स्वार्थ वा अलग्गै महत्व धारण गरेकै हुन्छ । त्यसमाथि, कुनै पनि राष्ट्र प्रमुख वा सरकार प्रमुखले यसरी अत्यधिक निजी मोबाइल फोन प्रयोग गरी वार्ता गर्दा आफ्नै देशको औपचारिक राष्ट्रिय सञ्चारउपर विश्वास नगरेको वा यसलाई बेवास्ता गरेको भन्ने सन्देश जान सक्छ । अत्यधिक निजी मोबाइल फोनको प्रयोगले कूटनीतिक अनुशासन तथा मर्यादाको सीमा नघाएको हो कि भन्ने सन्देश पनि स्वतः जान्छ ।
अत्यधिक निजी मोबाइल फोनको प्रयोग गर्दा धेरै सूचना तथा कुराकानीहरू चुहिएर कतिपटक राष्ट्रपति ट्रम्पलाई झस्किनु पर्ने अवस्थासम्म पनि पु¥याए ता पनि कूटनीतिक प्रयोजनमा उनले निजी मोबाइल फोन प्रयोग कम गरेका छैनन् ।राष्ट्रपति ट्रम्पको कार्यालय ह्वाइट हाउसले पनि अब औपचारिक कूटनीतिक सञ्चार मार्गका अतिरिक्त राष्ट्रपतिका सबै निजी मोबाइलका सञ्चार माध्यम सुरक्षा र गोप्यताको बलिष्ठ व्यवस्थापनतर्फ लाग्ने जनाएको छ । यद्यपि, यस्तो कार्य त्यत्ति सहज र पूर्णतया भर पर्दो भने मानिएको छैन ।
प्रतिक्रिया