एजेन्सी, १६ जेठ । फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोंले सिरियामा कुनै प्रकारको रासायनिक अस्त्रको प्रयोग फ्रान्सलाई अमान्य हुने आफ्ना रुसी समकक्षी भ्लादिमिर पुटिनलाई भनेका छन्।
रासायनिक अस्त्रको प्रयोगले लक्ष्मण रेखा नाघ्ने र त्यसो गरिए फ्रान्सले तत्काल प्रतिक्रिया जनाउने माक्रोंले चेतावनी दिएका छन्। असहजपूर्ण देखिएको एउटा पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै हालै निर्वाचित फ्रान्सका राष्ट्रपति माक्रोंले प्यारिस नजिकै रहेको भर्साइको दरबारमा आफ्ना रुसी समकक्षी पुटिनसँग भएको भेटवार्तामा फ्रान्सका विमतिहरु राखेको बताए।
माक्रोंले भने, ‘हामीले हाम्रा विमतिहरु आदानप्रदान गर्यौँ र मुख्य कुरा हामीले ठोस ढंगले साझा धारणा कसरी बनाउन सकिन्छ भनी हेर्यौँ।’ फ्रान्स र रुसबीच कूटनीतिक सम्बन्ध शुरु भएको तीन सय वर्ष पुगेको अवसरमा भर्साइको दरबारमा एउटा प्रदर्शनीको माक्रों र पुटिनले उदेघाटन गरेका थिए।
फ्रान्सको विमितिमाझ माक्रोंले आतंकवादविरुद्धको लडाइँ साझा उद्देश्य हुनुपर्ने भन्दै सिरिया मामिलामा आफ्नो मुलुकले सशक्त सहकार्य चाहेको बताए। दुई नेताले युक्रेनबारे जर्मनीसँग पुनः वार्ता शुरु गर्ने सहमति गरेका छन्। युक्रेनमा रुसी हस्तक्षेपविरुद्ध फ्रान्सले कडा अडान लिंदै आएको छ।
युक्रेनबारेको सहमतिबीच पुटिनले रुसविरुद्धको प्रतिबन्ध सहयोगी नभएको बताएका छन्। पुटिनले पछिल्ला वर्षमा गरिएका प्रतिबन्धहरुपछि रुसले फ्रान्ससँग आर्थिक सम्बन्ध सुदृढ तुल्याउन चाहेको बताए। उनले रुसमाथिको प्रतिबन्ध हटाइनुपर्नेमा जोड दिए।
फ्रान्सको राष्ट्रपतीय निर्वाचनलाई प्रभावित गर्न आफूले माक्रोंका प्रतिद्वन्द्वी मारिन ल पेनलाई भेटेको आरोप चाहिँ पुटिनले अस्वीकार गरेका छन्। फ्रान्सको दोस्रो चरणको राष्ट्रपतीय निर्वाचनमा ल पेन माक्रोंसँग पराजित भएकी थिइन्।
प्रतिक्रिया