न्यूयोर्क । जी सेभेन समूहका विश्वका धनी देशका नेताहरू जलवायु परिवर्तनबारे कुनै संयुक्त धारणामा सहमति नै नगरी इटलीबाट फर्किएका छन् । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले प्यारिश जलवायु सम्झौताप्रति पुनः प्रतिबद्धता जनाउन अस्वीकार गरेका छन् भने हरित गृह ग्यासको उत्सर्जन कटौती गर्ने उक्त सम्झौताप्रति अन्य ६ वटा देशले आफ्नो समर्थन व्यक्त गरेका छन् । राष्ट्रपति ट्रम्पले अर्को हप्ता उक्त विषयमा निर्णय लिने बताएका छन् । यसअघि विगतमा उनले प्यारिश सम्झौताबाट अमेरिका अलग हुने चेतावनी दिंदै आएका थिए । उक्त सम्मेलनको अवधिभर नै ट्रम्प अन्तर्राष्ट्रिय कानुन तथा महासन्धिहरू पालना गर्न कति तत्पर छन् भन्ने प्रश्न टड्कारो रूपमा उठेको थियो । र, खासगरी बहुपक्षीय सहमतिहरूबाट आतंकवादको जोखिम कम गर्न बढी रुचि देखाउने गरेको ठानिएका ट्रम्पले जी सेभेनका आफ्ना साझेदारहरूसँग अरू बढी सामूहिक रूपमा काम गर्ने इच्छा देखाएका छन् । तर जलवायु परिवर्तनको मुद्दामा भने ट्रम्प एक्लै उभिए ।
सम्मेलनको अन्त्यमा जारी गर्ने भनिएको एउटा संयुक्त वक्तव्य ६ नेताहरूले कार्बन ग्यासको उत्सर्जन कटौती गर्न दुई वर्षअघि हस्ताक्षर गरिएको जलवायु सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका थिए । तर ट्रम्पले त्यसले अमेरिकी रोजगारीमा नकारात्मक असर पार्न सक्ने भन्दै समर्थन गर्न मानेनन् अनि एक हप्ताको समय उपलब्ध गराउन माग गरे । त्यसप्रति जर्मन चान्सलर एंगेला मर्केल भने असन्तुष्ट देखिइन् । मर्केलले जलवायु परिवर्तनसम्बन्धी बहस कठिन र असन्तोषजनक रहेको प्रतिक्रिया दिइन् । उक्त सम्मेलनमा व्यापारसम्बन्धी एउटा समझदारी पनि भएको छ जसमा संरक्षणवादविरुद्ध लड्ने आवश्यकता औँल्याइएको छ तर पूर्वाग्रही व्यापार प्रवृत्तिबारे वाशिङटनका चासोहरूलाई पनि सम्बोधन गर्ने प्रयत्न गरिएको छ ।
फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँ भने बढी नै आशावादी सुनिए । उनले जी सेभेन समूहका ६ सदस्य राष्ट्रहरूबीचको एकताबारे महत्वपूर्ण कुराकानी भएको भन्दै त्यसले प्रभाव पार्न सक्ने बताए । राष्ट्रपति ट्रम्पका सल्लाहकारहरूले उनको सोचाई बदलिँदै गएको बताएका छन् तर त्यो कुन दिशामा हो भन्ने चाहिँ खुलाएका छैनन् । नौ दिनको आफ्नो पहिलो विदेश यात्रापछि राष्ट्रपति ट्रम्प अमेरिका फर्किंदै छन् । सिसीलीमा अमेरिकी सैनिकहरूलाई सम्बोधन गर्दै उनले आफ्नो भ्रमण उपलब्धिमूलक रहेको बताएका थिए । तर साउदी अरेबीया र इजरेललाई उनले भ्रमणका क्रममा दिएको समर्थन र नेटो र जी सेभेनका आफ्ना साझेदारहरूका चासोमा उनीबाट व्यक्त प्रतिक्रियाहरू आपसमा बाझिएको देखिन्छ । संवाददाता जेम्स लान्डेल भन्छन्, ‘डोनल्ड ट्रम्पको नेतृत्वमा अमेरिकाले विश्वमा खेल्ने भूमिका अझै विकासकै चरणमा रहेको जस्तो देखिन्छ ।’
प्रतिक्रिया