पुलिसको विजयी सुरुआत

main news

काठमाडौं। विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा बुधबार भएको खेलमा पुलिसले सुदूरपश्चिमाञ्चल विकास क्षेत्रलाई ७ विकेटले हराएको हो । पहिले ब्याटिङ गरेको सुदूरपश्चिमाञ्चलले ४९औँ ओभरमा अलआउट हुनुपूर्व १ सय ७० रन बनायो । जवाफमा मध्यम चुनौती पुलिसले २४ दशमलव ४ ओभरमा ३ विकेट गुमाएर पूरा गरेपछि पहिलो जित निकाल्यो । पुलिसको जितमा अमित श्रेष्ठले बलियो ७५ रनको अर्धशतकीय पारी खेले । उनले ६३ बलमा ८ चौका र ३ छक्का प्रहार गरे ।

दिलिप नाथले ५० बलमा ४ चौका र १ छक्काको मद्दतले ४० रनको योगदान दिए । पुलिसले पहिलो विकेटको रूपमा शंकर रानालाई शून्यमै गुमायो । तर, त्यसपछि सम्हालिँदै दोस्रो विकेटका लागि अमित र दीलिपले १ सय २८ रनको साझेदारी गरे । पुलिसका दीपेन्द्र सिंह एरी २७ रनमा अविजित रहे । आक्रमक ब्याटिङ गरेका एरिले १९ बलमा ६ चौका प्रहार गरे । सुदूरपश्चिमाञ्चलको बलिङमा भीम सार्की, विकास अग्री र सागर भण्डारीले समान १–१ विकेट लिए । अन्य बलरले कुनै यादगार बलिङ गर्न नसकेपछि पुलिसले सहज जित निकाल्यो ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमाञ्चलले ४८ दशमलव ४ ओभरमा अलआउट हुँदै १ सय ७० रन जोडेको थियो । सुदूरपश्चिमाञ्चलका लागि ज्ञानेन्द्र कुँवरले ४९ तथा भीम सार्कीले २८ रन जोडे । ज्ञानेन्द्रको पारीमा ५ चौका र भीमको पारीमा २ चौका समावेश थियो । सुदूरपश्चिमाञ्चलका सन्तोष भाटले २५ तथा रोशन नेपालीले २१ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उलेख्य रन जोड्न सकेनन् । सुदूरपश्चिमाञ्चललाई मध्यम स्कोरमा रोक्न पुलिसका सुशील कँडेलले ५ तथा ललित भण्डारीले ३ विकेट लिए । सुशील खेलको ‘म्यान अफ द म्याच’ घोषित भए । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा बिहीबार पुलिस क्लबले पूर्वाञ्चलसँग खेल्नेछ ।
जितसँगै समूह ‘बी’मा रहेको पुलिसले २ अंक जोडेको छ । लिग कम नकाउटका आधारमा हुने प्रतियोगितामा ५ विकास क्षेत्रसहित विभागीय टोलीहरू नेपाल आर्मी, सशस्त्र प्रहरी र नेपाल प्रहरी गरी ८ टिमले प्रतिस्पर्धा गरिरहेका छन् । विजेताले हालसम्मकै सर्वाधिक पुरस्कार राशि २० लाख तथा उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउनेछन् । सेमिफाइनलमा पुग्ने टोलीले ५० हजार र प्रत्येक लिगमा जित्ने टिमले २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । प्रतियोगिताको म्यान अफ दी सिरिजले १ लाख रुपैयाँ हात पार्दा उत्कृष्ट ब्याट्सम्यान र उत्कृष्ट बलरले समान ५०–५० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

प्रतिक्रिया