भारतमा तिर्थयात्री चढेको बस दुर्घटना, २१ जनाको मृत्यु

bus_accident-1
काठमाडौं, १० जेठ ।  भारत इन्दौरका तीर्थयात्रीहरू चढेको बस गंगोत्री धामबाट फर्किने बेला गंगोत्री राजमार्गको नालूपानीनजिकै भागीरथी नदीमा खस्दा २१ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सात जनालाई सुरक्षित उद्धार गरेर उत्तरकाशीको जिल्ला अस्पतालमा भर्ना गरिएको छ । दैनिक भास्करको समाचारमा उल्लेख गरिएअनुसार दुई जना यात्री बेपत्ता छन् ।

मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले मृतकका परिवारलाई तत्काल राहतस्वरूप दुई–दुई लाख रुपैयाँ दिने घोषणा गरेका छन् । उत्तराखण्डका मुख्यमन्त्री त्रिवेन्द्रसिंहले समेत दुर्घटनामा मृत्यु  हुनेका परिवारजनलाई एक एक लाख र घाइतेहरूलाई ५०–५० हजार सहयोग गर्ने घोषणा गरेका छन् ।

तीर्थयात्रीहरू चढेको उक्त बस १२ मईमा बेटमाबाट हिँडेको थियो । बसमा बेटमा र नालछाका यात्रीहरू थिए । मंगलबार बिहान गंगोत्री धामको दर्शन गरिसकेपछि यो बसका ५७ जना तीर्थयात्रीहरू दुईवटा बसमा बाँडिएर केदारनाथ धाम जाँदै थिए । एउटा बसमा ड्राइवर र कन्डक्टरसहित ३१ जना यात्री थिए भने अर्कोमा ३० जना थिए । दुइटै बस अगाडि पछाडि हुँदै हिँडिरहेका थिए । समाचारअनुसार साँझ करिब छ बजे ३० यात्री रहेको बस उत्तर काशीबाट २५ किलोमिटर टाढा ऋषिकेशतर्फको बाटोमा ३०० मिटर तल खोँचमा खस्यो र बसमा रहेका केही यात्रीहरू भागीरथीमा खसे । डरलाग्दो मोडमा सन्तुलन बिग्रिँदा बस दुर्घटनाग्रस्त भएको समाचारमा उल्लेख छ ।

प्रतिक्रिया