अमेरिका र साउदी अरबबीच साढे तीन खर्ब डलरको सम्झौता

_trump_saudi_saudipresshandout
काठमाडौं, ७ जेठ । आफ्नो पहिलो विदेश भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले साउदी अरेबियासंग तीन सय ५० अर्ब डलर बराबरका सम्झौता गरेका छन्।

उक्त सम्झौता अन्तर्गत एक सय १० अर्ब डलरको हतियार खरिद सम्झौता पनि रहेको छ। ह्वाइट हाउसले उक्त सम्झौता अमेरिकी इतिहासकै एकैचोटी गरिएको सबभन्दा विशाल सम्झौता भनेको छ।

अमेरिकी विदेशमन्त्री रेक्स टिलरसनले सो हतियार सम्झौता इरानको खराब प्रभावसंग जुध्न लक्षित रहेको बताए। ‘रक्षा सामाग्री तथा सेवाले साउदी अरेबिया एवं पूरै खाडी क्षेत्रको दिर्घकालीन सुरक्षालाई समर्थन गर्नेछ’, उनले भने।

राष्ट्रपति ट्रम्पका साथ उनकी श्रीमति मेलानिया ट्रम्प, छोरी अभान्का ट्रम्प तथा ज्वाइं ज्यारेड कुश्नर भ्रमण दलमा सामेल छन्। ब्रिटिश प्रधानमन्त्री टरिजा मे र जर्मन चान्सलर एंगला मर्कल जस्तै मेलानिया तथा अभान्का ट्रम्पले पनि साउदी अरेबियामा शिर छोप्ने पहिरन लगाएनन्। जबकि सन् २०१५ को जनवरीमा तत्कालीन फर्स्ट लेडी मिशेल ओबामा उसैगरि साउदी अरेबिया पुग्दा डोनाल्ड ट्रम्पले ट्वीटमार्फत आलोचना गर्दै मिशेल ओबामाले साउदी अरेबियाको अपमान गरेको जनाएका थिए।

आठ दिने विदेश भ्रमणका क्रममा ट्रम्प इजराइल, बेल्जियम तथा इटली पनि पुग्नेछन्। त्यसअघि रियादमा उनले ४० मुसलमान देशका नेताहरुलाई सम्बोधन गर्ने कार्यक्रम छ। अरब इस्लामिक अमेरिकन शिखर सम्मेलनलाई सम्बोधन गर्दै उनले इस्लामको शान्तिपूर्ण दृष्टिप्रतिको आशाबारे बोल्नेछन्।

अमेरिकामा एफबीआइका प्रमुख जेम्स कोमीलाई बर्खास्त गरेपछि उत्पन्न विवादका माझ उनी विदेश भ्रमणमा निस्किएका हुन्।

प्रतिक्रिया