‘हेपाटाइटिस बी’ विरुद्ध सद्भावनादूत बने अमिताभ

amatav bachhan

भारत । विश्व स्वास्थ्य संगठनले भारतीय सिने जगत्का चर्चित नायक अमिताभ बच्चनलाई दक्षिण पूर्वी एसियाका लागि ‘हेपाटाइटिस बी’ विरुद्धको अभियानका सद्भावना राजदूत नियुक्त गरेको छ । विश्व स्वास्थ्य संगठनले प्रेसविज्ञप्ति जारी गर्दै ‘हेपाटाइटिस बी’ विरुद्धको सचेतना र यसको महामारीविरुद्ध लड्न यसले मद्दत पुग्ने विश्वास गरेको छ । ‘म यसको पीडासँग अवगत छु । तसर्थ यस अभियानप्रति पूर्ण प्रतिबद्ध छु’, विश्व स्वास्थ्य संगठनद्वारा आयोजित कार्यक्रममा महानायकले भने ।  विश्व स्वास्थ्य संगठनकी क्षेत्रीय प्रमुख डा. पुनम क्षेत्रपाल सिंहले कार्यक्रमलाई सम्बोधन गर्दै हेपाटाइटिस व्यक्तिको मृत्युदरसँग मात्र नभएर समग्रमा यसक्षेत्रको विकासमा पनि अवरोधका रूपमा रहेको बताइन् ।

विश्व स्वास्थ्य संगठनका अनुसार दक्षिण पूर्वी एसियामा उत्पादनशील उमेर समूहका करिब ४,१०,००० मानिस वार्षिक रूपमा हेपाटाइटिसका कारण मर्ने गरेका छन् । यही रोगका कारण नौ करोड मानिस प्रभावित भएका र लिभर क्यान्सरको जोखिममा पर्ने गरेका छन् । यो रोग निवारण खासै जटिल नहुँदा पनि यस्तो स्थिति रहनु दुर्भाग्यपूर्ण भएको विज्ञप्तिमा जनाइएको छ । भारतीय स्वास्थ्यमन्त्री जे पि नन्दाले उक्त अवसरमा भिडियो सन्देश दिँदै विश्व स्वास्थ्य संगठन र महानायकलाई बधाई दिएका थिए । उनले भने, ‘कुनै सांस्कृतिक, धार्मिक वा जातीय अवरोधविना सबैले सुन्ने आवाज हो बच्चन, जुन हामीले पोलियोविरुद्धको अभियानमा देखिसकेका छौं । त्यसैले यो कार्य सराहनीय छ ।’बच्चनले जनचेतना जगाउने, रोगको पहिचानकालागि प्रेरित गर्ने र समयमा उपचार गराउन उत्प्रेरित गर्ने काममा सहयोग गर्नेछन् ।

बच्चाको जन्मपछि दिने खोपका बारेमा, खानपिन तथा पानीको राम्रो ख्याल गरेमा हेपाटाइटिसबाट सजिलै बच्न सकिन्छ ।‘बच्चनको सहयोगले २०३० सम्म हेपाटाइटिस निर्मूल गर्ने विश्व स्वास्थ्य संगठनको प्रयासलाई मद्दतले पुग्नेछ’, डा. सिंहले भनिन् । बच्चनको विश्व स्वास्थ्य संगठनसँगको यो पहिलो अनुभव हो । योभन्दा पहिले युनिसेफको पोलियोविरोधी अभियान, खोप र स्वच्छ भारत अभियानका समेत सद्भावना राजदूत रहिसकेका छन् ।

प्रतिक्रिया