मतदाता नामावलीबारे धेरैमा अज्ञानता

mat data namawaliकाठमाडौं २८ वैशाख । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनबारे आवश्यक जानकारी दिन स्थापना गरेको ‘कल सेन्टर’ मा मतपत्र र मतदाता नामावलीका सम्बन्धमा बढी जिज्ञासा आउने गरेका छन् ।  आयोगले यही १५ वैशाखदेखि सुरु गरेको कल सेन्टरमा औसतमा मतदाता शिक्षा, मतदाता नामावली, मतपत्र तथा मतदान गर्ने तरिका, आचारसंहिता, आयोगको वेबसाइट, निर्वाचनमा सुरक्षालगायत विषयमा जानकारी लिन दैनिक सयौँ टेलिफोन आउने गरेका छन् ।

आयोगले उम्मेदवार, मतदातालाई तथा जिज्ञासा राख्ने जोसुकैलाई निर्वाचनका बारेमा जानकारी दिन मुलुकभरबाट फोन गर्दा पैसा नलाग्ने टोल फ्रि नम्बर १६६००१४४२२२ को टेलिफोन व्यवस्था गरेको आयोगका प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । कल सेन्टर दोस्रो चरणको निर्वाचन हुने मिति आगामी ३१ जेठसम्म सञ्चालनमा रहनेछ । कल सेन्टरमा एकैपटक ६ जनाले सँगै फोन गर्नसक्ने र त्यति नै संख्याका फोन प्रतिक्षामा रहने व्यवस्था गरिएको छ । फोन रिसिभरले फोनमा आएका जिज्ञासाको अवस्था हेरेर तत्काल समाधान गर्ने र अन्यको हकमा सम्बन्धित शाखाबाट जानकारी लिई जिज्ञासा मेट्ने काम गरिरहेको आयोगका उपसचिव तथा कल सेन्टरका संयोजक विशकसेन ढकालले बताए ।  ‘आचारसंहिता कहीँ कसैले उल्लंघन गरेको जानकारी आएमा त्यसको निश्चित गरेर आयोगको सम्बन्धित निकायमा खबर पु¥याइदिन्छाँै, बढी जिज्ञासा आउने विषय मतदाता नामावली हेर्न छुट्टै प्राविधिज्ञ राखेका छौँ’, संयोजक ढकालले बताए । टेलिफोनमा धेरैले मतदाता नामावलीमा नाम हेर्न र मतपत्रमा मतदान गर्ने तरिकाका बारेमा सोध्ने गरेको उनले जानकारी दिए ।
मतपत्रमा पहिलो लाइनमा अध्यक्ष÷प्रमुख, दोस्रो लाइनमा उपाध्यक्ष÷उपप्रमुख, तेस्रो लाइनमा वडाध्यक्ष, चौथो लाइनमा महिला सदस्य, पाँचौँ लाइनमा दलित महिला सदस्य तथा छैटौँ र सातौँ लाइनमा दुई अन्य खुला वडा सदस्यका लागि रहेको छ । मतपत्रको छैटाँै र सातौँ लाइनमा संसद्मा प्रतिनिधित्व गर्ने दलका उम्मेदवारका लागि मतदातालाई उम्मेदवार पहिचान गर्न सहज होस् भनेर छैटौँमा एक चुनाव चिह्न र सातौँमा एकै दलको दुई चुनाव चिह्न राखिएको छ । यस विषयमा धेरै मतदातामा द्विविधा देखिएको छ । खुला दुई वडा सदस्यका बारेमा मतदातालाई पहिचान गर्न उम्मेदवारको वर्णानुक्रमानुसार पहिलोलाई एक चिह्न र दोस्रोलाई दुई चिह्नको व्यवस्था गरिएको संयोजक ढकालले बताए । स्वतन्त्र उम्मेदवारका लागि भने सबै लाइनमा एकै चुनाव चिह्न राखिएको छ ।
कल सेन्टरको व्यवस्थापनमा खटिएका नेपाल टेलिकमका इन्जिनियर द्रोण घिमिरेका अनुसार दैनिक दुई सयभन्दा बढी फोन आउने गरेको र बुधबार बिहानसम्म जम्मा एक हजार ६ सय ५१ फोन आइसकेको छ । आएका फोनमध्ये सबैभन्दा बढी मतदाता शिक्षा, मतदाता नामावली, मतदान प्रक्रिया, आचारसंहिताबारे रहेका छन् । कल सेन्टरका फोन रिसिभर (फोन उठाउने) लक्ष्मी गैरेले निर्वाचनका कार्यक्रमअनुसार नै दिनैपिच्छे जिज्ञासा पनि फरकफरक आउने गरेको बताइन् । कल सेन्टर बिहान आठदेखि साँझ आठसम्म निरन्तर खुला रहन्छ । कतिपयले कहिलेकाहीँ टेलिफोनमा जानकारी पाउन किन ढिला भयो, आयोगले विद्यालयमा मतदान केन्द्र राख्दा विद्यार्थीको पढाइमा अवरोध हुँदैन त भन्ने गुनासो पनि पोख्ने गरेका छन् ।
मुलुकमा झन्डै दुई दशकपछि हुन लागेको स्थानीय तहको निर्वाचनमा मतपत्र बदर नहोस् भनेर आयोगले निर्वाचन चिह्नबारे जानकारी दिन यही २८ देखि ३० वैशाखसम्म ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता÷स्वयंसेवक परिचालन गर्ने जनाएको छ । यस निर्वाचनमा ६ आकारका मतपत्र छन् । सबैभन्दा बढी ६८ लहर (चुनाव चिह्न) भएको मतपत्र काठमाडौंलगायत बढी दल दर्ता भएका जिल्लामा छ भने सबैभन्दा सानो थोरै दल भएको मनाङलगायत जिल्लामा १८ लहर भएको मतपत्र छ । अन्य जिल्लामा ४४, ३६, २८ र २२ लहर भएको मतपत्र रहेको आयोगले जनाएको छ । प्रदेश नं ३, ४ र ६ मा यही ३१ वैशाखमा हुने पहिलो चरणको निर्वाचनमा मतदान गर्ने समय बिहान सात बजेदेखि अपराह्न पाँच बजेसम्म छ । आयोगले वैशाख २८, २९ र ३० गते सबै मतदान केन्द्रबाट मतदाताको परिचयपत्र वितरण गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया