सांसदले इन्जिनियर कुटेपछि . . .

वीरगञ्ज । वीरगञ्जस्थित सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका प्रमुख सरोज गोइतले आफूलाई पर्सा क्षेत्र नम्बर ३ का सांसद राजकुमार गुप्ताले कुटपिट गरेको गुनासो गरेका छन् । गोइतले मंगलबार पत्रकार सम्मेलनको आयोजना गरेर गुप्ताका कार्यकर्ताहरूलाई प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरेले कारबाही गर्नुका सट्टा उल्टै आफूलाई कारवाहीका लागि मन्त्रालयमा चिठी लेखेको दोषारोपण गरे । आफूलाई सांसद गुप्ता र उनका कार्यकर्ताले गत शुक्रबार कुटपिट गरेपछि न्याय माग्न जाँदा प्रमुख जिल्ला अधिकारी घिमिरेले कुटपिटमा संलग्नलाई कारवाही गर्नुको सट्टा उल्टै आफूलाई कारवाही गर्न सहरी विकास तथा भवन निर्माण विभागमा चिठी लेखेको दाबीसमेत गरे ।
जनता आवास कार्यक्रमका विषयमा गत शुक्रबार सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयमै कार्यालय प्रमुख गोइत र सांसद गुप्ताबीच हात हालाहाल भएको थियो । जनता आवास कार्यक्रमका लागि करारमा नियुक्त गरिएका १२ जना कर्मचारीको नियुक्तिसम्बन्धी जानकारी माग्न गएका सांसद गुप्ता, उनका कार्यकर्ता र पर्सा क्षेत्र नम्बर १ का सांसद राजेन्द्रबहादुर अमात्यका कार्यकर्ताले कार्यालय प्रमुख गोइतलाई कुटपिट गर्दै लछापछार गरेर नजिकै रहेको जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारी घिमिरेको कार्यकक्षमा लगेको प्रत्यक्षदर्शी कार्यालयका कर्मचारीहरूले बताएका थिए । गोइतमाथि भएको दुव्र्यवहार र हातपातको घटनाको विरोधमा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालयका कर्मचारीहरूले मंगलबार काम बन्द गरेका छन् । कार्यालय प्रमुखमाथि भएको हातपातको घटनाको विरोधमा मंगलबार एक दिनका लागि पेन डाउन गरेर काम बन्द गरिएको कार्यालयका इन्जिनियर कार्तिकेश झाले बताए ।
सांसद गुप्ताले आफ्ना एक जना कार्यकर्तालाई करारमा नियुक्त गर्न दिएको दबाब आफूले नमानेपछि आफूमाथि कुटपिट र दुव्र्यवहार गरिएको कार्यालय प्रमुख गोइतले बताए ।‘एक त मैले कुटाइ पनि खाएँ, साराका सारा कर्मचारीहरूको अगाडिबाटै मलाई लछारपछार गर्दै सिडिओसाबको चेम्बरमा पनि लगियो’, उनले भने, ‘तर सिडओसाबले न्याय दिनुको सट्टा उल्टै मलाई कारवाहीका लागि सहरी विकास तथा भवन निर्माण विभागमा पत्र लेखिदिनुभयो, सिडिओसाबको यो कदमले म अत्यन्त दुःखी छु ।’आफूमाथि भएको अन्याय र कर्मचारीको सुरक्षाका बारेमा ध्यानाकर्षण गराउनका लागि मंगलबार जिल्ला प्रशासन कार्यालयमा जाँदा प्रमुख जिल्ला अधिकारी घिमिरेले भेट्न अस्वीकार गर्दै फर्काइ दिएको पनि कार्यालय प्रमुख गोइतले थप गुनासो गरे ।
उनले आफू मन्त्रालयमा दुई महिनाको लागि काजमा गएका बेला त्यसबेलाका निमित्त कार्यालय प्रमुख इन्जिनियर श्रीभगवान् गुप्ता र सबइन्जिनियर राजेन्द्र साहले मिलेर जनता आवास कार्यक्रमका लागि चार जना कर्मचारी नियुक्त गरेको र मन्त्रालयबाट काज फिर्ता गराएर आफू वीरगञ्ज आएपछि आफूले पनि सामुदायिक परिचालक, कार्यालय सहयोगी र कम्प्युटर अपरेटर पदमा आठ जनाको करारमा नियुक्ति गरेको बताए । विभागबाट पदपूर्ति नभएपछि प्रक्रिया पूरा गरेर नै आफूले आठ जनाको नियुक्ति गरेको कार्यालय प्रमुख गोइतको दाबी थियो । प्रमुख जिल्ला अधिकारी घिमिरेले भने कार्यालय प्रमुख गोइतले आफूमाथि हातपात भएको बारेमा लिखित निवेदन नदिएको बताए । उनले पहिले पनि गोइतले सेवाग्रीसँग अनावश्यक विवाद गर्दै झगडा गर्ने गरेको, कार्यालयको जिम्मेवारी इमानदारीपूर्वक निर्वाह नगरेको र आर्थिक अनियमितता गरेकोजस्ता गुनासा आइसकेको भन्दै घिमिरेले शुक्रबारको घटनापछि आफूले गोइतविरुद्ध कारवाहीका लागि सहरी विकास तथा भवन निर्माण विभागमा पत्र लेखेको स्पष्ट पारे ।
‘जे घटना भएको छ, मैले त्यही लेखिदिएको हुँ’, उनले भने । ‘मैले गोइतलाई अब विभागमै गएर आफ्ना कुरा राख्नु होला भनेर भनेपछि मंगलबार अचानक कार्यालयको काम नै बन्द गरेर कर्मचारीको हुल लिएर धम्कीपूर्ण शैलीमा आएपछि मैले नभेटेको हुँ’, घिमिरेले भने । सांसद गुप्ताले भने जनता आवास कार्यक्रमका लागि पर्सामा आएको २२ करोड ८० लाखको बजेट कार्यालय प्रमुख गोइतकै कारण फ्रिज हुने सम्भावना बढेर गएको बताए ।चालु आर्थिक वर्ष सकिन अब दुई महिना मात्रै समय बाँकी रहेको भन्दै उनले अहिलेसम्म जनता आवास कार्यक्रमका लागि केही पनि काम हुन नसकेको जिकिर गरे ।
सांसद गुप्ताले गोइतले कुनै पनि सूचना प्रकाशन नगरी अनियिमित तरिकाले आफूनिकटका १२ जना कर्मचारी नियुक्त गरेको आरोप लगाउँदै सांसद गुप्ताले कर्मचारी नियुिक्तमा भएको अनियमितताका बारेमा सोधीखोजी गर्दा गोइतले शुक्रबार आफूलाई पनि दुव्र्यवहार गरेको प्रतिआरोप लगाए ।
गरिबीको रेखामुनि रहेका डोम, मुसहर, चमारलगायत समूहका लागि सरकारले पर्सामा चालु आर्थिक वर्षदेखि जनता आवास कार्यक्रम लागू गरेको हो । जसअन्तर्गत पर्सा जिल्लामा हजार वटा घर बनाउने कार्यक्रम रहेको छ ।प्रतिघरका लागि सरकारले दुई लाख २८ हजार रुपैयाँ विनियोजन गरेको छ । जनता आवास कार्यक्रमका लागि पर्सामा १६ हजार पाँच सय ७० जनाको निवेदन परेको छ ।आवेदन परेकाहरूको बारेमा सहरी विकास तथा भवन निर्माण डिभिजन कार्यालय वीरगञ्जले पर्साको पाँच वटै निर्वाचन क्षेत्रमा गरी साविकको १५ वटा गाविसमा स्थलगत सर्भे गरिरहेको छ ।

प्रतिक्रिया