भनिन्छ, ‘मेनी एनिमल्स इन द वल्र्ड, सम आर मोर इक्वाइल देन अदर्स’ मान्छे सजीवमध्येको एक प्राणी जो अरू प्राणीभन्दा फरक किसिमले बाँचेको हुन्छ । यो जगतमा जहाँ हरेक जीवहरू बाँचिरहेका हुन्छन् । उसलाई जन्माउने आमाको कोखबाट सुरु भएको सिकाई प्रक्रिया मृत्यु पर्यन्तसम्म चलिरहन्छ । यो बीचमा मनोविज्ञानका विभिन्न अवस्था पार गर्नुपर्ने हुन्छ । बाल्यकालदेखिको उसको अनुभव बुढेसकालसम्म कहानी बनिसक्छ । अनि त्यही कहानीलाई आफ्ना सन्तानहरूलाई तथा छिमेकीका सन्तानहरूलाई साँझपख हुक्कामा तमाखु तान्दै सुनाइरहेको हुन्छ । भनिन्छ नि ‘आनेवाला कल एक सपना हे, गुजराहुवा कल बस् अपना हे’ .नभनौँभन्दा पनि बितेको समय उसका लागि टाइमपास गर्ने माध्यम बन्छ बुढो भएपछि ।
त्यही मानव समुदायको एक बुढो पहाडी बस्ती, छरपुष्टिएका घरहरूको समूहको सदस्य घरमा जन्म लिन्छ । अरू गाउँका केटाकेटी जस्तै बालापन बित्छ, गाईबस्तुसँग । छुट्टीमा गोठालो जानु, असोजको लहलह झुलेका धानका बालासँग खेल्नु वा त्यसबाट निस्कने मीठो संगीतसँग रमाउनु, असारे गीतसँग धान रोपाइँ गर्नुु, उसको दौतरीसँग माटोका खेलौना बनाई रमाउनु, उसको बालापनका क्रियाकलापहरू हुन् । समयको बेग आफ्नै गतिमा चलिरहन्छ । त्यसै किसिमले भगवान्ले दिएको यो जीवन पनि समयसँगै बालक युवा हुँदै बुढेसकालसम्म पुग्छ । अब ऊ त्यही प्रक्रियाअनुसार युवा अवस्थामा पुग्छ । उसको मनमा सोच आउँछन् मैले पढ्नुपर्छ ठूलो मान्छे बन्नुपर्छ, विवाह गर्नुपर्छ, नेता बन्नुपर्छ, रंगकर्मी बन्नुपर्छ, यस्तै यस्तै ।
एउटा गीतका शब्दमा भनेजस्तै ‘जीवन सोचेजस्तो हुन्न चाहेजस्तो हुन्न’ । तर, संघर्षका पाइलाहरू बढाइराख्ने उसको चाहना छ । गाउँले जीवनको स्वादमा हुर्किएको, न उसले गाडी चढेको अनुभव छ, न उसलाई टेलिभिजन भन्ने थाहा छ । गोठालो जाँदा छुट्टीको समयमा केबल रेडियो उसको साथी बनेको हुन्छ । अब उसले प्रवेशिका परीक्षा पास गर्छ । घरको सल्लाह बमोजिम अब पढ्न भनेर सहर पठाउने निर्णय हुन्छ । गाउँको सोझो अब ऊ सहरको कल्पना गर्छ । गाडीहरू कस्ता होलान् ? मान्छे के फरक होलान् ? के काम गर्छन् होलान् ? यस्तै यस्तै ।
उसलाई पढ्न भनेर काठमाडांै पठाइन्छ । जुन सहरलाई बुढापाखाहरूले नेपाल भन्ने गर्थे । दुई दिनको पैदल यात्रा पछि गाडीघाटमा पुग्दा गाडी देखेर अचम्मित हुन्छ । साथै उसलाई डर पनि लाग्छ । बाटोभरि झ्याल बाहिरको आनन्दसँग रमाउने चाहना त होइन उसको तर पहिलो यात्रा भएकोले बान्ता गर्ने समस्याले सताउँछ । बल्ल एक डेढ दिनको लामो बसको यात्रापछि गन्तव्यमा पुग्छ काठमाडौं । उसले कल्पना गरेकोभन्दा फरक पाउँछ सहरका मान्छेको क्रियाकलाप, भौतिक संरचना प्रकृति र अन्य मानवबाट निर्मित बस्तुहरू । बुबाले भनेका थिए उसलाई ‘पढेर ठूलो मान्छे बन्नुपर्छ, बुबाआमाको इज्जत राख्नुपर्छ, चोरी डकैती, झैझगडाजस्ता बदनाम हुने काम कहिल्यै गर्नु हुँदैन’ भनेर । ठ्याक्क त्यहीबेला देशमा द्वन्द्वले जरा गाडेको हुन्छ । दिनदिनै बन्द हड्ताल मारपिटले गर्दा उसको मानसपटलमा फरक सोच पैदा हुन्छ । अब त रेडियोको साटो उसले मान्छेलाई टेलिभिजनमा देख्छ र सुन्छ, समुद्रभित्र माछासँग मान्छे रमाएको देख्छ, आकासमा चराजस्तै ठुल्ठूला जहाज मान्छे बोकेर उडेको देख्छ, विदेशमा नेतासहित उनीहरूको भाषण सुन्छ भने एकातिर विदेशमा पनि अशान्ति झै–झगडा सयौँको संख्यामा मान्छे मरेको देख्छ । लाग्छ, यो संसार पनि यस्तै अनि गीतका शब्द सम्झन्छ, ‘त्यस्तै त्यस्तै छ नरोऊ निरमाया संसार यस्तै छ ।’
विश्वका अरू देश यस देश भित्रका क्रियाशील सदस्यहरू देख्छ । चाहे खेलजगत होस्, चाहे राजनीतिक होस्, चाहे विज्ञान चाहे त्यो प्रकृति नै किन नहोस् । द्वन्द्वसँगै आफ्नो पढाइलाई निरन्तर दिन्छ । समय न हो मिहिनेत गरेपछि सफल भइँदोरहेछ भन्ने कुरा पास गरेर प्रमाणित गर्छ । द्वन्द्वको उग्ररूप देशप्रतिको चिन्ता एकातिर छ भने आफ्नो खुट्टामा उभिई जागिर खाएर विवाह गरेर नयाँ संसारमा आमाबुबाको सेवा गर्ने धोको अर्कातिर छ । युवा भएर शिक्षाका हिसाबले जागिर खोज्न विभिन्न कार्यालय धाउँछ । तर, ऊ असफल यात्री भैm डेरा फर्कन्छ । त्यो निर्दयी सहरमा आफूलाई एक्लो सम्झन्छ । ठूलावडाको नातेदार नभएकोले जागिर पाउन असफल भएको उसलाई भान हुन्छ । युवा थियो, दही र दूधसँग खाना खाएको हष्टपुष्ट शरीर हेर्दा सेकेन्ड लेफ्टिनेन्टभन्दा कम थिएन । देशले कस्तो खोज्दो रहेछ त ? आपैmँ अनुत्तरित हुन्छ ।
स्पेनले ओलम्पिकमा यति स्वर्ण ल्यायो, अमेरिका पहिलो स्थानमा नै छ, बिटे«नको प्रदर्शन राम्रो नै छ । सचिन तेन्दुलकर क्रिकेट सम्राट, सेरिना भिलेन, भेनम विलियम, त्रिस्चियानो रोनाल्डो वर्ष खेलाडी, लियोनन मेसस्, माइकल फेल्सजस्ता विभिन्न खेलाडीको खेल हेरेर जितेको देख्दा आफू पनि नेपाली युवा भएर केही नगरेकोमा आफूलाई धिक्कार्छ । विश्वका केही देश चन्द्रमामा पुगेको खबर वर्षन्छ तर नेपाल शान्तिका प्रतिक बुद्ध जन्मेको देश जहाँ हरेक दिन बन्द, झैझगडा आन्दोलन, खेलकुददेखि राजनीतिसम्म सोमालियाजस्तै पछिपरेको देख्दा प्राकृतिक विपद्मा परी ज्यान गुमाएको देख्दा, तराई आन्दोलनमा छोरो गुमाएर छट्पटिरहेकी युवती या महिलालाई देख्दा, पिठ्यूमा ५० किलोको भारी बोकेर उकालीको बाटो हिँडी बालबच्चा पाल्नेहरूको व्यथा देख्दा, रेडियो तथा नेपाल टेलिभिजनबाट आपत् तथा विपत्तीका घटनाहरूको समाचारहरू सुन्दा तथा देख्दा, सहरमा रोजगार नपाई विदेश जान खोज्दा असफल भएर देशको स्थिति नसुध्रिएको भन्ने भान भएर आफ्नो जन्मभूमि फर्कने विचार गर्छ ।
जहाँ उसको बालापन थियो । रंगीचंगी लालीगुँरासका कोणधारी जंगल कलकल बग्ने पानी, वसन्तजस्तै आआफ्नै पहिचान बोकेका ऋतुहरू र आमालाई फोन गर्छ । आमा म त्यहाँ आउँछु । मैले सकिन आमा भनेर आमाको निश्चल माया पवित्र माया, वर्षांैदेखि भेट नभएर छट्पटिएको मन आऊ छोरा दुःखसुखका तीतामीठा कुरा गरौँला भन्ने उत्तर पाएपछि त्या मरुभूमि सहरको एक कोठाबाट आफ्नो डेरा जन्मभूमि लैजाने निश्चित गर्छ । गाडीघाटमा पुग्छ र घर हिँड्ने बाटोमा सयौँपटक, चेकजाँच हुँदा फेरि द्वन्द्वको बीचमा परेझँै ऊ झस्कन्छ र घर पुग्छ । आफूले केही गर्न नसकी घर फर्केको कुरा बुढा आमाबुबालाई सुनाउँछ । आखिर छोरा न हो । विभिन्न साहानुभूतिका साथ उसलाई अब घरमै बसेर केही काम गर्ने सल्लाह दिन्छन् । फेरि उसको गाउँले जीवन सुरु हुन्छ । अनि हँसिया, कुटो, कोदालो खेतीपातीको दिनमा अनि बाँकी दिनमा बाँसुरीसँग पारी त्यो रानीवनको जंगलमा बाख्रो गोठालो । गाउँमा टिभी छैन रेडियो उसको साथी बन्छ दिनभरि गेठालो जान्छ बेलुका समाचार सुन्छ । विदेशमा गएका नेपाली कामदारको व्यथा सुन्छ ।
अनि आफूलाई नेपाली गोठालो भएकोमा गर्भ गर्छ । किनकि पल्लो गाउँको उसको साथी मलेसियामा ४५ डिग्री सेल्सियसको तापक्रममा बाख्रा चराउँदा चराउँदै मरेको घटना जीवितै थियो । उसले सोच्थ्यो प्रधानमन्त्रीको चार आँखा चार हात चार खुट्टा कसैको पनि हुँदैन तर ऊजस्ता युवालाई प्रधानमन्त्री बनाएको भए के हुन्थ्यो । नौ वर्षमा १० वटा सरकार परिवर्तन हुने कस्तो प्रजातन्त्र ? ऊ चाहन्थ्यो रानीवनको बीचबाट गाडी प्रकृतिको स्वाद, विदेशीलाई चखाउन पाए, कलकल बग्ने खोला, झरनाको उद्देश्य विदेशीको क्यामरामा कैद भइदिएको भए, विश्वको खेलाडीजस्तै हाम्रा युवा पनि चर्चित भई हामीले हौसला दिन पाएको भए, पुटिन, ओबामा, ओलान, मार्केलजस्ता नेताहरू नेपालमा पनि भइदिएको भए, एक वर्षमा सरकार परिवर्तन नभइदिएको भए, नेपाल एउटा भूपरिवेष्ठित मुलुक, पहाडी मुलुक, सगरमाथा जस्तै अरू साना हिमालको उद्देश्य हरेक देशको मानसपटलमा कैद भइदिएको भए, नेपाली युवाहरूले विदेशी दलालको दुःख नपाइदिएको भए ।
जुम्ला जस्ता स्याउ फल्ने जिल्लाको स्याउ विदेशी बजारमा पु¥याउन पाइदिएको भए । नेपाल जलस्रोतको धनी मुलुक सलल दक्षिणतिर बग्ने नदीबाट विद्युत् उत्पादन भई १८÷२० घन्टा लोडसेडिङ खेप्नुपर्ने हाम्रो सहरहरू उज्यालोले काँचुली फेरिदिएको भए, खेतीयोग्य जमिनमा सिचाइँ व्यवस्था भइदिएको भए, शताब्दीअनुसार विभिन्न प्रविधि नेपालमा भित्र्याउने चाहना ठूलावडामा भइदिएको भए । कुर्सी नै प्यारो छ, नेपाली जनता सोझा छन्, उल्टासुल्टा जसरी मरे पनि हामी ठूलै मान्छे हौँ भन्ने सोच तथा कार्य नेताहरूले नगरी दिएको भए । स्विजरल्यान्डको कुरा गर्दा जुम्लाजस्तो जिल्लाको नामै नलिई काठमाडौं, पोखरा बुटवल, वीरेन्द्रनगर, विराटनगरजस्ता सहरहरूलाई मात्र सम्झिने नेताहरूलाई के भन्ने होला ? तर, एक मान्छे पढेलेखेको गोठालो जसले संघर्ष गर्दागर्दै असफल भई बाख्रा चराउन बाध्य भएर हिँडेकोले सोचेजस्तो हुने भए ।
प्रतिक्रिया