सरकारी औषधि उद्योग पुनःसञ्चालन

 

aausadhi limited

काठमाडौं । सरकारी स्वामित्वमा रहेको औषधि उत्पादक कम्पनी नेपाल औषधि उद्योग लिमिटेडले आगामी असोजदेखि १४ किसिमका औषधि उत्पादन गर्ने भएको छ । आइतबारदेखि जीवनजल उत्पादन थालेको औषधि लिमिटेडले आगामी आसोजदेखि १४ प्रकारका औषधि उत्पादन थाल्ने उद्योग मन्त्री नविन्द्रराज जोशीले जानकारी दिए ।
साथै आउँदो वर्षको वैशाखदेखि भने ४० किसिमका औषधि उत्पादन गर्ने औषधि लिमिटेडको उद्देश्य छ । ‘सर्पले टोकेपछि उपचारका लागि चाहिने एन्टी भेनम कहिलेकाहीँ पैसा तिर्दा पनि पाइने रहेनछ, त्यसैले यसको पनि ०७६ साल वैशाखसम्ममा उत्पादन गर्ने हाम्रो लक्ष्य छ’, मन्त्री जोशीले भने । साथै आगामी तीन महिनाभित्र सिटामोललगायत नन पेन्सिलिन गु्रपका ट्याबलेटहरूसमेत उत्पादन गर्ने भएको छ । नेपाल सरकारबाट निःशुल्क वितरण गरिने ७० प्रकारका औषधि तथा सरकारले सूचीकृत गरेका अत्यावश्यक औषधिहरू नेपाल औषधि लिमिटेडबाट उत्पादन गर्नेसमेत तयारी रहेको मन्त्री जोशीले बताए ।
विगतमा एक सय बीस थरिका औषधि उत्पादन गरी बजारमा बिक्री गर्दै आइरहेको यो उद्योग ०६६ सालदेखि पूर्णरूपमा बन्द अवस्थामा रहेको थियो । तर, अहिले भने विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुसार गुणस्तरीय औषधि उत्पादन गर्न नेपाल औषधि लिमिटेडले नयाँ प्रविधिअनुरूप २७ भन्दा बढी प्रकारका आधुनिक प्रविधिले युक्त गुणस्तर जाँच गर्ने उपकरणहरू जडान गरिसकेको छ ।अर्थ मन्त्रालयले केही महिनाअघि यस उद्योगलाई पुनः सञ्चालन गर्नका लागि ६ करोड ४८ लाख रकम उपलब्ध गराएको थियो ।

प्रतिक्रिया