एजेन्सी
काठमाडौं, २५ वैशाख । आइतबार भएको दोश्रो तथा अन्तिम चरणको मतदानमा पूर्व अर्थ मन्त्री एमानुएल माक्रों फ्रान्सको नयाँ राष्ट्रपतिमा निर्वाचित भएका छन् ।
उनले आफ्नी प्रतिद्वन्द्वी मारिन ल पेनलाई ठूलै अन्तरले हराएका छन्। प्रक्षेपण गरिएका नतीजाहरुका अनुसार माक्रोंले झण्डै ६५ प्रतिशत मत पाएका छन्। उनकी प्रतिद्वन्द्वी मारिन ल पेनले झण्डै ३५ प्रतिशत मत पाएकी छन्।
३९ वर्षीय माक्रोंलाई पुरानो राजनीतिक वृत्तभन्दा बाहिरका उम्मेदवारको रुपमा हेरिएको थियो। मारिन ल पेन चाहिं कट्टर दक्षिणपन्थी नेतृ हुन् र उनले आफु विजयी भएमा फ्रान्सको सीमा नियन्त्रण गर्ने बताएकी थिइन्।
यो चुनावमा खुला मूल्य मान्यता र राजनीतिक संस्थापनलाई चुनौती दिने अर्को प्रमुख मुलुक फ्रान्स हुन्छ वा हुँदैन भनेर संसारले हेरिरहेको छ। युरोपेली संघ छाडने पक्षमा ब्रिटिश मतदाताहरुको निर्णय र अमेरिकी राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पको चयनपछि फ्रान्सेली राजनीतिले कस्तो मोड लेला भनेर हेरिएको थियो।
गत एप्रिल २३ मा भएको पहिलो चरणको मतदानमा कसैले पनि ५० प्रतिशतभन्दा बढी मत ल्याउन नसकेपछि अग्रस्थानमा रहेका म्याक्रों र ल पेनबीच एक जनालाई छान्न आइतबार दोस्रो चरणको मतदान भएको हो।
यो चुनावमा सबैभन्दा ठूलो मुद्दा बेरोजगारी रह्यो। २८ वटा इयु सदस्य मुलुकमध्ये फ्रान्समा सबैभन्दा धेरै—१० प्रतिशत – बेरोजगारी दर छ। २५ वर्ष मुनिका प्रत्येक चार जनामा एक जना बेरोजगार छन्। सन् २००८ को आर्थिक मन्दी पछि फ्रान्सले निकै सुस्त प्रगति गरिरहेको छ।
यस्तै श्रंखलावद्ध आतंकवादी आक्रमणपछि आप्रवासन र सुरक्षा पनि प्रमुख मुद्दा बनेका थिए। (बिबिसीबाट)
प्रतिक्रिया