आलुखेतीमा किरा लाग्दा किसान चिन्तित

बाजुरा । तरकारी र आलुखेतीमा किरा लागेपछि जिल्लाका किसान चिन्तित बनेका छन् । बारीमा लगाएको आलु, काउलीलगायतमा किरा लागेर तरकारी कुहिन थालेपछि किसान चिन्तित बनेका हुन् । सदरमुकाम मार्तडी नजिक भएका कारण आलु लगाए पनि किराले सखाप पारेको गडखेतका पारु रावलले बताए । उनले गहुँखेती छाडेर आलुखेती गर्दै आएका छन् । ‘किरा लागेर बीउको मूल्यसमेत आउने अवस्था छैन्’, उनले भने ।
गडखेतकै बिन्दा कठायतलगायत १८ परिवारले लगाएको तरकारीमा किरा लागेर सखाप पारेको छ । उनीहरूले जिल्ला कृषि विकास कार्यालयमै गएर रोग लागेको बारेमा जानकारी गराउँदा पनि त्यसको सुनवाइ नभएको किसानको गुनासो छ ।‘समस्या बुझ्ने कोही छैनन, अब कहाँ गएर गुनासो गर्नु ?’, कठायतले भने । किसानले लगाएको प्याज, धनियाँ र लसुनबाहेक सबैजसो तरकारीमा रोगकिरा लागेको स्थानीय जंग रावलले बताए । बडिमालिका नगरपालिका– ८ गडखेतका स्थानीयवासीले तरकारीखेतीबाटै जीवन निर्वाह गर्दैआएका छन् ।
जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ कृषि विकास अधिकृत डा. रामकृष्ण श्रेष्ठले किसानलाई ‘एकीकृत शत्रुविज’ व्यवस्थापन विधि सिकाएकाले धेरैजसो समस्या समाधान आफैँ गर्नसक्ने बताए । गाईवस्तुको पिसाब संकलन गरी विभिन्न वनस्पतिसँग कुहाएर बारीमा छर्केपछि धेरै रोग हट्ने उनको भनाइ छ ।

प्रतिक्रिया