सयौंको संख्यामा निलगाई फेला परे

महोत्तरी । । महोत्तरी जिल्लाको दक्षिणपश्चिम सीमानाकास्थित आधा दर्जन गाउँमा एकैसाथ एक सयभन्दा बढी निलगाई फेला परेको छ । स्थानीय वासिन्दाका अनुसार जिल्लाको मनरा, एकडारा, इटहर्वाकट्टी, भोलही, पोखरभिन्डा, सम्सीलगायत गाउँमा दुर्लभ वन्यजन्तुको रूपमा रहेको निलगाई एक सयभन्दा बढीको संख्यामा देखिएका छन् । यसअघि कहिल्यै नदेखिएको गाईजस्तो तर निलो रङका ती जनावर एक्कासि गाउँको वनमा आएपछि ती जनावर हेर्न गाउँलेको ओइरो लागेको इटहर्वाका देवेन्द्र ओझाले बताए । एक सयभन्दा बढीको संख्यामा रहेको निलगाई त्यस क्षेत्रका वनमा लगाइएको तरकारी बाली सबै खाइदिने, उखु र अन्य फलफूल खाइदिने र नष्ट पारिदिने गरेको मनराका रामदिनेश चौधरीले बताए ।
सीमावर्ती क्षेत्रका आधा दर्जन गाउँमा फेला परेका निलगाई वनको सबै बालीनाली नष्ट गर्नमा लागेका छन् भने ती गाई धपाउन जाँदा मानिसहरूलाई
देख्नेबित्तिक्कै भाग्ने गरेको छ । दुई÷चार दिनदेखि त्यसक्षेत्रका मनरा, भोलही, पोखरभिन्डा, एकडारा, इटहर्वाकट्टी, सम्सीलगायत विभिन्न वनमा दौडादौड मच्चाएको र छवटै गाउँका वनमा लगाइएको बालीनाली नष्ट पारिएको सम्सीका विजय साहले बताए ।गर्मीयाम आउनेबित्तिकै जिल्लाको माथिल्लो भागमा रहेको वनमा डढेलो, चोरी सिकारीजस्ता क्रियाकलापले तीव्रता पाएका कारण दुर्लभ वन्यजन्तु निलगाई महोत्तरीको तल्लो क्षेत्रतिर आएको स्थानीयवासीले बताए ।

प्रतिक्रिया