पाँचथर । जिल्ला स्वास्थ्य कार्यालय पाँचथरले बिहीबार स्वास्थ्य कार्यक्रम मेरो वर्ष २०७४ अभियान बारे नागरिकलाई जानकारी दिएको छ । फिदिममा ‘म स्वस्थ, मेरो देश स्वस्थ’ भन्ने नाराका साथ स्वास्थ्य प्रणाली र सेवाको विकासका लागि १ वैशाखदेखि प्रधानमन्त्रीबाट शुभारम्भ भएको कार्यक्रम बारे जानकारी गराइएको हो ।
सिडिओ विनोदकुमार खड्का, एलडिओ गिरीराज ज्ञवाली, पत्रकार उपस्थित कार्यक्रममा आमनेपालीको स्वास्थ्य स्थितिबारे जानकारी गराइएको थियो । सो अवसरमा सरकारबाट स्वास्थ्य प्रणाली र सेवाको विकासका लागि भइरहेको प्रयास र आगामी दिनमा यसलाई प्रभावकारी पार्न गरिने कार्ययोजनासमेत सार्वजनिक गरिएको थियो । सो कार्यक्रममा व्यक्ति र परिवार स्वस्थ रहनका लागि हामी हरेकको व्यक्तिगत सचेतना र प्रतिबद्धता उत्तिकै जरुरी रहेकोले यसतर्फ सबै अग्रसर हुन पनि आह्वान गरिएको थियो ।
कार्यक्रममा सहभागीले ‘मेरा पाँच प्रतिवद्धता, स्वस्थ्य जीवनको आवश्यकता’ भन्ने नारा अवलम्बन गर्ने वचनबद्धता पनि व्यक्त गरेका छन् । म रक्सी, चुरोट खान्न, नियमित व्यायाम गर्छु, पोषिलो र स्वस्थ खाना खान्छु, नियमित स्वास्थ्य परिक्षण गराउँछु र मेरो परिवार र समुदायको स्वास्थ्यप्रति सजग रहन्छु भन्ने प्रतिवद्धता गरिएको हो ।आफ्नो स्वास्थ्यप्रति पूर्वसर्तक हुन समयसमयमा स्वास्थ्य परीक्षण गरिरहने बानी बसाल्न आवश्यक रहेको कार्यक्रम समापन क्रममा पवन शाहले बताए ।
प्रतिक्रिया