ट्रम्पद्वारा सञ्चारमाध्यमको आलोचना

अमेरिका । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूले चुनावी वाचा पूरा गरिरहेको तर ‘झुट्टा सञ्चारमाध्यम’ ले मानिसहरूलाई झुक्याइरहेको बताएका छन् ।
पेन्सेलभेनियामा आफ्ना समर्थकहरूलाई सम्बोधन गर्दै उनले व्हाइट हाउसका संवाददाताहरूले आयोजना गरेको रात्रिभोजबाट झन्डै दुई सय किलोमिटर टाढा आउन पाउँदा आफूलाई खुसी लागेको बताए । सञ्चारमाध्यमले आफ्नो एक सय दिन विफल भएको बताए पनि अमेरिकामा थप औद्योगिक रोजगारी सिर्जना गर्न आफूले प्रत्येक दिन काम गरिरहेको उनले बताए ।
यसअघि ट्रम्पको कार्यकालको एक सय दिन पारेर उनको जलवायु परिवर्तनसम्बन्धी नीतिको विरोधमा विभिन्न सहरहरूमा आयोजना भएका प्रदर्शनमा १०औँ हजारले सहभागिता जनाएका थिए । समर्थकहरूलाई पेन्सेलभेनियामा सम्बोधन गर्दै उनले आफूले एकपछि अर्को वाचा पूरा गरिरहेको तर ‘झुट्टा समाचार’ र ‘सन्दर्भ नबुझेका’ पत्रकारले आलोचना गरिरहेको बताए । साढे तीन दशकअघि राष्ट्रपति रोनाल्ड रेगन अनुपस्थित भए यता ह्वाइट हाउसका संवाददाताहरूले आयोजना गरेको रात्रिभोजमा सहभागिता नजनाउने पहिलो राष्ट्रपति ट्रम्प भएका छन् ।
आफ्नो हत्याप्रयासका क्रममा लागेको गोलीको चोटको उपचारका क्रममा आराम गरिरहेको भन्दै सन् १९८१ मा राष्ट्रपति रेगन उक्त रात्रिभोजमा अनुपस्थित भएका थिए । ह्यारिसबर्गमा बोल्दै उनले उक्त कार्यक्रममा नगएकोमा आफूलाई एकदमै खुसी लागेको बताउँदै आफ्नो सय दिनको कार्यकाल बारेका समाचारका लागि सञ्चारमाध्यमहरूलाई असफल ठह¥याइनुपर्ने बताए ।
उनले ह्वाइट हाउसका संवाददाताहरूको रात्रिभोजमा हलिउड अभिनेता तथा वासिंगटनका सञ्चारमाध्यमहरूले एक अर्कालाई सहानुभूति दिइरहेको उल्लेख गर्दै त्यो कार्यक्रम एकदमै पट्यारलाग्दो हुने टिप्पणी गरे । राष्ट्रपति ट्रम्पले आफ्नो एक सय दिनको कार्यकाल एकदमै उत्साहवद्र्धक र उत्पादनशील भएको बताए । खानीमा निर्भर अर्थतन्त्र रहेको पेन्सेलभेनियाबाट प्राप्त मतले ट्रम्पलाई राष्ट्रपति निर्वाचित हुन सघाएको थियो ।
प्रत्येक दिन काम गरिरहेको भन्दै उनले रोजगारीको चोरी रोकेर अमेरिकामा नै कामहरूको अवसर सिर्जना गरिरहेको, उर्जा अन्वेषणमा नियमहरू सुधार गरेको, कोइलाविरुद्धको लडाइँ अन्त्य गरेको र अमेरिकालाई हानी पुग्ने अन्तर्राष्ट्रिय सम्झौताबाट पछि हटेकोलाई आफ्ना सफलताका रूपमा प्रस्तुत गरे ।
राष्ट्रपति ट्रम्पले आफ्ना पूर्ववर्ती बराक ओबामाले निम्त्याएका समस्याहरू आफूले समाधान गरिरहेको भन्दै उनले अझै धेरै लडाइँहरू हुने र प्रत्येकमा आफू विजयी हुने टिप्पणी गरे । जलवायु परिवर्तनबारे उनले उनकै शब्दमा आगामी दुई हप्तामा एउटा ठूलो निर्णय लिइने जानकारी दिए । यसअघि उनले जलवायु परिवर्तनलाई छल भन्दै त्यससम्बन्धी प्यारिस सम्झौताबाट अमेरिका अलग हुने चेतावनी दिएका थिए ।

प्रतिक्रिया