नेपाल–चीनबीच ओबर सम्झौता हुने अर्थमन्त्री महरा बेइजिङ जाँदै

nepal

काठमाडौं । चीनसँग ‘वान बेल्ट वान रोड’ परियोजनामा सम्झौता गर्न उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा बेइजिङ जाने भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले अघिल्लो महिना चीन भ्रमणको क्रममा जनाएको प्रतिबद्धताअनुसार बेइजिङमा वान बेल्ट वान रोड (ओबर) सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनअघि नै नेपालले चीनसँग सम्झौता गर्ने तयारी गरिएको हो ।चीनले बेइजिङमा मे १४ र १५ मा ओबरसम्बन्धी पहिलो अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्दै छ, जसमा नेपालबाट सूचना तथा सञ्चारमन्त्री सुरेन्द्रकुमार कार्कीसहित परराष्ट्र, भौतिक योजना तथा निर्माण र वाणिज्य मन्त्रीलाई निमन्त्रणा गरिएको छ ।
तर, ढिलोगरी ओबरमा नेपाल र चीनबीच सम्झौता गर्ने गरी उपप्रधानमन्त्री महराको नेतृत्वमा नेपाली प्रतिनिधिमण्डल बेइजिङ जाने तयारी भएको र त्यहीअनुसार चीनलाई जानकारी दिइएको सूचना तथा सञ्चारमन्त्री कार्कीले बताए ।‘उपप्रधानमन्त्री महराको नेतृत्वमा बेइजिङ जाने टोलीले चीनसँग ओबरमा सम्झौता गर्ने तयारी भइरहेको छ’, कार्कीले बिहीबार भने, ‘शुक्रबारसम्म बेइजिङ सम्मेलनमा सहभागी हुन आफ्नो नाम दर्ता गराउनुपर्ने भएकाले यससम्बन्धी निर्णय हुन्छ ।’
चीनसँग ओबर सम्झौता र सम्मेलनमा सहभागितासम्बन्धी तयारी परराष्ट्र मन्त्रालयले गरिरहेको बताइएको छ ।प्रधानमन्त्री दाहालको विशेषदूतका रूपमा करिब साढे आठ महिनाअघि उपप्रम महराले बेइजिङ पुगेर चीनका प्रधानमन्त्री ली खछ्याङ र परराष्ट्रमन्त्री वाङ यीसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्य भन्छन्, ‘सम्झौता नै गर्ने गरी उपप्रधानमन्त्री महरा चीन जाने तयारी भइरहेको छ ।’‘सम्मेलनका दुई पक्ष छन्, एउटा त्यसमा सहभागी भएर छलफल गर्ने, अर्को औपचारिक रूपमा ओबर परियोजनामा हस्ताक्षर गर्ने’, मन्त्री कार्कीले भने । ‘जहिल्यै अन्तिम समयमा निर्णय गर्ने नेपालको चलन छ’, मन्त्री कार्कीले भने, ‘विनाकारण हामीले ढिलाइ गरेका छौँ, त्यसैलाई आधार बनाएर यहाँ अनेक अड्कलबाजी हुने गर्छन् ।’
रेल–वे, समुद्री मार्गलगायत पूर्वाधार निर्माण, व्यापारिक अन्तरसम्बन्धसहितको ओबर–पहलसम्बन्धी यो सम्मेलन चिनियाँ राष्ट्रपति सी जिनपिङले अघिल्लो वर्ष आह्वान गरेका हुन् । सम्मेलनमा २८ देशका नेता र एक सय १० देशका प्रतिनिधि सहभागी हुने चीनले जनाएको छ ।

प्रतिक्रिया