अफगान प्रतिरक्षामन्त्री र सेना प्रमुखद्वारा राजीनामा

काबुल । अफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा रहेको एक सैनिक शिविरमा गत शुक्रबार तालिवान आतंककारी समूहले गरेको आक्रमणपछि यहाँका प्रतिरक्षा मन्त्री र उनका सेना प्रमुखले आफ्नो पदबाट सोमबार राजीनामा दिएका छन् । यस आक्रमणमा परी एक सयभन्दा बढी सैनिक मारिनुको साथै घाइते भएका छन् । राष्ट्रपति कार्यलयद्वारा जारी एक विज्ञप्तिमा उक्त जानकारी दिइएको छ । अफगानिस्तानका राष्ट्रपति असरफ घानीले प्रतिरक्षा मन्त्री र सेनाप्रमुखद्वारा दिएको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यलयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । आफ्ना आफन्तको अन्तिम संस्कार गरी सकेपछि आफन्त गुमाएर अत्यन्त क्रोधित भएका आफन्तजनले आइतबार नै मन्त्री र सेनाप्रमुखको राजीनामाको माग गरेका थिए ।
आफगानिस्तानको उत्तरी प्रान्त बाल्खमा गत शुक्रबार भएको यस आतंककारी आक्रमणमा परी ज्यान गुमाउने सैनिकको एकिन संख्या अझै पनि प्रष्ट नभएको पनि बताइएको छ । यद्यपि, अफगान गृह मन्त्रालयले दिएको तथ्यांकअनुसार यस आक्रमणमा परी कम्तीमा एक सय सैनिक मारिनुको साथै घाइते भएका छन् ।
केही स्थानीय अधिकारीले यस आक्रमणमा परी एक ३० सैनिकको मृत्यु भएको जानकारी दिएका छन भने, अन्तर्राष्ट्रिय समाचार समितिहरूले यस आक्रमणमा दुई सय सैनिक मारिएका पनि बताएका छन् । तालिवान सत्ताबाट हटेको १५ वर्ष पछाडि पनि सैनिक शिविर लक्षित यस्तो भीषण आक्रमण भएको छ । प्रान्तीय राजधानी मजार ‘ए’ शरिफनजिकै करिब पाँच घन्टासम्म जारी यस आतंककारी आक्रमणमा मारिएका र घाइते सैनिकको एकिन संख्या काबुलले अझै प्रष्ट पार्न सकेको छैन ।
सैनिकको पोसाक र आत्मघाती भेस्ट लगाएका १० जना बन्दुकधारीले शिविरको मस्जिद र डाइनिङ हलमा फैलिएर रहेका निःशस्त्र सैनिकमाथि गोली प्रहार गर्न सुरु गरेका थिए ।
सन् २०१४ को अन्त्यमा अमेरिकीआवद्ध नेटो सैनिकले अफगानिस्तानमा जारी तालिबानसँगको युद्धमा आफूहरू सो युद्धमा नजाने घोषणा गर्दै प्रायः नेटो सैनिक त्यहाँबाट फर्किएपछि अफगानिस्तानमा सुरक्षाकर्मीमाथिको आतंककारी आक्रमण बढेको बताइन्छ । अमेरिकी निगरानीकर्ता सिगारका अनुसार सन् २०१६ मा अफगानिस्तानमा ६ हजार आठ सय सैनिक र प्रहरी तालिवानले गरेको विभिन्न आक्रमणमा मारिएका थिए ।

प्रतिक्रिया