तेह्रथुम । गुराँस पर्यटनले प्रदेश नं १ मै चर्चित पर्यटकीय गन्तव्य तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा पर्ने लालीगुराँस नगरपालिका–१ स्थित पाथीभरादेवीको मन्दिर परिसरमा खानेपानी पु¥याएको छ । मन्दिरमा आउने दर्शनार्थी र पर्यटकलाई लक्षित गरी पम्पिङ प्रणालीबाट खानेपानी उपलब्ध गराइएको हो । संखुवासभा र तेह्रथुमको सीमास्थित सो पाथीभरा मन्दिर परिसरमा यसअघि हावाबाट पानी जम्मा हुने प्रविधि जडान गरी खानेपानी उपलब्ध गराइएको थियो । तर सो प्रविधि बिग्रिएर खानेपानीको समस्या भएपछि जिल्ला खानेपानी तथा सरसफाइ सब–डिभिजन कार्यालयले पम्पिङ प्रणालीबाट पानी तानेर खानेपानी पु¥याइएको हो ।
यस क्षेत्रमा यतिबेला गुराँस फुलेर डाँडाकाँडा सबै राताम्मे छन् । एकै ठाउँमा २८ प्रजातिका गुराँस अवलोकन गर्न पाउने भएकै कारण यो क्षेत्रलाई गुराँसको राजधानी भनेर पनि चिनिन्छ । गुराँस हेर्न आउने सबैजसो आन्तरिक तथा बाह्य पर्यटकले तीनजुरेस्थित पाथीभरा मन्दिरको दर्शन गर्छन् । मन्दिरमा दर्शन गरे ताप्लेजुङको ठूलो पाथीभरा जानु नपर्ने कथन भएकाले पनि यहाँ धेरै भक्तजन आउँछन् ।
पानी अभावले प्रयोगविहीन रहेका यहाँका ट्यांकी, धारा र शौचालयसमेत प्रयोगमा आएका छन् । खानेपानी तथा सरसफाइ सब–डिभिजन कार्यालयको १७ लाख र मन्दिर संरक्षण समितिको एक लाख लगानीमा गरी कुल १८ लाखको लागतमा खानेपानी पु¥याइएको मन्दिर संरक्षण समितिले जनाएको छ । खानेपानीको सुविधा भएपछि पर्यटकले वसन्तपुरदेखिनै पानी बोकेर जानुपर्ने बाध्यता हटेको छ । खानेपानीको सुविधा उपलब्ध भएपछि यहाँ आउने आन्तरिक तथा बाह्य पर्यटकलाई राहत मिलेको घुर्मिसेका डिकबहादुर पौडेलले बताए ।
उच्च क्षेत्र भए पनि पछिल्ला वर्षमा पानीका मुहान सुक्न थालेकाले समस्या भएको घुर्मिसेका व्यापारी युवराज खड्काले बताए । ‘यो पदमार्ग भएर दैनिक सयौँको संख्यामा पर्यटक आउँछन् । तीमध्ये सबैजसो पाथीभरा मन्दिरको दर्शन गरेरै जान्छन्’, व्यापारी खड्काले भने । यहाँ रहेको पाथीभरा मन्दिरमा ताप्लेजुङको पाथीभराकै शिला ल्याएर स्थापित गरिएको स्थानीयको दाबी छ । यसपटक पनि नयाँ वर्षसँगै आउने पर्यटकको घुइँचो लागेको स्थानीय दावा शेर्पाले बताए ।
प्रतिक्रिया