प्रांगारिक खेती बढ्दो आकर्षण

prangarik

महोत्तरी जिल्लाको उत्तरवर्ती क्षेत्रका किसानहरूमा प्रांगारिक खेतीतर्फ आकर्षण बढ्न थालेको छ । सघन तरकारी खेती गरिने जिल्लाको उत्तरवर्ती क्षेत्रका बर्दिवास र गौशाला नगरपालिका तथा भंगाहा, मटिहानी र पिपरा गाउँपालिका बस्तीका किसान विषादी र रासायनिक मलको प्रयोगविना नै गरिने प्रांगारिक खेतीतर्फ आकर्षित भएका हुन् ।
तरकारी, तेलहन, दलहन र उखुलगायत नगदेबालीका लागि परम्परागत शैलीमै खनजोत र प्रांगारिक मलको प्रयोगबाट नै प्रशस्त उत्पादन हुन थालेको यस क्षेत्रका किसानको भनाइ छ । खासगरी हरियो सागसब्जी र अन्य तरकारी बालीमा विषादीको प्रयोगले जनस्वास्थ्यमै प्रतिकूल असर पारेकाले त्यसको प्रयोग छाडिएको भंगाहा–४ रामनगरका किसान नारायण दाहाल बताउँछन् । प्रांगारिक मल बनाउन आफ्नै ओरपरका झारपतिंगर, त्यतिकै मिल्किएका फोहोर, मल बनाउन नै खेती गरिने ढैंचा नामक वनस्पति र घरपालुवा गाईवस्तुको गोबर तथा बाख्राको मल खेतीका लागि सर्वसुलभ र प्रभावकारी हुने दाहालको भनाइ छ ।
यस्तो मलले माटोलाई उर्वर बनाइराख्ने र वर्षैपिच्छे मलको मात्रा केही घटाउँदै लान सकिने भएकाले खर्च घट्दै जाने र उत्पादन बढ्दै जाने हुनाले निक्कै प्रभावकारी बनेको सो बस्तीकै अर्का किसान चन्देश्वर राय दनुवार बताउँछन् । बालीलाई मल चाहिने उपयुक्त बेलामा रासायनिक मल हाहाकार हुने र तिनको गुणस्तरकोसमेत एकिन नहुँदा उत्पादनमा प्रतिकूल असर पर्नेसँगै परनिर्भरता बढाएकाले आफू प्रांगारिक खेतीतिर लागेको यस भेगका किसानको भनाइ छ । तरकारी, फलपूmल र अन्यबालीमा लाग्ने रोग र कीरा नियन्त्रणका लागि गाईको गहुँत तथा खरानी पानी छर्कने विधि अपनाउन थालिएको र यो विधि निक्कै सफल भएको बर्दिवास नगरपालिकामा हालै गाभिएको पशुपतिनगरका किसान रामचन्द्र महतो चर्चा गर्छन् । खासगरी तरकारी र फलपूmलमा कडा विषादीको प्रयोग बढ्नाले आमउपभोक्तामा विभिन्न खालका समस्या देखिएको र प्रांगारिक मल प्रयोग भएको तरकारी स्वादिलो हुनाले यसतर्फ उपभोक्ताको रोजाइ बढेको सम्बद्ध किसान बताउँछन् ।
प्रांगारिक खेती सुरु गरिएको पहिलो वर्ष ०७० सालमा उत्पादन अली कम भए पनि त्यसयता क्रमशः उत्पादन बढ्दै गएपछि अब खासै समस्या नभएको उनीहरूको भनाइ छ । पछिल्ला वर्षमा प्रांगारिक खेतीबाटै बाली उत्पादन भएको क्षेत्रबारे आमचासो र सरोकार बढेपछि उपभोक्ताले बजार पु¥याउनासाथ आफ्ना तरकारी तत्काल किन्ने गरेका हालै गौशाला बटुवा बस्तीका परबल उत्पादक किसान सूर्यनारायण महतो बताउँछन् । उपभोक्तासमेत प्रांगारिक मलबाट उत्पादित खाद्यवस्तु ठम्याउन सिपालु देखिएका छन् । यसबाट उत्पादित बाली स्वभाविक आकार र रङका हुने भएकाले ठम्याएर किन्न गा¥हो नहुने बर्दिवास–१ की गृहिणी प्रतिमा कोइराला बताउँछिन् ।
पछिल्ला केही वर्षयता प्रांगारिक खेतीका उत्पादन बजार पुग्नासाथ तत्काल खपत भइहाल्ने भएपछि त्यस्ता किसान उपभोक्ताको रोजाइमा पर्ने गरेका देखिने गरेको छ । पछिल्ला दिनमा प्रांगारिक खेतीतिर किसानको बढ्दो आकर्षणलाई राज्यले भरथेग गरे यहाँको उत्पादनको गुणस्तर वृद्घि र परिचय बढाउन सहयोग पुग्ने जिल्लाका सामाजिक संघसंस्था, व्यापारिक प्रतिष्ठान र स्वास्थ्य क्षेत्रमा कार्यरत विज्ञहरूको भनाइ छ । बर्दिवासमा प्रांगारिक मलको कारोबार गर्दै आएका बर्दिवास नगरपालिकाका किसान चन्द्रलाल क्याप्छाकीका अनुसार पछिल्ला दुई वर्षयता आमकिसान प्रांगारिक खेतीतिर सघन रूपमा लागेपछि जिल्लाको उत्तरी क्षेत्रमा प्रांगारिक मलको माग ह्वात्तै बढेको छ । अवकासप्राप्त जेटी मुरारी ढुंगाना प्रांगारिक मलको प्रयोगको परिणाम बर्सेनि घटाउँदै लानुपर्ने भएकाले पहिलोपटक मल किन्दा केही महँगो परे पनि बिस्तारै अघिल्ला वर्षमा यो खेती कम लागतमा गर्न सकिने उल्लेख गरे ।
प्रांगारिक खेती किसानका लागि सजिलो र कम लागतको हुने र उपभोक्ताका लागि स्वस्थ्यकर हुने बिस्तारै आमकिसान र उपभोक्ताले बुझ्दै गएपछि यस्तो खेती बढेको ढुंगानाको भनाइ छ ।

प्रतिक्रिया