मन्त्रीकोे निर्णय सर्वाेच्चद्वारा बदर

काठमाडौं । निर्वाचन आचारसंहिता लागू भइसकेपछि पनि नियम विपरीत स्वास्थ्य मन्त्रालयअन्तर्गतका संस्थाहरूमा कार्यकर्ता भर्ती गर्ने स्वास्यमन्त्री गगन थापाको निर्णय सर्वाेच्च अदालतले बदर गरेको छ । मन्त्री थापाले सरकारले निर्वाचन घोषणा गरी निर्वाचन आयोगको आचारसंहिता लागू भइसकेपछि स्वास्थ्य मन्त्रालयअन्तर्गतका विभिन्न संस्थानहरूमा पुराना अधिकारीहरूलाई हटाई राजनीतिक नियुक्ति गरेका थिए । १८ चैतदेखि निर्वाचन आचारसंहिता लागू भएकै दिन ती संस्थानका पदाधिकारीहरूलाई हटाउने निर्णय र नयाँ नियुक्तिको पत्र पुरानो मिति राखेर गरिएको थियो ।
सर्वाेच्च अदालतका न्यायाधीशद्वय हरिकृष्ण कार्की र सपना मल्ल प्रधानको संयुक्त इजलासले पाँच वैशाखमा गरेको आदेशमा स्वास्थ्यमन्त्री थापाले गरेको नियुक्ति बदर गर्दै पुरानै पदाधिकारीहरूलाई काममा लगाउन आदेश गरेको हो ।
थापाले स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव डा. खेम कार्की, सिंहदरबार वैद्यखाना विकास समितिका प्रवन्धनिर्देशक डा. राजेन्द्रकुमार गिरी, नर्सिङ काउन्सिल परिषद्का अध्यक्ष चन्द्रकला शर्मा, रजिस्टार लक्ष्मी राई, फार्मेसिङ काउन्सिलका अध्यक्ष बाबुराम हुमागाइँ, आयुर्वेदिक चिकित्सा परिषद्का अध्यक्ष डा.झलक शर्मा, रजिस्टार रामचन्द्र पाण्डे, नेपाल स्वास्थ्य व्यवसायी परिषद्का अध्यक्ष दीपेन्द्रकुमार झा, रजिस्टार काशी धिमाल, बिपी कोइराला श्वासप्रश्वास केन्द्रका निर्देशक यज्ञबहादुर भण्डारीलगायतलाई अवकाश दिई नयाँ राजनीतिक नियुक्ति गरेका थिए ।
कांग्रेसका तत्कालीन सभापति सुशील कोइराला प्रधानमन्त्री र खगराज अधिकारी स्वास्थ्यमन्त्री रहेको बेला नियुक्त भएका पदाधिकारीहरू हटाई घोषित निर्वाचनलाई प्रभाव पार्न थापाले कांग्रेस निकटका व्यक्तिहरूलाई नियुक्त गर्न चुनाव घोषणा भएपछि हतारहतार पुरानो मितिमा प्रस्ताव लगेका थिए । थापाले गरेको नियुक्ति बदर गर्न माग गर्दै सर्वाेच्च अदालतमा रिट परेको थियो । सोही रिटउपर सुनुवाई गर्दै सर्वाेच्चले उक्त नियुक्ति बदर गरी पुरानै पदाधिकारीलाई काममा लगाउन आदेश दिएको हो ।

प्रतिक्रिया