अमेरिकी उपराष्ट्रपति दक्षिण कोरियामा

प्यांगमुन्जोम । अमेरिकी उपराष्ट्रपति माइक पेन्स एसियाली मुलुकहरूको १० दिने भ्रमणको क्रममा दक्षिण कोरियाको राजधानी सोल आइपुगेका छन् । उत्तर कोरियाले छोटो छोटो समयको अन्तरमा क्षेप्यास्त्र परीक्षणलाई धमाधम निरन्तरता दिई चीन, जापान तथा कोरियाली प्रायद्वीप क्षेत्रमा तनाव बढ्दै गइरहेका बखत उनले एसिया भ्रमण सुरु गरेका हुन् । यसै सिलसिलामा, सिरियामा विद्रोहीहरूको आन्दोलन दबाउन बसार अल असादको सरकारले विद्रोही उपर प्रतिबन्धित, मानव घातक रासायनिक हतियार प्रयोग गरी आक्रमण गरेको पुष्टि भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा क्षेप्यास्त्र प्रहार गर्ने आदेश दिने केही कठोर निर्णय लिएका छन् ।
यसैलाई सम्बोधन गर्दै, अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार एचआर म्याकमास्टरले आफ्नो राष्ट्र तथा अमेरिका निकटका मित्र राष्ट्रहरूका राष्ट्रिय हितका लागि राष्ट्रपति ट्रम्पले कुनै पनि अप्रिय निर्णय लिन असहज मान्नु नहुने प्रष्ट भएको भन्ने टिप्पणी गरेपश्चात् परिस्थिति अध्ययनका लागि उपराष्ट्रपति माइक पेन्स एसियाली मुलुकहरूको भ्रमणमा निस्केको जनाइएको छ ।
वर्तमानमा, निशंकोच अटेरी गर्दै उत्तर कोरियाले छोटो अवधिको अन्तरमा निकै छाडा तौर तरिकाबाट आणविक हतियार र अन्तरमहादेशीय ब्याल्लिस्टिक क्षेप्यास्त्र परीक्षणलाई धमाधम निरन्तरता दिइरहेको परिप्रेक्ष्यमा उत्तर कोरियाको यस्तो अवाञ्छित रणनीतिक गतिविधिलाई लक्ष गर्दै उपराष्ट्रपति पेन्सले ‘रणनीतिक धैर्यताको युग समाप्त भएको’ (दि एरा अफ स्ट्राटेजिक प्यासियन्स इज ओभर) भन्ने टिप्पणी गरे ।
उत्तर तथा दक्षिण कोरियाबीचको विभाजन रेखा नजिक दक्षिण कोरियापट्टि अवस्थित ‘शून्य सैनिक क्षेत्र’ (डिमिलिटराइज्ड जोन) मा आयोजित पत्रकार सम्मेलनमा उपराष्ट्रपति पेन्सले अमेरिका तथा यसका मित्रराष्ट्रहरूले कोरियाली प्रायद्वीपमा शान्तिका लागि निकै लामो समयसम्म धैर्यतापूर्वक प्रतीक्षा गरिरहेकामा धैर्यताको सीमा नाघिसकेको बताउँदै अब यस क्षेत्रमा शान्ति बहालीका लागि अमेरिकाले यथोचित् कदम अघि बढाउन सक्ने चेतावनी दिए ।
त्यस्तै, यस विषयमा चीनसँग राष्ट्रपति ट्रम्पले सौहार्द्र कुराकानी गरेको र उत्तर कोरियाको आणविक हतियार भण्डारण नष्ट गर्न दबाब दिन चीनको असाधारण सहयोग र योगदानको अपेक्षा गरेकोसमेत उपराष्ट्रपति पेन्सले खुलासा गरे । डिमिलिटराइज्ड जोनबाट साढे दुई माइल टाढा क्याम्प बोनिफासमा अवस्थित दक्षिण कोरियाली तथा अमेरिकी संयुक्त सैन्य शिविरको भ्रमण गरी त्यहाँ कार्यरत अमेरिकी सैनिक अधिकृतहरूसँग भलाकुसारी गर्दै उपराष्ट्रपति पेन्सले दक्षिण कोरिया र अमेरिका दुई अभिन्न मित्र भएका बताएका छन् ।
त्यसैगरी दक्षिण कोरियाको सीमारक्षा तथा सैनिक शक्ति संरक्षणका लागि अमेरिकाले ‘लौह कवच’ (आइरनक्ल्याड) धारण गरिरहे तापनि हाल उत्पन्न भएको रणनीतिक समस्याको शान्तिपूर्ण समाधानका लागि वार्ताको टेबुलमा बस्न वा उत्तर कोरियालाई आणविक निःशस्त्रीकरण गर्न र क्षेप्यास्त्र परीक्षणको अन्त्य गर्न दबाब दिने दिशातर्फ अन्य कुनै पनि शान्तिपूर्ण विकल्पमा जान अमेरिका सदैव तत्पर रहेको पनि उपराष्ट्रपति पेन्सले बताएका छन् ।

प्रतिक्रिया