दुई चरणमा चुनाव गराउन गाह्रो ः आयोग

विराटनगर । प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले दुई चरणमा निर्वाचन गर्दा निर्वाचन आयोगलाई गाह्रो हुने बताएका छन् । आयोगले बिहीबार विराटनगरमा गरेको पत्रकार सम्मेलनमा यादवले मतपत्र छाप्ने काम पूरा भएको र मतदाता नामावलीसमेत तयार भइसकेको अवस्थामा दोस्रो चरणमा निर्वाचन गर्न गाह्रो हुने बताएका हुन् ।
यादवले भने, ‘नेपाल सरकारलाई कानुनले दोस्रो चरणको निर्वाचन गर्न सक्ने अधिकार दिएकाले के गर्ने भन्ने विषयमा निर्वाचन आयोगसँग सल्लाह गरेर अघि बढ्ने विकल्प भने खुला छ ।’ यादवले दोस्रो चरणमा निर्वाचन गर्ने विषयमा आयोगसँग सल्लाह गरेर अघि बढ्नुपर्ने सुझाव दिए ।
०६४ को निर्वाचनमा पनि मनोनयनको अवधि बढाइएको स्मरण गर्दै यादवले राजनीतिक रूपमा असमझादारी भएका विषयलाई दलहरूले मिलेर समाधान गर्नुपर्ने बताए । यादवले भने, ‘यो विषयमा सरकारले छलफल गर्ने हो । योजना बनाउने हो । देशभर निर्वाचनको वातावरण बन्दै गएको छ । सबैले मिलेर वातावरण बनाउने हो ।’ आयोग निर्वाचनको तयारीमा तीव्र रूपमा अघि बढेको बताउँदै उनले मतदान केन्द्र तोक्ने र निर्वाचनसम्बन्धी तालिम पनि सकिएको बताए ।
मधेसवादी दलहरूले निर्वाचनमा भाग लिनेमा आफू आशावादी भएको बताउँदै प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचन आयोगले २ नम्बर प्रदेशमा समेत आयोगले गतिविधि बढाएको बताए । उनले भने, ‘त्यो प्रदेशमा पनि निर्वाचनसँग सम्बन्धित कार्यक्रम भइरहेकै छन् ।’ यादवले सेनाको बलमा निर्वाचन नहुने बरु सरकारले सुरक्षाको तेस्रो घेरामा सेनालाई राख्न सक्ने स्पष्ट गरे । सुरक्षाको व्यवस्था गराउने जिम्मा सरकारको भएको यादवको भनाइ थियो ।
नेपाल सरकार गृहमन्त्रालयलाई एकीकृत सुरक्षा योजना बनाउने जिम्मा भएको बताउँदै उनले भने, ‘कति चरणमा निर्वाचन गर्ने भन्ने जिम्मा सरकारको हो ।’ जनताको अधिकार सुनिश्चित गर्ने निर्वाचन भएकाले भाग लिने विषयमा बहिष्कार गरेका दलले समेत विचार गर्नुपर्ने सुझाव दिँदै यादवले निर्वाचन आयोग एक्लैले केही गर्न नसक्ने बताए । उनले भने, ‘हामी निर्वाचनको तयारीमा छौँ । निर्वाचन अधिकृत कर्मचारी सबैले सुरक्षित हिसाबले काम गर्न पाउनु पर्छ ।’

प्रतिक्रिया