कमेडी गायनमा श्रीकृष्णको राज

comedi gayak

काठमाडौं । हास्य कलाकार तथा कमेडीगायक श्रीकृष्ण लुइँटेल ‘बोके दारी’ ले अहिलेसम्म १२ बटा एल्बम निकालेका छन् । ०५६ सालमा पहिलो एल्बम ‘इटहरी डट कम’ बजारबाट एल्बम ल्याउन थालेका उनको पहिलो गीत ‘सुन है साथी मेरो कहानी मलाई नि आयो झिल्के जवानी…’ भन्ने थियो । ‘मर्छु कि क्या हो…’ एल्बम को ‘हयाङ्मा हो हयाङमा…’ बोलका गीतले राम्रै चर्चा पायो । ‘बोके दारी’ उनको चौथो एल्बम त्यसपछि भने उनले पछाडि फर्किएर हेर्नुपरेको छैन । ‘ए बा किन्देउ न भटभटे’ ले पनि उनलाई आफ्नो भिन्न परिचय दिलायो भने गतवर्ष ‘पागल बनायो नारायन पापी फेसबुकले’ बोलको गीत राजधानीको एउटा टिभीले ‘ब्यान्ड’ गरिदियो । त्यो कुरा समाचारमा आएपछि गीत झनै हिट भयो । श्रीकृष्ण पनि हिट भए । कमेडी गायनमा अन्य केही प्रतिभा उदाए पनि निरन्तरता दिन भने सकेनन् । उनले यस क्षेत्रमा एक क्षत्र राज गरेका छन् र सफल पनि ।
पछिल्लो उनको ‘बब्लु’ भन्ने १२औँ एल्बम बजारमा छ । जसमा समाजमा भएका विकृति विसंगतिहरूलाई उठाएका छन् । ‘बब्लु’ एल्बममा १० वटा गीत समावेश छन् । ‘नलगाउ छोटा कपडा’, ‘ओके छ त’, ‘डल्लेकी बहिनीले’, ‘बाख्रा स्टाइल’, ‘कलियुगको धर्म’ लगायत गीत यो एल्बमका अलिक बढी मनपराइएका गीत हुन् । एल्बममा स्वर, संगीत, शब्द सबै उनकै रहेको छ भने गीतको भिडयो निर्देशन पनि उनले नै गरेका छन् ।
विकृति विसंगतिका कुरालाई मीठो शैलीमा गायकी शैलीमा, मान्छेलाई पच्ने खालको तरिकाले, समाजमा कस्ता घटना घट्छन ती कुरालाई टप्प टिपेर ल्याएर प्रस्तुत गर्ने गर्छन् आफ्नै स्टाइलमा अर्थात बोके स्टाइलमा र चर्चा पाउने गर्छन् उनका गीतले । देशमा मात्र होइन देश बाहिर पनि त्यतिकै रुचाइनछन् उनका गीत । भारतको नेपाली भाषी भएका ठाउँहरूमा पनि बढी मन पराइने नेपाली गीतमा उनका गीत अग्रस्थानमा आउन सफल भएको देखिन्छ । बालक, युवा, वृद्ध सबैलाई, सबै उमेरका लागि उनका गीतका शब्दले छुन्छ सायद त्यही भएर होला नै बढी मन पराइएको पनि ।
उनी आफ्ना प्रायः सबै गीतमा आफैँ देखिने पनि गर्छन् । त्यसो त आफैँ गीत पनि लेख्ने गर्छन् । उनले चलचित्र माइतीको गीत ‘इटहरी बजारैमा…’, मनै त हो, संगम, त्रिवेणीजस्ता चलचित्रका पनि गीतकार हुन् उनी । त्यसो त कुनै बेला नेपाली चलचित्रमा सक्रिय थिए उनी । उनले चिफ असिस्टेन्ट डाइरेक्टर धेरै चलचित्रमा काम गरेका छन् । ‘म आफ्नो गन्तव्यभन्दा बाहिरतिर गइरहेको छु भन्ने लाग्यो र हाम फाले यता तिर’ उनी भन्छन् ।
कस्ता शब्द राख्ने, कस्तो तरिकाले प्रस्तुत गर्ने भन्ने कुरा गीत लेख्दा पहिला कन्सेप्ट बनाउने अनि त्यसलाई उतार्ने गरेको बताउने श्रीकृष्ण अर्कोलाई भन्दा नबुझला, आफ्नो कन्सेप्ट नमरोस् भनेर आफैँले अभिनय पनि गर्ने गरको बताउँछन् । चलचित्र पनि काम गर्दा निर्देशनतिर हात हाल्न मन लागेन भन्ने जिज्ञासामा दुःखको समयमा बाँच्नका लागि गरेको काम थियो त्यो, केही सिकाइ पनि भयो, अहिले गरेको कामचाहिँ बाँच्नका लागि भन्दा पनि हाँस्नका लागि गरेको काम हो, सवैलाई हसाउँ आफू पनि हासौँ भन्ने हो र गाउँनु मेरो रहर मात्र नभएर मैले आफ्नो भविष्य यसैमा देखेर यसैलाई लक्ष्य बनाएर अघि बढे भन्छन् ।
धेरैको सपना काठमाडौंमै केही गराँै ठूलो ठाउँ हो त्यहाँबाट छिट्टो ‘किल्क’ हुन सकिन्छ भन्ने हुन्छ तर श्रीकृष्णले आफ्नै ठाउँबाट सुरु गरे र अहिले सफल भएका छन् । ‘काठमाडौंमा मात्र बसेर मैले दिन खोजेका कुरा दिन नसक्ने भए र म फर्किए, मैले जुन गाउँका टिपिकल कुरा गर्छु त्यो त यहाँ बसेर सम्भव थिएन भन्छन् । अझ उनको भनाइमा ‘कलाकारका लागि काठमाडौं बस्ने ठाउँ नै होइन ।’ उनलाई काठमाडौं त नर्कमा बसेर खिर खाएजस्तो लाग्छ रे !
नेपाल बाहिर कतार, ओमन, दुबई, साउथ कोरिया, इजरायल, बर्मा, थाइल्यान्ड, मलेसिया र भारतलगायत मुलुकमा गएर कार्यक्रम गरेका उनी संघर्षका दिनले नै अहिलेको सफलता दिलाएको ठान्दछन् । तर, पछिल्लो समयमा कलाभन्दा पैसाले धेरै कुरा गरेको उनको बुझाइ रहेको छ । ‘ए यससँग त यस्तो राम्रो कला छ यसलाई उठाउनुपर्छ भन्ने मानसिकता छैन, पहिलाजस्तो अहिले मिहिनेत गर्नु पनि पर्दैन, अहिले सौख भएको छ धेरैको, यसले गर्दा जसले यसैलाई लक्ष्य बनाएर हिँडेका छन् तिनीहरूलाई गाह्रो छ’ उनी भन्छन् ।
पछिल्लो समयमा एल्बम बेचेर आर्थिक समृद्धिको सपना पूरा नहुने बताउने कृष्ण एल्बम चलेपछि लगानीचाहिँ उठने बताउँछन् । ‘तर, स्टेज कार्यक्रमले चाहिँ राम्रै हुन्छ’ भन्छन् । ‘काइन्ड हर्ट’ (दयालु मन), मार्फत विभिन्न सामाजिक कार्यमा पनि आफूलाई संलग्न गराउँदै आएका उनले यस्ता कार्यले सुखानुभूति हुने दाबी गर्छन् । यो संस्थाले पुराना कपडाहरू पनि कलेक्सन गरेर वितरण गर्नेदेखि लिएर अन्य सहयोगी कामहरू पनि गर्दै आएको छ । पहिला काम गरौँ, काम गरे पछि त्यसको मूल्यांकन त भइहाल्छ नि भन्ने लाग्छ उनलाई ।
गाउँका टिपिकल कुरा देशभरका साथै विदेशमा जहाँजहाँ नेपाली भाषी छन् त्यहाँत्यहाँ देखाउने र सुनाउने आफ्नो चाहना भएको उनी बताउँछन् । ‘यहाँ बारीमा, भीरमा फूल्ने फूल काठमाडौंमा गमलामा फुल्छ । फूलको अस्तित्व त यहाँ छ नि !’ उनी भन्छन्, ‘मैले काठमाडौं छोड्को होइन, काठमाडौंले चाहिँ मलाई छोडेको हो ।’

प्रतिक्रिया